Nepal Life

वनस्पति तेल र भारतीय बजारमै निर्भर नेपालको निर्यात, व्यापार घाटा १७ खर्ब ८१ अर्ब रुपैयाँ नाघ्यो

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Jul 24 14:27
वनस्पति तेल र भारतीय बजारमै निर्भर नेपालको निर्यात, व्यापार घाटा १७ खर्ब ८१ अर्ब रुपैयाँ नाघ्यो

काठमाडौं। आर्थिक वर्ष २०८२/८३ मा नेपालको निर्यात वृद्धि भए पनि वैदेशिक व्यापारको संरचनामा उल्लेख्य परिवर्तन आउन सकेन।

Nepal Life
NIMB

प्रशोधित वनस्पति तेलमा उच्च निर्भरता, भारत केन्द्रित निर्यात बजार तथा इन्धन, मेसिनरी र कच्चा पदार्थको ठूलो आयातका कारण व्यापार घाटा झन् विस्तार हुँदै १७ खर्ब ८१ अर्ब रुपैयाँ पुगेको भन्सार विभागको तथ्यांकले देखाएको छ।

भन्सार विभागका अनुसार समीक्षा अवधिमा नेपालको कुल वैदेशिक व्यापार १५.८८ प्रतिशतले वृद्धि भई २४ खर्ब ११ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ। यसमध्ये २० खर्ब ९६ अर्ब रुपैयाँको आयात र ३ खर्ब १५ अर्ब २९ करोड रुपैयाँको निर्यात भएको छ। आयात १६.२० प्रतिशत र निर्यात १३.८१ प्रतिशतले बढे पनि व्यापार घाटा १६.६३ प्रतिशतले वृद्धि भएको छ।

सोयाबिन तेल सबैभन्दा ठूलो निर्यात वस्तु

गत आर्थिक वर्षमा प्रशोधित सोयाबिन तेल नेपालको प्रमुख निर्यात वस्तु बनेको छ। भारततर्फ मात्रै १ खर्ब २८ अर्ब ७४ करोड रुपैयाँबराबरको प्रशोधित सोयाबिन तेल निर्यात भएको छ, जुन कुल निर्यातको करिब ४१ प्रतिशत हो। परिमाणका आधारमा ५९ करोड ३८ लाख किलोग्रामभन्दा बढी सोयाबिन तेल भारत पठाइएको छ।

प्रशोधित वनस्पति तेल तथा बोसोको कुल निर्यात २१.४८ प्रतिशतले बढेर १ खर्ब ४८ अर्ब रुपैयाँ पुगेको छ, जसले नेपालको कुल निर्यातको करिब आधा हिस्सा ओगटेको छ।

निर्यात हुने प्रमुख वस्तुहरूमा ठूलो अलैँची १२ अर्ब ६४ करोड रुपैयाँसहित दोस्रो स्थानमा रहेको छ। त्यसपछि प्रशोधित सूर्यमुखी तेल, जुटका कपडा, ऊनी गलैँचा, प्रशोधित पाम तेल, पोलिस्टर धागो, जुस तथा कुकुर–बिरालोको खाना प्रमुख निर्यात वस्तुका रूपमा रहेका छन्।

चिया, कफी, अलैँची र मसला समूहको निर्यात ३९.८४ प्रतिशतले बढेर १८ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ। धागो तथा फाइबर, दाना उद्योगका अवशेष, तयारी पोसाक, चाउचाउ तथा मैदाजन्य परिकार, एल्युमिनियमका सामग्री र जुत्ताचप्पलको निर्यातमा पनि उल्लेखनीय वृद्धि भएको छ।

यद्यपि परम्परागत निर्यात वस्तु ऊनी गलैँचा, फलाम तथा स्टिल तथा सिमेन्ट तथा खनिजजन्य उत्पादनको निर्यात भने घटेको छ।

भारतमै केन्द्रित निर्यात बजार

नेपालको निर्यात बजारमा भारतको प्रभुत्व कायम रहेको छ। गत आर्थिक वर्षमा भएको कुल निर्यातमध्ये २ खर्ब ५८ अर्ब ६५ करोड रुपैयाँ अर्थात् ८२ प्रतिशतभन्दा बढी वस्तु भारतमा निर्यात भएको छ।

अमेरिका २० अर्ब ७७ करोड रुपैयाँको निर्यातसहित दोस्रो ठूलो बजार बनेको छ। त्यसपछि जर्मनी, बेलायत, जापान, फ्रान्स र अस्ट्रेलिया रहेका छन्। चीनतर्फ भने १ अर्ब ८९ करोड रुपैयाँबराबरको मात्रै निर्यात भएको छ।

इन्धनदेखि स्मार्टफोनसम्म आयातमा वृद्धि

आयाततर्फ डिजेल सबैभन्दा ठूलो वस्तु बनेको छ। आर्थिक वर्षभर १ खर्ब ७२ अर्ब ४३ करोड रुपैयाँबराबरको डिजेल आयात भएको छ। त्यसपछि कच्चा सोयाबिन तेल १ खर्ब ३२ अर्ब ७७ करोड, पेट्रोल ७७ अर्ब २६ करोड, एलपी ग्यास ६० अर्ब २८ करोड, फलामजन्य कच्चा पदार्थ ५८ अर्ब ५२ करोड तथा स्मार्टफोन ४८ अर्ब ६९ करोड रुपैयाँबराबर आयात भएका छन्। समीक्षा अवधिमा २२ लाख ६७ हजारभन्दा बढी स्मार्टफोन नेपाल भित्रिएका छन्।

यसैगरी औषधि, हट रोल्ड आइरन तथा स्टिल, सुन, हवाई इन्धन, रासायनिक मल, कोइला, चाँदी तथा कच्चा सूर्यमुखी तेलको आयात पनि उच्च रहेको छ।

वस्तु समूहका आधारमा खनिज इन्धनको आयात १८.३५ प्रतिशतले बढेर ३ खर्ब ८६ अर्ब रुपैयाँ पुगेको छ। अर्धप्रशोधित वनस्पति तेल, मेसिनरी तथा यान्त्रिक उपकरण, फलाम तथा स्टिल, विद्युतीय सामग्री, सवारीसाधन तथा पार्टपुर्जा, प्लास्टिकजन्य वस्तु तथा बहुमूल्य धातुको आयातमा पनि वृद्धि भएको छ।

भारत र चीनबाट ७८ प्रतिशत आयात

नेपालले सबैभन्दा धेरै वस्तु भारतबाट आयात गरेको छ। गत आर्थिक वर्षमा भारतबाट १२ खर्बभन्दा बढीको आयात भएको, जुन कुल आयातको करिब ५८ प्रतिशत हो।

चीन ४ खर्ब २५ अर्ब २४ करोड रुपैयाँसहित दोस्रो ठूलो आयात स्रोत बनेको छ भने अर्जेन्टिनाबाट १ खर्ब १६ अर्ब ३८ करोड रुपैयाँबराबरको आयात भएको छ। अर्जेन्टिनाबाट मुख्य रूपमा सोयाबिन प्रशोधनका लागि आवश्यक कच्चा पदार्थ आयात हुने गरेको छ।

संयुक्त अरब इमिरेट्स, अमेरिका, इन्डोनेसिया, अस्ट्रेलिया, थाइल्यान्ड, ब्राजिल र मलेसिया पनि प्रमुख आयात साझेदारका रूपमा रहेका छन्। भारत र चीनबाट मात्रै १६ खर्ब ३५ अर्ब रुपैयाँभन्दा बढीको वस्तु आयात भएको छ, जुन कुल आयातको करिब ७८ प्रतिशत हो।

१३४ देशसँग व्यापार घाटा

भन्सार विभागका अनुसार नेपालले समीक्षा अवधिमा १३४ देशसँग व्यापार घाटा व्यहोरेको छ भने २८ देशसँग मात्रै व्यापार नाफा गरेको छ।

भारतसँग नेपालको सबैभन्दा ठूलो व्यापार घाटा रहेको छ। भारतबाट १२ खर्ब १० अर्ब रुपैयाँभन्दा बढीको आयात हुँदा २ खर्ब ५८ अर्ब रुपैयाँको मात्रै निर्यात भएको छ। यसले भारतसँग नेपालको व्यापार घाटा ९ खर्ब ५१ अर्ब रुपैयाँ पुगेको छ।

चीनसँग ४ खर्ब २३ अर्ब रुपैयाँभन्दा बढीको व्यापार घाटा रहेको छ। अर्जेन्टिनासँग पनि १ खर्ब १६ अर्ब रुपैयाँभन्दा बढीको आयात हुँदा निर्यात नगण्य रहेकाले उच्च व्यापार घाटा देखिएको छ। संयुक्त अरब इमिरेट्स, इन्डोनेसिया, थाइल्यान्ड, अस्ट्रेलिया, ब्राजिल, मलेसिया र अमेरिकासँग पनि नेपालले उल्लेख्य व्यापार घाटा व्यहोरेको छ।

यता डेनमार्कसँग सबैभन्दा धेरै व्यापार नाफा भएको छ। त्यसपछि नर्वे, रोमानिया र आइसल्यान्डसँग पनि नेपालले व्यापार बचत गरेको छ। केही साना मुलुकसँग आयात शून्य रहे पनि नेपालबाट निर्यात भएको तथ्यांकले देखाएको छ।

भन्सार विभागको तथ्यांकले नेपालको निर्यात संरचना अझै सीमित वस्तु र सीमित बजारमा निर्भर रहेको देखाएको छ। निर्यातको ठूलो हिस्सा प्रशोधित वनस्पति तेल र भारतीय बजारमा केन्द्रित रहँदा इन्धन, औद्योगिक कच्चा पदार्थ, मेसिनरी तथा उपभोग्य वस्तुको उच्च आयातले व्यापार सन्तुलनमा दबाब बढाएको छ। व्यापार घाटा न्यूनीकरणका लागि निर्यात विविधीकरण, उत्पादन क्षमता विस्तार र नयाँ अन्तर्राष्ट्रिय बजारमा पहुँच बढाउनु प्रमुख चुनौतीका रूपमा देखिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया