निलम्बित प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका सीईओले बागमतीमा हामफाले, उद्धारपछि उपचाररत
- BFIS News
- 2026 Jul 28 11:14
काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनीका निलम्बित प्रमुख कार्यकारी अधिकृत (सीईओ) नरेशकुमार रोक्काले बागमती नदीमा हामफालेका छन्। उनी मंगलबार दिउँसो करिब ४ः३० बजे थापाथलीस्थित प्रहरी बिट पछाडिबाट बागमती नदीमा हामफालेको प्रहरीले जनाएको छ।
चन्द्रागिरी नगरपालिका–१३ निवासी ५९ वर्षीय रोक्कालाई स्थानीय बासिन्दा र प्रहरीको संयुक्त प्रयासमा तत्काल उद्धार गरी राष्ट्रिय ट्रमा सेन्टर लगिएको थियो। प्रहरीका अनुसार उनको शरीरमा कुनै बाहिरी चोटपटक देखिएको छैन र उनी बोल्न सक्ने अवस्थामा रहेका छन्।
रोक्काका भाइका अनुसार उनी करिब एक महिनादेखि मानसिक स्वास्थ्यसम्बन्धी औषधि सेवन गरिरहेका थिए।
रोक्का कृषि विकास बैंकको डिजिटल बैंकिङ विभागका पूर्वप्रमुख हुन्। अवकाशपछि उनी प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत थिए।
तर, कम्पनीको इजाजतपत्र (लाइसेन्स) प्राप्ति प्रक्रियामा झुटा विवरण तथा कागजात पेश गरेको, नियामकीय प्रक्रिया उल्लंघन गरेको तथा धितोपत्रसम्बन्धी कानून र बीमा ऐनअन्तर्गत कसुर गरेको अभियोगमा गत जेठ २८ गते मुद्दा दायर भएपछि उनी सीईओ पदबाट निलम्बनमा परेका थिए।
उक्त प्रकरणमा कम्पनीका निलम्बित अध्यक्ष दिनेश सरिया तथा सञ्चालकहरू नितेश मालपानी र भानुभक्त अर्यालविरुद्ध पनि धितोपत्रसम्बन्धी कानून र बीमा ऐनअन्तर्गत मुद्दा दायर भएको छ। प्रहरीले रोक्काले बागमतीमा हामफाल्नुको कारण खुल्न बाँकी रहेको जनाउँदै घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)











प्रतिक्रिया