Nepal Life

चालु आवमा ४ खर्ब १० अर्ब आन्तरिक ऋण उठाउने सरकारको योजना, विकास ऋणपत्रबाटै ३ खर्ब संकलन गरिने

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Aug 03 15:01
चालु आवमा ४ खर्ब १० अर्ब आन्तरिक ऋण उठाउने सरकारको योजना, विकास ऋणपत्रबाटै ३ खर्ब संकलन गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८३/८४ मा ४ खर्ब १० अर्ब रुपैयाँ आन्तरिक ऋण परिचालन गर्ने वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ।

Nepal Life
NIMB

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको तालिकाअनुसार ट्रेजरी बिल, विकास ऋणपत्र, नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रमार्फत चरणबद्ध रूपमा ऋण उठाइनेछ। कुल लक्ष्यमध्ये सबैभन्दा ठूलो हिस्सा ३ खर्ब रुपैयाँ विकास ऋणपत्रमार्फत संकलन गर्ने योजना रहेको छ।

कार्यालयका अनुसार आन्तरिक ऋण निष्कासनको तालिका सार्वजनिक गर्नुको उद्देश्य सम्भावित लगानीकर्तालाई लगानी योजना बनाउन सहज बनाउनु हो। वार्षिक कार्यक्रमअनुसार ऋण परिचालन चारै त्रैमासिकमा विभाजन गरिएको छ।

पहिलो त्रैमासिक (साउन–असोज) मा सरकारले १ खर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य राखेको छ। यस अवधिमा ९१ दिने र १८२ दिने ट्रेजरी बिलमार्फत १० अर्ब रुपैयाँ तथा विभिन्न अवधिका विकास ऋणपत्रमार्फत ९० अर्ब रुपैयाँ संकलन गरिनेछ। पहिलो त्रैमासिकमा ४ वर्षदेखि १५ वर्षसम्म अवधिका नौ वटा विकास ऋणपत्र निष्कासन गर्ने तालिका छ।

दोस्रो त्रैमासिक (कात्तिक–पुस) मा ९३ अर्ब रुपैयाँ परिचालन गर्ने योजना बनाइएको छ। यसमध्ये १० अर्ब रुपैयाँ ट्रेजरी बिल, ८० अर्ब रुपैयाँ विकास ऋणपत्र, २ अर्ब ५० करोड रुपैयाँ नागरिक बचतपत्र तथा ५० करोड रुपैयाँ वैदेशिक रोजगार बचतपत्रबाट उठाइनेछ। यस अवधिमा ५, ६, ८, १२ र १३ वर्ष अवधिका विकास ऋणपत्र जारी गरिनेछन्।

तेस्रो त्रैमासिक (माघ–चैत) मा सबैभन्दा बढी १ खर्ब २० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाइनेछ। यसमध्ये ३० अर्ब रुपैयाँ ट्रेजरी बिल र ९० अर्ब रुपैयाँ विकास ऋणपत्रबाट संकलन गर्ने लक्ष्य छ। सो अवधिमा २८, ९१, १८२ र ३६४ दिने ट्रेजरी बिलका साथै ४ वर्षदेखि १५ वर्षसम्म अवधिका थप विकास ऋणपत्र निष्कासन गरिनेछ।

चौथो त्रैमासिक (वैशाख–असार) मा ९७ अर्ब रुपैयाँ आन्तरिक ऋण परिचालन गर्ने योजना छ। यसमध्ये ५४ अर्ब रुपैयाँ ट्रेजरी बिल, ४० अर्ब रुपैयाँ विकास ऋणपत्र, २ अर्ब ५० करोड रुपैयाँ नागरिक बचतपत्र तथा ५० करोड रुपैयाँ वैदेशिक रोजगार बचतपत्रमार्फत उठाइने तालिका सार्वजनिक गरिएको छ।

वार्षिक लक्ष्यअनुसार सरकारले ट्रेजरी बिलबाट १ खर्ब ४ अर्ब रुपैयाँ, विकास ऋणपत्रबाट ३ खर्ब रुपैयाँ, नागरिक बचतपत्रबाट ५ अर्ब रुपैयाँ तथा वैदेशिक रोजगार बचतपत्रबाट १ अर्ब रुपैयाँ संकलन गर्नेछ। विकास ऋणपत्रको अवधि ४ वर्षदेखि १५ वर्षसम्म रहनेछ भने ट्रेजरी बिल २८, ९१, १८२ र ३६४ दिन अवधिका हुनेछन्। सबै उपकरणको ब्याजदर प्रतिस्पर्धात्मक बोलकबोल प्रणालीमार्फत निर्धारण गरिने व्यवस्था छ।

सरकारले सार्वजनिक गरेको चालु आर्थिक वर्षको बजेटअनुसार कुल २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको खर्च योजना रहेको छ। बजेटमा १४ खर्ब ५ अर्ब ३१ करोड रुपैयाँ राजस्व र ६१ अर्ब ७४ करोड रुपैयाँ वैदेशिक अनुदान प्राप्त हुने अनुमान गरिएको छ। बाँकी स्रोत व्यवस्थापनका लागि २ खर्ब ४७ अर्ब २८ करोड रुपैयाँ वैदेशिक ऋण र ४ खर्ब १० अर्ब रुपैयाँ आन्तरिक ऋण परिचालन गर्ने योजना अघि सारिएको हो।

यद्यपि चालु आर्थिक वर्षमा सरकारले २ खर्ब ४५ अर्ब ८९ करोड रुपैयाँ आन्तरिक ऋणको साँवा भुक्तानी गर्नुपर्ने भएकाले खुद आन्तरिक ऋण परिचालन १ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ रहने बजेटमा उल्लेख गरिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया