ओमनमा नेपाली उत्पादनको बजार विस्तारका लागि निर्यात व्यवसायीको प्रतिनिधिमण्डल भ्रमणमा
- BFIS News
- 2026 Aug 03 16:03
काठमाडौं । नेपाली उत्पादनको निर्यात प्रवर्द्धन र ओमनसँग व्यापारिक सहकार्य विस्तार गर्ने उद्देश्यले निर्यात व्यवसायीहरूको उच्चस्तरीय प्रतिनिधिमण्डल सोमबार ओमन प्रस्थान गरेको छ। परराष्ट्र मन्त्रालय र ओमनस्थित नेपाली दूतावासको समन्वयमा आयोजना गरिएको चारदिने भ्रमणका क्रममा व्यापार, लगानी तथा व्यवसाय–बीचको प्रत्यक्ष सहकार्य (बीटुबि) प्रवर्द्धनसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन हुने भएका छन्।
निर्यात व्यवसायी महासंघ नेपालको प्रतिनिधिमण्डलको नेतृत्व महासंघका अध्यक्ष गोविन्दप्रसाद घिमिरेले गरेका छन्। टोलीमा नेपाल हस्तकला महासंघका अध्यक्ष रविन्द्र शाक्य, महासंघका उपाध्यक्ष तथा नेपाल ह्यान्डमेड पेपर एसोसिएसनका अध्यक्ष किरणकुमार डंगोल, नेपाल पानी उद्योग महासंघका अध्यक्ष विक्रम चेम्जोङ, महासंघका सल्लाहकार स्वयम्भुरत्न तुलाधर, नेपाल डेरी एसोसिएसनका उपाध्यक्ष मनोजकुमार यादवसहित विभिन्न निर्यातमुखी उद्योग तथा वस्तुगत संघसंस्थाका गरी १५ जना प्रतिनिधि सहभागी छन्।
भ्रमणका क्रममा ओमनस्थित नेपाली दूतावासमा व्यावसायिक अन्तरक्रिया तथा नेटवर्किङ कार्यक्रम आयोजना गरिनेछ। साथै, ओमन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजसँग द्विपक्षीय व्यापार सहकार्यका विषयमा छलफल तथा समझदारी, र ओमन इन्भेस्टमेन्ट अथोरिटीसँग लगानीका सम्भावना र व्यापारिक सहकार्यबारे बैठक हुने कार्यक्रम तय गरिएको छ।
ओमनस्थित नेपाली दूतावासका प्रथम सचिव विशेषकुमार शाहका अनुसार प्रतिनिधिमण्डलले ओमनका प्रमुख खुद्रा व्यापारिक सञ्जालहरू नेस्टो हाइपरमार्केट, लुलु हाइपरमार्केट र हाइपरम्याक्सका खरिद विभागसँग प्रत्यक्ष व्यवसाय–बीचको (बीटुबि) बैठक गर्नेछ। यसका अतिरिक्त नेपाली उत्पादनको नमुना प्रदर्शन, स्थानीय बजार अवलोकन तथा ओमनमा रहेका नेपाली व्यवसायी र समुदायसँग निर्यात तथा लगानी प्रवर्द्धनका विषयमा अन्तरक्रिया गर्ने कार्यक्रम पनि रहेको छ।
नेपाल र ओमनबीच लामो समयदेखि कूटनीतिक सम्बन्ध रहे पनि द्विपक्षीय व्यापारको आकार अझै सीमित छ। हाल नेपालबाट ओमनमा गलैंचा, पश्मिना, हस्तकला, चिया, कफी, मसला, हस्तनिर्मित कागज तथा केही कृषि उत्पादन निर्यात हुँदै आएको छ भने ओमनबाट मल, रसायन तथा औद्योगिक कच्चा पदार्थ आयात हुने गरेको छ।
व्यापार विज्ञहरूका अनुसार ओमन खाडी क्षेत्रको महत्वपूर्ण व्यापारिक केन्द्र भएकाले त्यहाँबाट संयुक्त अरब इमिरेट्स, साउदी अरेबिया, कतार, बहराइन र कुवेतलगायत अन्य खाडी मुलुकमा समेत नेपाली उत्पादनको पहुँच विस्तार गर्ने सम्भावना रहेको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)












प्रतिक्रिया