एनएमबी बैंकको खुद नाफा ४०.६० प्रतिशतले बढ्यो, वितरणयोग्य प्रतिशेयर नाफा ९ रुपैयाँ ८ पैसा
- BFIS News
- 2026 Aug 04 09:16
काठमाडौं । एनएमबी बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै नाफा, ब्याज आम्दानी तथा समग्र व्यवसाय विस्तारमा उल्लेखनीय सुधार हासिल गरेको जनाएको छ। समीक्षा अवधिमा बैंकले खुद नाफादेखि सञ्चालन नाफा, निक्षेप, कर्जा र कुल सम्पत्तिसम्म अधिकांश वित्तीय सूचकमा दोहोरो अंकको वृद्धि हासिल गरेको छ।
बैंकले गत आर्थिक वर्षको अन्त्यसम्ममा ४ अर्ब १ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा २ अर्ब ८५ करोड रुपैयाँ रहेको खुद नाफा ४०.६० प्रतिशतले वृद्धि भएको हो। यससँगै बैंकको आम्दानी क्षमता थप सुदृढ भएको देखिएको छ।
बैंकको मुख्य आम्दानी स्रोतका रूपमा रहेको खुद ब्याज आम्दानी पनि उल्लेखनीय रूपमा बढेको छ। अघिल्लो आर्थिक वर्षको ८ अर्ब २ करोड रुपैयाँ रहेको खुद ब्याज आम्दानी १७.५२ प्रतिशतले वृद्धि भएर ९ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ। त्यसैगरी, फि तथा कमिसन आम्दानी २ अर्ब १४ करोड रुपैयाँबाट बढेर २ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ। सञ्चालन नाफा पनि ४ अर्ब ७३ करोड रुपैयाँबाट २९.०६ प्रतिशतले वृद्धि भई ६ अर्ब ११ करोड रुपैयाँ पुगेको छ।
नेपाल राष्ट्र बैंकको नियामकीय व्यवस्था अनुसार विभिन्न कोषमा आवश्यक रकम छुट्ट्याएपछि बैंकको नियामक समायोजन अघिको नाफा २ अर्ब ५१ करोड रुपैयाँ कायम भएको छ। नियामकीय समायोजन तथा अघिल्लो वर्षको सञ्चित नाफा समायोजनपछि बैंकको कुल वितरणयोग्य नाफा १ अर्ब ८७ करोड रुपैयाँ रहेको छ। यसबाट अविमोच्य असञ्चिति अग्राधिकार शेयरको लाभांश कट्टा गरेपछि साधारण शेयरधनीका लागि १ अर्ब ७५ करोड रुपैयाँ वितरणयोग्य रहनेछ। यस आधारमा बैंकको प्रतिशेयर वितरणयोग्य नाफा ९ रुपैयाँ ८ पैसा कायम भएको छ।
व्यवसाय विस्तारतर्फ पनि बैंकले उल्लेखनीय प्रगति गरेको छ। समीक्षा अवधिको अन्त्यसम्ममा बैंकको चुक्ता पूँजी २२ अर्ब २८ करोड ५० लाख रुपैयाँ पुगेको छ भने सञ्चित नाफा र अन्य जगेडा कोषसहित कुल जगेडा कोष १५ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ।
ग्राहक निक्षेप २ खर्ब ८० अर्ब ९२ करोड रुपैयाँबाट बढेर ३ खर्ब १५ अर्ब ११ करोड रुपैयाँ पुगेको छ। त्यसैगरी, ग्राहकलाई प्रवाह गरिएको कर्जा २ खर्ब २८ अर्ब ४५ करोड रुपैयाँबाट वृद्धि भएर २ खर्ब ४९ अर्ब ७५ लाख रुपैयाँ पुगेको छ। निक्षेप र कर्जा दुवैमा भएको विस्तारसँगै बैंकको कुल सम्पत्ति पनि ३ खर्ब ५१ अर्ब ५९ करोड रुपैयाँबाट बढेर ३ खर्ब ९७ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ।
यद्यपि, समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा (एनपीएल) ४.११ प्रतिशतबाट बढेर ४.९१ प्रतिशत पुगेको छ। तर, सम्भावित कर्जा नोक्सानी व्यवस्थाका लागि बैंकले ९२.५७ प्रतिशतको प्रोभिजन कायम राखेकाले सम्भावित जोखिम व्यवस्थापनतर्फ बैंकले पर्याप्त सतर्कता अपनाएको देखिन्छ।
समग्रमा, आर्थिक वर्ष २०८२/८३ मा एनएमबी बैंकले नाफा, सञ्चालन क्षमता तथा व्यवसाय विस्तारमा उल्लेखनीय सुधार हासिल गरेको छ। निष्क्रिय कर्जामा केही वृद्धि भए पनि उच्च कर्जा नोक्सानी व्यवस्थाले बैंकको जोखिम बहन क्षमता सन्तोषजनक रहेको वित्तीय विवरणले संकेत गरेको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)











प्रतिक्रिया