असुलीमा सुधारले ग्लोबल आइएमई बैंकको नाफा २२.६७ प्रतिशत बढ्यो, वितरणयोग्य मुनाफा ४ अर्ब ५८ करोड
- BFIS News
- 2026 Aug 05 09:32
काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै असुलीमा आएको सुधार र सञ्चालन आम्दानीमा भएको वृद्धिका कारण बैंकको नाफा, वितरणयोग्य मुनाफा तथा कुल सम्पत्तिमा उल्लेखनीय वृद्धि भएको जनाएको छ। कर्जा नोक्सानी व्यवस्थाका लागि छुट्याउनुपर्ने रकम घटेसँगै बैंकको सञ्चालन नाफा र खुद नाफा दुवैमा सुधार देखिएको हो।
विवरणअनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको ५ अर्ब ७ करोड ६३ लाख रुपैयाँबाट २२.६७ प्रतिशतले बढेर ६ अर्ब २२ करोड ७१ लाख रुपैयाँ पुगेको छ। यद्यपि, खुद ब्याज आम्दानी भने सामान्य रूपमा घट्दै १६ अर्ब २० करोड ३० लाख रुपैयाँमा सीमित भएको छ, जुन अघिल्लो आर्थिक वर्ष १६ अर्ब ६७ करोड ९९ लाख रुपैयाँ रहेको थियो।
बैंकको नाफा वृद्धिमा सबैभन्दा ठूलो योगदान कर्जा नोक्सानी व्यवस्थामा आएको कमीले दिएको देखिन्छ। इम्पेरमेन्ट चार्ज अघिल्लो आर्थिक वर्षको ५ अर्ब ९७ करोड ८५ लाख रुपैयाँबाट २०.२४ प्रतिशतले घटेर ४ अर्ब ७८ करोड ८३ लाख रुपैयाँमा सीमित भएको छ। यसले बैंकको सञ्चालन नाफा बढाउन महत्वपूर्ण सहयोग पुगेको छ। परिणामस्वरूप सञ्चालन नाफा ७ अर्ब २३ करोड ३१ लाख रुपैयाँबाट २०.०३ प्रतिशतले वृद्धि हुँदै ८ अर्ब ६८ करोड २१ लाख रुपैयाँ पुगेको छ।
बैंकले लाभांश वितरण गर्ने क्षमतामा पनि उल्लेखनीय सुधार गरेको छ। नियामकीय समायोजनपश्चात् गत असार मसान्तसम्म बैंकको खुद वितरणयोग्य नाफा ३ अर्ब ५७ करोड ५४ लाख रुपैयाँ कायम भएको छ। अघिल्लो वर्षको सञ्चित नाफा तथा नगद लाभांश समायोजनपछि कुल वितरणयोग्य मुनाफा ४ अर्ब ५८ करोड १० लाख रुपैयाँ पुगेको छ। यस आधारमा प्रतिशेयर वितरणयोग्य नाफा १२ रुपैयाँ २ पैसा रहेको बैंकले जनाएको छ।
वित्तीय आधार विस्तारतर्फ पनि बैंकले उल्लेखनीय प्रगति गरेको छ। ग्राहक निक्षेप ५ खर्ब ५० अर्ब ६२ करोड रुपैयाँबाट २१.५३ प्रतिशतले वृद्धि भई ६ खर्ब ६९ अर्ब १७ करोड रुपैयाँ पुगेको छ। त्यसैगरी कर्जा प्रवाह ४ खर्ब १० अर्ब ११ करोड रुपैयाँबाट ७.१३ प्रतिशतले बढेर ४ खर्ब ३९ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ।
यस अवधिमा बैंकको कुल सम्पत्तिको आकार पनि उल्लेखनीय रूपमा विस्तार भएको छ। अघिल्लो आर्थिक वर्षको ६ खर्ब ८८ अर्ब ८० करोड रुपैयाँ रहेको कुल सम्पत्ति बढेर ८ खर्ब २० अर्ब ७७ करोड रुपैयाँ पुगेको छ। बैंकको चुक्ता पूँजी ३६ अर्ब ११ करोड ५८ लाख रुपैयाँ रहेको छ भने सञ्चित नाफा र अन्य जगेडा कोषसहित कुल इक्विटी ६९ अर्ब ८० करोड ६२ लाख रुपैयाँ पुगेको छ।
यसैबीच, बैंकको सम्पत्ति गुणस्तरमा पनि सुधार देखिएको छ। शुद्ध खराब कर्जा अनुपात अघिल्लो आर्थिक वर्षको १.२२ प्रतिशतबाट घटेर ०.५९ प्रतिशतमा सीमित भएको छ। नाफामा भएको दोहोरो अंकको वृद्धि, खराब कर्जामा आएको कमी तथा ४ अर्ब ५८ करोड रुपैयाँभन्दा बढी वितरणयोग्य मुनाफाले आगामी लाभांश क्षमतालाई थप मजबुत बनाएको संकेत वित्तीय विवरणले गरेको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)












प्रतिक्रिया