राष्ट्र बैंकले बजारबाट ६० अर्ब तान्दै, अधिक तरलताको व्यवस्थापन गर्नै हम्मे
- BFIS News
- 2026 Aug 07 11:21
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्ने उद्देश्यले ६० अर्ब रुपैयाँको एकमहिने निक्षेप संकलन उपकरण जारी गर्ने भएको छ।
राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले २०८३ साउन २२ गते ३१ दिन अवधिका लागि ६० अर्ब रुपैयाँको निक्षेप संकलन बोलकबोल गर्न लागेको हो। बोलकबोल सोही दिन दिउँसो ३ बजेसम्म Online Bidding System Software (OBSS) मार्फत मात्र गर्न सकिनेछ।
राष्ट्र बैंकका अनुसार निक्षेप संकलनको ब्याजदर बोलकबोलबाट निर्धारण हुनेछ। बोलकर्ताले आफूले जम्मा गर्न चाहेको रकम र ब्याजदर उल्लेख गर्नुपर्नेछ। ब्याजदर दशमलवपछि बढीमा चार अंकसम्म उल्लेख गर्न सकिने व्यवस्था गरिएको छ।
न्यूनतम १० करोडको बोलकबोल
बोलकबोलमा न्यूनतम १० करोड रुपैयाँदेखि सहभागी हुन सकिनेछ। त्यसपछि १० करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने रकममा कुल आह्वान रकम अर्थात् ६० अर्ब रुपैयाँसम्म बोल गर्न सकिनेछ।
बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्। सहभागी संस्थाले एकभन्दा बढी ब्याजदरमा समेत बोलकबोल गर्न सक्नेछन्।
६० अर्ब रुपैयाँको आह्वान रकम बाँडफाँट गर्दा सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने बोललाई पहिलो प्राथमिकता दिइनेछ। त्यसपछि क्रमशः उच्च ब्याजदरका बोल स्वीकार गर्दै आह्वान रकमसम्म बाँडफाँट गरिने राष्ट्र बैंकले जनाएको छ।
समान ब्याजदरमा परेको बोल रकम कुल निष्काशित रकमभन्दा बढी भएमा त्यस्तो रकम Pro-rata Basis मा बाँडफाँट गरिनेछ।
भदौ २२ गते साँवा र ब्याज भुक्तानी
राष्ट्र बैंकले साउन २२ गते निक्षेप संकलन गरी आगामी भदौ २२ गते साँवा तथा ब्याज भुक्तानी गर्नेछ। स्वीकृत बोलपत्रबापतको रकम सम्बन्धित काउण्टरपार्टीको राष्ट्र बैंकस्थित खाताबाट कट्टा गरी निक्षेपका लागि छुट्टै खातामा जम्मा गरिने व्यवस्था छ।
निक्षेप संकलन उपकरणलाई राष्ट्र बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा समेत प्रयोग गर्न सकिनेछ।
बोलपत्र स्वीकृत भएको काउण्टरपार्टीको खातामा निष्काशनका दिन पर्याप्त मौज्दात नभएमा त्यस्तो संस्थालाई कालोसूचीमा राखिनेछ। साथै, त्यसपछिका बोलकबोलमा सहभागी हुनसमेत प्रतिबन्ध लगाइने राष्ट्र बैंकले स्पष्ट पारेको छ।
CRR मा गणना नहुने
निक्षेप संकलनमार्फत बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकमा जम्मा गरेको रकम सम्बन्धित बोलकर्ताको लगानी पोर्टफोलियोमा गणना हुनेछ। त्यसैले उक्त रकमलाई अनिवार्य नगद मौज्दात (CRR) मा गणना गर्न पाइने छैन।
तर, राष्ट्र बैंकको निर्देशनअनुसार कायम गर्नुपर्ने SLR तथा Liquidity Ratio मा भने उक्त रकम गणना गर्न सकिनेछ। निक्षेपको अवधि पूरा हुनुअघि सम्बन्धित बोलकर्तालाई रकम फिर्ता गर्ने वा Pre-mature Payment गर्ने व्यवस्था नरहेको राष्ट्र बैंकले जनाएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)











प्रतिक्रिया