Nepal Life

उचित पारिश्रमिक र बीमा सुरक्षाको माग गर्दै इन्ड्राइभ राइडर आन्दोलनमा

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Aug 07 16:58
उचित पारिश्रमिक र बीमा सुरक्षाको माग गर्दै इन्ड्राइभ राइडर आन्दोलनमा

काठमाडौं, साउन २२ पछिल्ला केही दिनयता राइड–सेयरिङ सेवा इन्ड्राइभका राइडरहरू उचित पारिश्रमिक, बीमा सुरक्षा र श्रमिक अधिकारको माग गर्दै आन्दोलनमा उत्रिएका छन्।

 

 

Nepal Life
NIMB

ललितपुरको कुपण्डोलस्थित इन्ड्राइभ कार्यालय अगाडि धर्ना तथा प्रदर्शन गरिरहेका राइडरहरूले कम्पनीले श्रमिकको श्रमको उचित मूल्यांकन नगरेको, चालकमैत्री नीति नअपनाएको तथा सामाजिक सुरक्षालाई बेवास्ता गरेको आरोप लगाएका छन्।

आन्दोलनरत राइडरहरूले दैनिक सडकमा उच्च जोखिम मोलेर काम गर्नुपर्ने भएकाले प्रभावकारी दुर्घटना तथा स्वास्थ्य बीमा व्यवस्था अनिवार्य गर्नुपर्ने माग गरेका छन्। बीमा सुरक्षा सुनिश्चित नभएसम्म आफूहरू सुरक्षित रूपमा काम गर्न नसक्ने उनीहरूको भनाइ छ।

राइडरहरूका अनुसार हालको भाडादरले इन्धन, सवारी मर्मत, बीमा, कर तथा दैनिक सञ्चालन खर्चसमेत धान्न कठिन भइरहेको छ। खर्च बढ्दै गए पनि आम्दानी त्यसअनुसार नबढ्दा आर्थिक दबाब बढेको भन्दै वैज्ञानिक आधारमा भाडादर निर्धारण गरी श्रमको उचित मूल्य सुनिश्चित गर्न उनीहरूले माग गरेका छन्।

यसैगरी, चालक–राइडरमैत्री नीति लागू गर्न, श्रमिकको अधिकार सुनिश्चित गर्न, दुर्घटनामा परेका चालकका लागि प्रभावकारी राहत व्यवस्था गर्न तथा कम्पनी र चालकबीच पारदर्शी समन्वय कायम गर्नुपर्ने माग पनि उनीहरूले अघि सारेका छन्।

स्वतन्त्र चालक फाउन्डेसन नेपालको आह्वानमा भइरहेको आन्दोलनलाई थप सशक्त बनाउने तयारीसमेत गरिएको आन्दोलनरत राइडरहरूले बताएका छन्। उनीहरूका अनुसार आन्दोलन कुनै व्यक्ति वा कम्पनीविरुद्ध नभई श्रमिकको सम्मान, सुरक्षित कार्य वातावरण, सामाजिक सुरक्षा र न्यायपूर्ण पारिश्रमिक सुनिश्चित गराउने उद्देश्यले गरिएको हो।

आवश्यक परे अन्य राइड–सेयरिङ प्लेटफर्ममा आबद्ध चालकका साझा समस्यालाई पनि आन्दोलनमार्फत उठाइने राइडरहरूले बताएका छन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया