जानकी फाइनान्स घाटाबाट नाफामा, वित्तीय सूचकमा भने अझै चुनौती
- BFIS News
- 2026 Aug 07 16:59
काठमाडौं, साउन २२ जानकी फाइनान्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दै अघिल्लो वर्षको तुलनामा उल्लेख्य सुधार भएको जनाएको छ। कम्पनी अघिल्लो वर्षको ठूलो घाटाबाट बाहिरिँदै चालु आर्थिक वर्षको अन्त्यसम्म नाफामा फर्किएको हो।
सार्वजनिक विवरणअनुसार आर्थिक वर्ष २०८१/८२ मा २० करोड ७२ लाख ८४ हजार रुपैयाँ खुद नोक्सानी बेहोरेको फाइनान्सले आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्म ९३ लाख ४३ हजार रुपैयाँ खुद नाफा कमाएको छ।
कम्पनीको खुद ब्याज आम्दानी पनि बढेको छ। अघिल्लो वर्ष १६ करोड ६७ लाख ४ हजार रुपैयाँ रहेको खुद ब्याज आम्दानी बढेर १७ करोड १५ लाख १२ हजार रुपैयाँ पुगेको छ।
यद्यपि, निक्षेप संकलन र कर्जा प्रवाहमा भने गिरावट आएको छ। अघिल्लो वर्ष ३ अर्ब ६ करोड रुपैयाँ रहेको निक्षेप घटेर २ अर्ब २६ करोड रुपैयाँ मा सीमित भएको छ। त्यस्तै, कर्जा प्रवाह पनि २ अर्ब ६५ करोड रुपैयाँबाट घटेर २ अर्ब ११ करोड रुपैयाँ मा झरेको छ।
वित्तीय सुधारका बाबजुद कम्पनीका केही प्रमुख सूचक अझै चुनौतीपूर्ण देखिएका छन्। फाइनान्सको खराब कर्जा (एनपीएल) अघिल्लो वर्षको ४८.६१ प्रतिशत बाट बढेर ६१.५५ प्रतिशत पुगेको छ।
त्यसैगरी, नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम पुँजी कोष अनुपातभन्दा कम्पनी अझै तल रहेको छ। पुँजी कोष ६.१४ प्रतिशतले ऋणात्मक रहेको छ, जबकि अघिल्लो वर्ष यो १.९१ प्रतिशत ऋणात्मक थियो।
कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) १ रुपैयाँ ३५ पैसा पुगेको छ, जुन अघिल्लो वर्ष ३० रुपैयाँ २ पैसा ऋणात्मक थियो। हाल कम्पनीको प्रतिशेयर नेटवर्थ ० रुपैयाँ ८९ पैसा ऋणात्मक रहेको छ भने तरलता अनुपात ३७.९४ प्रतिशत कायम भएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)












प्रतिक्रिया