NIMB Header 2
Prabhu Mahalaxmi

आइपिओ निष्काशनको तयारीमा रहेको हुलास फिनसर्भको नाफा ८४ प्रतिशतले बढ्यो, ईपीएस ४८ रुपैयाँ पुग्यो

United Ajod
  • BFIS News
  • 2026 Aug 09 10:45
आइपिओ निष्काशनको तयारीमा रहेको हुलास फिनसर्भको नाफा ८४ प्रतिशतले बढ्यो, ईपीएस ४८ रुपैयाँ पुग्यो
IME LIFE

काठमाडौं । हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडले आर्थिक वर्ष २०८२/८३ मा उल्लेख्य वित्तीय सुधार गरेको छ। कम्पनीले गत आर्थिक वर्षमा ३९ करोड ८७ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो आर्थिक वर्षको २१ करोड ६२ लाख रुपैयाँको तुलनामा ८४.४५ प्रतिशत बढी हो।

Nepal Life
NIMB

कम्पनीका अनुसार नाफा वृद्धिमा कर्जा कारोबारको विस्तार, सम्पत्तिको गुणस्तरमा सुधार, ब्याज आम्दानीमा वृद्धि तथा सञ्चालन दक्षताले मुख्य भूमिका खेलेका छन्।

गत आर्थिक वर्षमा कम्पनीको कुल कर्जा लगानी ५२.२५ प्रतिशतले बढेर १२ अर्ब २२ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो कर्जा लगानी ८ अर्ब २ करोड रुपैयाँ थियो। विशेषगरी अटोमोबाइल फाइनान्सिङमा भएको विस्तारले कर्जा पोर्टफोलियो बढाउन योगदान गरेको कम्पनीले जनाएको छ।

कर्जा विस्तारसँगै कम्पनीको खराब कर्जा अनुपात (एनपीएल) समेत घटेको छ। अघिल्लो आर्थिक वर्षमा ३.४० प्रतिशत रहेको एनपीएल गत आर्थिक वर्षमा घटेर १.८७ प्रतिशतमा झरेको छ।

कम्पनीको कुल सम्पत्ति पनि बढेर १२ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष कुल सम्पत्ति ८ अर्ब ४३ करोड रुपैयाँ थियो। त्यस्तै, कुल इक्विटी १ अर्ब ४९ करोड रुपैयाँबाट बढेर १ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ।

हुलास फिनसर्भको खुद ब्याज आम्दानीमा समेत उल्लेख्य वृद्धि भएको छ। गत आर्थिक वर्षमा कम्पनीले ४८ करोड ४६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको २२ करोड १० लाख रुपैयाँको तुलनामा दोब्बरभन्दा बढी हो।

त्यस्तै, सञ्चालन नाफा ३३ करोड ५३ लाख रुपैयाँबाट बढेर ६१ करोड ४७ लाख रुपैयाँ पुगेको छ। कम्पनीको वार्षिकीकृत इक्विटीमा प्रतिफल (आरओई) १४.५२ प्रतिशतबाट बढेर २१.१२ प्रतिशत पुगेको छ।

कम्पनीको वार्षिकीकृत आधारभूत प्रतिसेयर आम्दानी (ईपीएस) पनि बढेको छ। अघिल्लो आर्थिक वर्षमा २६.०४ रुपैयाँ रहेको ईपीएस गत आर्थिक वर्षमा बढेर ४८.०४ रुपैयाँ पुगेको छ।

कम्पनीले वित्तीय स्रोतको लागत र ब्याजदरबीचको अन्तरमा समेत सुधार गरेको छ। फन्डको लागत ६.४० प्रतिशतबाट घटेर ५.७७ प्रतिशतमा आएको छ भने ब्याजदर स्प्रेड १.९८ प्रतिशतबाट बढेर ३.३९ प्रतिशत पुगेको छ। कर्जा नोक्सानी व्यवस्थापनअन्तर्गतको प्रावधान कभरेज पनि ९२.३४ प्रतिशत पुगेको कम्पनीले जनाएको छ।

नेपालको वित्तीय क्षेत्रमा निजी क्षेत्रतर्फको कर्जा विस्तार सुस्त रहनु तथा सम्पत्तिको गुणस्तरसम्बन्धी चुनौती कायमै रहेको अवस्थामा पनि कम्पनीले यस्तो वित्तीय सुधार हासिल गरेको जनाएको छ। व्यवसाय विस्तार, सञ्चालन दक्षता, जोखिम व्यवस्थापनमा सावधानी तथा कर्जा असुलीमा केन्द्रित प्रयासले नतिजा सुधार गर्न सहयोग गरेको कम्पनीको भनाइ छ।

आगामी दिनमा कम्पनीले दिगो रूपमा कर्जा पोर्टफोलियो विस्तार गर्ने रणनीति लिएको छ। साथै, सम्पत्तिको गुणस्तर, कर्जा असुली प्रणाली र पोर्टफोलियो विविधीकरणलाई थप सुदृढ गर्दै दीर्घकालीन रूपमा शेयरधनी तथा अन्य सरोकारवालाको हित संरक्षणमा केन्द्रित हुने कम्पनीले जनाएको छ।

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया