Nepal Life

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको खुद नाफा ८३ प्रतिशतले बढ्यो, वितरणयोग्य नाफा ८४ करोड नाघ्यो

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Aug 10 12:37
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको खुद नाफा ८३ प्रतिशतले बढ्यो, वितरणयोग्य नाफा ८४ करोड नाघ्यो

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै खुद नाफा, सञ्चालन नाफा, कर्जा प्रवाह तथा निक्षेप विस्तारसहित अधिकांश वित्तीय सूचकमा उल्लेखनीय सुधार गरेको जनाएको छ।

Nepal Life
NIMB

विवरणअनुसार बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्म १ अर्ब १८ करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको ६४ करोड ५६ लाख रुपैयाँको तुलनामा ८२.९६ प्रतिशतले बढी हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी पनि बढेको छ। अघिल्लो वर्षको २ अर्ब ६४ करोड ४३ लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी बढेर २ अर्ब ८२ करोड ६७ लाख रुपैयाँ पुगेको छ। यससँगै कर्जा नोक्सानी व्यवस्था (इम्पेरमेन्ट चार्ज) उल्लेखनीय रूपमा घट्दा बैंकको नाफामा थप सुधार आएको छ। उक्त व्यवस्था अघिल्लो वर्षको ९५ करोड ४ लाख रुपैयाँबाट घटेर २० करोड ७९ लाख रुपैयाँमा सीमित भएको छ।

इम्पेरमेन्ट चार्जमा आएको कमी र सञ्चालन आम्दानीमा भएको वृद्धिका कारण बैंकको सञ्चालन नाफा पनि उल्लेखनीय रूपमा बढेको छ। अघिल्लो वर्ष ९१ करोड ११ लाख रुपैयाँ रहेको सञ्चालन नाफा समीक्षा अवधिमा बढेर १ अर्ब ७३ करोड ७८ लाख रुपैयाँ पुगेको छ।

नाफामा आएको वृद्धिसँगै बैंकको लाभांश वितरण क्षमता पनि सुदृढ बनेको देखिएको छ। नियामकीय समायोजन तथा अघिल्लो वर्षको सञ्चित नाफा समायोजनपछि बैंकको कुल वितरणयोग्य नाफा ८४ करोड ६४ लाख रुपैयाँ पुगेको छ। चुक्ता पूँजीका आधारमा प्रतिशेयर वितरणयोग्य नाफा १६ रुपैयाँ ८६ पैसा कायम भएको छ, जसले चालु आर्थिक वर्षमा दोहोरो अङ्कको लाभांश वितरण गर्ने सम्भावना बलियो बनाएको संकेत गर्दछ।

व्यवसाय विस्तारतर्फ पनि बैंकले उल्लेखनीय प्रगति गरेको छ। गत असार मसान्तसम्म बैंकको कुल निक्षेप ७१ अर्ब ७६ करोड रुपैयाँबाट बढेर ७७ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ। त्यसैगरी, ग्राहकलाई प्रवाह गरिएको कर्जा ५६ अर्ब ९० करोड रुपैयाँबाट बढेर ६३ अर्ब २६ करोड रुपैयाँ पुगेको छ।

बैंकको वित्तीय अवस्था पनि थप सुदृढ बनेको देखिन्छ। समीक्षा अवधिमा कुल सम्पत्ति ८० अर्ब ३५ करोड रुपैयाँबाट बढेर ८७ अर्ब ७० करोड रुपैयाँ पुगेको छ भने बैंकको वासलातको आकार ८७ अर्ब रुपैयाँ नाघेको छ। यस अवधिमा बैंकको चुक्ता पूँजी ५ अर्ब २ करोड १९ लाख रुपैयाँ कायम भएको छ भने सञ्चित नाफा तथा अन्य जगेडा कोषसहित कुल कोष २ अर्ब ९८ करोड ७३ लाख रुपैयाँ पुगेको वित्तीय विवरणमा उल्लेख छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया