NIMB Header 2
Nepal Life

एकल बीमाशुल्कमा ६% कमिशन, १८%सम्म इन्सेन्टिभले बढायो बीमकको जोखिम

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Aug 17 17:22
एकल बीमाशुल्कमा ६% कमिशन, १८%सम्म इन्सेन्टिभले बढायो बीमकको जोखिम
United Ajod

काठमाडौं, भदौ १ गते । जीवन बीमा कम्पनीहरूले बीमितको सुविधाका लागि एकमुष्ठ बीमाशुल्क भुक्तानी गर्न सकिने एकल बीमाशुल्क बीमालेख सञ्चालनमा ल्याएका छन्। यस्तो बीमालेखमा बीमितले बीमा अवधि सुरु हुँदा नै सम्पूर्ण बीमाशुल्क एकैपटक भुक्तानी गर्नुपर्ने भएकाले हरेक वर्ष बीमाशुल्क बुझाउनुपर्ने झन्झट हुँदैन।

 

Nepal Life
NIMB

एकल बीमाशुल्क बीमालेखमा बीमितले एकपटकमै सम्पूर्ण बीमाशुल्क भुक्तानी गरेपछि बीमा अवधिभर बीमालेखमा उल्लेखित सुविधा प्राप्त गर्न सक्छन्। यसले बीमालेख समयमै नवीकरण गर्न नसक्दा हुने व्यतित हुने जोखिमसमेत कम गर्छ।

तर, यस्तो बीमालेखमा अभिकर्तालाई दिइने कमिशन र इन्सेन्टिभको संरचनाले भने बीमक तथा दीर्घकालीन बीमा कोषमा जोखिम बढाउन सक्ने देखिएको छ।

एकमुष्ठ भुक्तानी हुने बीमाशुल्कमा नेपाल सरकारले अभिकर्तालाई दिइने कमिशन ६ प्रतिशतमा सीमित गरेको छ। यस्तो कमिशन अभिकर्ताले एकपटक मात्र प्राप्त गर्छन्। नियमित किस्तामा बीमाशुल्क भुक्तानी हुने सावधिक बीमालेखमा जस्तो हरेक वर्ष कमिशन प्राप्त गर्ने अवस्था एकल बीमाशुल्क बीमालेखमा हुँदैन।

तर, बीमाशुल्क आम्दानीबापतको इन्सेन्टिभमा भने बीमकहरूले पहिलो वर्षमै बीमाशुल्कको १८ प्रतिशतसम्म प्रोत्साहन रकम उपलब्ध गराउँदै आएका छन्। यसले लामो अवधिका लागि जोखिम बहन गर्ने बीमकका लागि वित्तीय दबाब सिर्जना गर्न सक्ने जानकारहरूको भनाइ छ।

बीमाङ्कीय दृष्टिले १५ वर्षसम्म जोखिम बहन गर्नुपर्ने बीमालेखमा पहिलो वर्षमै ठूलो हिस्सा कमिशन तथा इन्सेन्टिभका रूपमा खर्च हुँदा बीमकको दीर्घकालीन दायित्व व्यवस्थापनमा असर पर्न सक्छ। बीमा सुरु भएको एक–दुई वर्षमै मृत्यु वा दुर्घटना मृत्युको दाबी परेमा पहिलो वर्षमै गरिएको ठूलो इन्सेन्टिभ खर्चका कारण बीमकलाई थप आर्थिक भार पर्न सक्ने बीमाङ्कीहरूको तर्क छ।

उच्च समर्पण दरको जोखिम

नेपाल बीमा प्राधिकरण तथा केही बीमकबाट प्राप्त बीमालेख समर्पणसम्बन्धी तथ्यांकअनुसार एकल बीमाशुल्क प्रकृतिका बीमालेखको समर्पण दर तुलनात्मक रूपमा उच्च देखिएको छ। अधिकांश अवस्थामा बीमालेख जारी भएको तीन वर्ष पूरा भएलगत्तै समर्पण हुने गरेको तथ्यांकले देखाएको छ।

बीमालेख समयअघि नै समर्पण हुँदा त्यसको प्रत्यक्ष असर जीवन बीमा कोषमा पर्न सक्ने जानकारहरू बताउँछन्। लामो समयदेखि व्यवसायमा सक्रिय अनुभवी अभिकर्ताहरूले पनि तत्कालीन आम्दानी आकर्षक भए पनि बीमालेख समर्पण भएको अवस्थामा बीमित, अभिकर्ता र बीमक तीनै पक्ष प्रभावित हुने भएकाले एकल बीमाशुल्क बीमालेख बिक्रीलाई प्राथमिकता नदिने गरेका छन्।

अन्तर्राष्ट्रिय अभ्यास कस्तो छ ?

अनुभवी बीमाङ्कीहरूका अनुसार अन्तर्राष्ट्रिय जीवन बीमा बजारमा एकल बीमाशुल्कबाट प्राप्त आम्दानीलाई वार्षिक रूपमा सम्बन्धित अवधिको आम्दानीका रूपमा लेखांकन गर्ने अभ्यास रहेको छ। सोहीअनुसार नेपालमा पनि एकल बीमाशुल्कको इन्सेन्टिभ पहिलो वर्षमै एकमुष्ठ उपलब्ध नगराई अन्य सावधिक प्रकृतिका बीमालेखसरह विभिन्न वर्षमा वितरण गर्नु उपयुक्त हुने उनीहरूको सुझाव छ।

यसले बीमित, अभिकर्ता र बीमक तीनै पक्षको हित संरक्षण गर्न सहयोग पुग्ने उनीहरूको भनाइ छ।

एकल बीमाशुल्क बीमालेखमा कमिशन वितरणलाई बीमा नियमावलीले निश्चित सीमामा राखे पनि इन्सेन्टिभ वितरणसम्बन्धी स्पष्ट नियामकीय व्यवस्था भने नरहेको देखिन्छ। त्यसैले पहिलो वर्षमै ठूलो मात्रामा इन्सेन्टिभ वितरण गर्ने अभ्यासलाई नियमन गर्नुपर्ने आवश्यकता देखिएको छ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया