नेप्सेको ब्रोकर निलम्बनप्रति लगानीकर्ता संघको गम्भीर आपत्ति
- BFIS News
- 2026 Aug 20 12:15
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बेनी सेक्युरिटिज प्रालि. (ब्रोकर नं. ९३) लाई तीन कार्यदिनका लागि निलम्बन गरेपछि नेपाल शेयर बजार लगानीकर्ता संघले निर्णयप्रति गम्भीर आपत्ति जनाएको छ। संघले ब्रोकरलाई गरिएको कारबाहीको प्रत्यक्ष असर निर्दोष ग्राहक लगानीकर्तामाथि परेको भन्दै उनीहरूको कारोबार तत्काल फुकुवा गर्न माग गरेको छ।
नेप्सेले पत्र संख्या ०८३/८४, चलानी नं. २७१, मिति २०८३/०५/०३ मार्फत सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सिडिएससी) को सोही मितिको सिफारिसका आधारमा बेनी सेक्युरिटिजलाई निलम्बन गरेको हो। तोकिएको समयावधिभित्र राफसाफ तथा फछ्यौट कार्य नगरेको भन्दै धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ को विनियम २२(१)(छ) बमोजिम तीन कार्यदिनका लागि निलम्बन गरिएको नेप्सेको पत्रमा उल्लेख छ।
तर, संघका अनुसार ब्रोकरमाथि गरिएको कारबाहीका कारण त्यहाँ खाता रहेका हजारौँ ग्राहक लगानीकर्ताको शेयर खरिद–बिक्रीसमेत प्रभावित भएको छ। ब्रोकरको कमजोरीको सजाय ग्राहकले भोग्नुपर्ने अवस्था न्यायोचित नभएको संघको भनाइ छ।
संघका महासचिव रवीन कडेलले सिडिएससीको सिफारिस र नेप्सेको निलम्बन पत्र दुवै एकै दिन जारी भएकाले नियामकीय प्रक्रिया पर्याप्त रूपमा अध्ययन गरी अघि बढाइएको हो कि होइन भन्ने प्रश्न उठाइएको जनाएका छन्। निर्णयबाट प्रत्यक्ष प्रभावित हुने हजारौँ लगानीकर्ताको हितबारे निर्णय प्रक्रियामा कस्तो व्यवस्था गरिएको थियो भन्ने विषयमा समेत संघले स्पष्टता मागेको छ।
त्यस्तै, निलम्बन अवधिमा ग्राहकका रकम तथा शेयरको सुरक्षा कसरी सुनिश्चित गरिएको छ, चालु राफसाफमा रहेका कारोबारको फछ्यौट कसरी हुनेछ र ग्राहकका लागि वैकल्पिक कारोबार व्यवस्था के हुनेछ भन्ने विषयमा नेप्सेको पत्र मौन रहेको संघको दाबी छ। लगानीकर्ताको सम्पत्ति प्रत्यक्ष सरोकारको विषय भए पनि निर्णयमा त्यससम्बन्धी स्पष्ट व्यवस्था नहुनु गम्भीर विषय भएको संघले जनाएको छ।
संघले ब्रोकरले तोकिएको समयमा राफसाफ तथा फछ्यौट गर्न नसक्नुको कारणसमेत सार्वजनिक गर्न माग गरेको छ। यदि ग्राहक रकमको दुरुपयोग भएको भए तीन दिनको निलम्बनबाट मात्र विषय टुंग्याउन नहुने भन्दै संघले स्वतन्त्र अनुसन्धान गरी निष्कर्ष सार्वजनिक गर्नुपर्ने बताएको छ।
संघका अनुसार बजार घटिरहेका बेला शेयर बिक्री गर्न नपाउनु वा मूल्य बढ्ने अवसरमा शेयर खरिद गर्न नपाउनु लगानीकर्ताका लागि प्रत्यक्ष आर्थिक क्षतिको विषय हो। त्यसैले ब्रोकर वा उसका पदाधिकारीको गल्तीका कारण निर्दोष ग्राहकको कारोबार रोक्ने अभ्यासले पुँजी बजारप्रतिको विश्वास कमजोर पार्न सक्ने संघको चेतावनी छ।
संघले दोषीमाथि कारबाही गर्ने तर निर्दोष ग्राहकको कारोबार प्रभावित नहुने गरी नियामकीय व्यवस्था मिलाउनुपर्नेमा जोड दिएको छ। साथै, नेपाल धितोपत्र बोर्ड, नेप्से र सिडिएससीले नियामकीय दायित्वअनुसार समस्याको जड पहिचान गरी बजार तथा लगानीकर्ताको हित संरक्षण गर्नुपर्ने माग गरेको छ।
संघले बेनी सेक्युरिटिजका सम्पूर्ण ग्राहक लगानीकर्ताको कारोबार तत्काल फुकुवा गर्न वा ग्राहकको सम्पत्ति र कारोबारमा असर नपर्ने गरी ब्रोकर स्थानान्तरण तथा वैकल्पिक कारोबारको स्पष्ट कार्यविधि तत्काल सार्वजनिक गर्न माग गरेको छ। राफसाफ तथा फछ्यौटमा त्रुटि गर्ने ब्रोकर कम्पनी र जिम्मेवार पदाधिकारीमाथि मात्र लक्षित स्वतन्त्र अनुसन्धान गरी कानुनबमोजिम कारबाही गर्न पनि संघले आग्रह गरेको छ।
त्यसैगरी, निलम्बन अवधिमा ग्राहकका रकम, शेयर तथा चालु राफसाफको सुरक्षाबारे नेप्से र सिडिएससीबाट तत्काल आधिकारिक स्पष्टोक्ति जारी गर्न संघको माग छ।
भविष्यमा कुनै ब्रोकरको समस्याका कारण निर्दोष लगानीकर्ताको कारोबार प्रभावित नहुने व्यवस्था गर्न ग्राहक खाता छुट्याउने प्रणाली, तत्काल ब्रोकर स्थानान्तरण संयन्त्र तथा क्षतिपूर्ति कोषको प्रभावकारी परिचालनसहित संरचनागत सुधार आवश्यक रहेको संघले जनाएको छ।
संघले ब्रोकरको कारबाहीका नाममा लगानीकर्ताको कारोबार नै रोकिँदा पुँजी बजारप्रतिको विश्वासमा असर पर्न सक्ने भन्दै सम्बन्धित नियामक तथा निकायलाई सचेत गराएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)




 (3) (1).gif)









प्रतिक्रिया