NIMB Header 2
Prabhu Mahalaxmi

पुँजीबजारमा नयाँ प्रडक्ट ल्याएर उत्साह बढाउनुपर्छ : सेबोन अध्यक्ष भट्ट

United Ajod
  • BFIS News
  • 2026 Aug 20 15:01
पुँजीबजारमा नयाँ प्रडक्ट ल्याएर उत्साह बढाउनुपर्छ : सेबोन अध्यक्ष भट्ट
IME LIFE

काठमाडौं, भदौ ४ गते । नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष डा. गोपालप्रसाद भट्टले नेपालको पुँजीबजारमा नयाँ प्रडक्ट ल्याएर लगानीकर्तामा उत्साह बढाउनुपर्नेमा जोड दिएका छन्।

 

Nepal Life
NIMB

स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालले बुधबार आयोजना गरेको पुँजीबजारसम्बन्धी अन्तर्क्रिया कार्यक्रममा बोल्दै अध्यक्ष भट्टले सेबोनले अब क्यास तथा क्रेडिट कारोबारलाई व्यवस्थित गर्ने नीति अवलम्बन गर्ने बताए।

उनले आउँदै गरेको मार्जिन कारोबार सुविधाले अहिलेको क्रेडिट कारोबारलाई थप व्यवस्थित र सुधार गर्ने बताए। सेबोनले पुँजीबजारसँग सम्बन्धित विभिन्न मार्गदर्शन जारी गर्ने तयारी गरिरहेको जानकारी दिँदै उनले लगानीकर्ताको हित, जोखिममा आधारित नियमन तथा पुँजीबजारमा संस्थागत सुशासनलाई प्राथमिकता दिइने बताए।

प्राथमिक तथा दोस्रो बजारमा सुधार गर्ने विषयमा सेबोनले विशेष जोड दिएको उनको भनाइ थियो।

कार्यक्रमको सभापतित्व गरेका एसोसिएसनका अध्यक्ष सागर ढकालले सेबोनमा रहेका २०–२२ वर्ष पुराना ऐन तथा कानुनलाई समयअनुसार परिमार्जन गर्नुपर्ने बताए। नयाँ नेतृत्व आएपछि आफूहरूले अपेक्षा गरेभन्दा बढी काम भएको उल्लेख गर्दै उनले ‘अटो ईडीआईएस’को व्यवस्था ल्याउनसमेत सेबोनलाई सुझाव दिए।

कार्यक्रममा एसोसिएसनका उपाध्यक्ष नितेशकुमार अग्रवालले पुँजीबजार विकाससम्बन्धी मार्गचित्र प्रस्तुत गरेका थिए।

कार्यक्रमको समापन गर्दै नेपाल उद्योग वाणिज्य महासंघको पुँजीबजार फोरमका सभापति तथा पूर्वअध्यक्ष प्रियराज रेग्मीले सेबोन अध्यक्षको धारणा स्पष्ट भएकाले सोहीअनुसार अघि बढ्नुपर्ने बताए। शेयर बजारमा सबैभन्दा महत्वपूर्ण पक्ष लगानीकर्ता र उनीहरूको विश्वास रहेको उल्लेख गर्दै उनले ब्रोकर व्यवसायलाई आधुनिक र सम्मानित बनाउनुपर्नेमा जोड दिए।

कार्यक्रममा सेबोन अध्यक्ष भट्टसहित बोर्डको व्यवस्थापन टोली तथा ८० भन्दा बढी ब्रोकर कम्पनीका प्रतिनिधिको सहभागिता थियो। कार्यक्रमको सञ्चालन एसोसिएसनका महासचिव भक्तिराम घिमिरेले गरेका थिए।

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया