NIMB Header 2
Nepal Life

ऋणपत्र बजार विस्तार गर्न नयाँ नियमावलीको मस्यौदा, ७ दिनभित्र सुझाव दिन बोर्डको आग्रह

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Aug 20 21:51
ऋणपत्र बजार विस्तार गर्न नयाँ नियमावलीको मस्यौदा, ७ दिनभित्र सुझाव दिन बोर्डको आग्रह
United Ajod

काठमाडौं । नेपाल धितोपत्र बोर्डले पूँजी बजारको बृहत्तर सुधार तथा ऋणपत्र बजारको विस्तार गर्ने उद्देश्यले ‘ऋणपत्र दर्ता तथा निष्काशन नियमावली, २०८३’ को मस्यौदा सार्वजनिक गरेको छ। बोर्डले मस्यौदामाथि सरोकारवालाबाट राय, सुझाव तथा प्रतिक्रिया माग गरेको हो।

Nepal Life
NIMB

नेपालको पूँजी बजारलाई हालको इक्विटी केन्द्रित अवस्थाबाट बहु–उत्पादनमा आधारित बजारमा रूपान्तरण गर्ने लक्ष्यअनुसार नयाँ नियमावलीको मस्यौदा तयार गरिएको बोर्डले जनाएको छ। ‘नेपालको पूँजी बजार विकास मार्गचित्र, २०८३’ ले पनि ऋणपत्रलगायतका वित्तीय उपकरणको विकासमार्फत पूँजी बजारलाई थप विविधिकृत बनाउने लक्ष्य अघि सारेको छ।

बोर्डले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा संस्थागत ऋणपत्र बजारको विकासलाई प्राथमिकतामा राखेको थियो। संस्थागत ऋणपत्र बजार विस्तार हुँदा पूँजी बजारको गहिराइ र तरलता बढ्नुका साथै लगानी तथा जोखिम व्यवस्थापनका विकल्पसमेत विस्तार हुने अपेक्षा गरिएको छ।

प्रस्तावित नियमावलीले ऋणपत्र बजारलाई थप विविधिकृत, प्रतिस्पर्धी र पारदर्शी बनाउने लक्ष्य राखेको छ। हाल मुख्यतः बैंक तथा वित्तीय संस्थाले मात्र ऋणपत्र निष्काशन गर्दै आएको अवस्थामा अन्य योग्य संगठित संस्थालाई समेत दीर्घकालीन वित्तीय स्रोत परिचालन गर्न सक्ने व्यवस्था गर्न कानुनी प्रावधान परिमार्जन गरिएको बोर्डले जनाएको छ।

अन्तर्राष्ट्रिय असल अभ्यासलाई आधार बनाएर तयार गरिएको मस्यौदालाई बोर्डको कानून प्रवलीकरण समितिले आवश्यक परिमार्जनसहित तयार पारेको हो। नियमावलीलाई थप प्रभावकारी, व्यावहारिक र समयानुकूल बनाउन सार्वजनिक छलफलका लागि मस्यौदा अघि सारिएको बोर्डले जनाएको छ।

बोर्डका अनुसार मस्यौदामाथि सरोकारवालाले सूचना प्रकाशित भएको मितिले सात दिनभित्र आफ्ना राय, सुझाव वा प्रतिक्रिया बोर्डको आधिकारिक इमेल [email protected] मा पठाउन सक्नेछन्।

प्राप्त सुझावहरूको विस्तृत अध्ययन तथा विश्लेषणपछि नियमावलीलाई अन्तिम रूप दिइने बोर्डले जनाएको छ। नियमावलीका मुख्य विशेषता, संक्षिप्त विवरण तथा मस्यौदाको पूर्ण पाठ बोर्डको आधिकारिक वेबसाइटमा उपलब्ध गराइएको छ।

नयाँ व्यवस्था कार्यान्वयनमा आएपछि ऋणपत्र निष्काशन गर्ने संस्थाको दायरा विस्तार हुनुका साथै दीर्घकालीन वित्तीय स्रोत परिचालनका विकल्प बढ्ने अपेक्षा गरिएको छ। यसबाट नेपालको ऋणपत्र बजारलाई थप व्यवस्थित, पारदर्शी र गतिशील बनाउन सहयोग पुग्ने बोर्डको विश्वास छ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया