आकस्मिक रूपमा आउने केही घटनाले बीमा क्षेत्र पूरै आलोचनामा पर्ने अवस्था छ : फत्तबहादुर केसी
- BFIS News
- 2026 Aug 23 18:20
काठमाडौं । नेपाल बीमा प्राधिकरणका पूर्वअध्यक्ष फत्तबहादुर केसीले नेपालको बीमा क्षेत्रले समग्रमा राम्रो काम गरिरहेको भए पनि आकस्मिक रूपमा आउने केही घटनाले पूरै क्षेत्र आलोचनामा पर्ने अवस्था रहेको बताएका छन्।
रिसर्च इन्ष्टिच्युट अफ सर्भेयर इन इन्स्योरेन्स (RISI) को प्रथम वार्षिक साधारणसभा तथा प्रथम अधिवेशनलाई सम्बोधन गर्दै केसीले बीमा क्षेत्रको विकाससँगै यसका विभिन्न पक्षमा अनुसन्धानको आवश्यकता बढ्दै गएको बताए। सर्भेयरहरूको पहलमा स्थापना भएको RISI ले बीमा क्षेत्रका समस्या, चुनौती र अनुसन्धानमा आधारित विषयलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने उनको भनाइ छ।
“बीमा क्षेत्रलाई अझै परिमार्जित, विश्वसनीय र उन्नत बनाउन हरेक क्षेत्रबाट उत्तिकै महत्वपूर्ण भूमिका हुन्छ,” केसीले भने, “सर्भेयर साथीहरूको लामो समयको अनुभव र यस क्षेत्रमा देखिएका अवरोध तथा चुनौतीलाई आधार बनाएर अनुसन्धानतर्फ अघि बढ्ने प्रयास आफैँमा प्रशंसनीय छ।”
उनले RISI को उद्देश्य सफल बनाउन सर्भेयरहरूको पहल मात्र पर्याप्त नहुने भन्दै नेपाल बीमक संघ, बीमा कम्पनीहरू र नेपाल बीमा प्राधिकरणको पनि समान रूपमा महत्वपूर्ण भूमिका रहने बताए। प्राधिकरण, बीमक संघ र सर्भेयर संघबीच समन्वय गरी RISI लाई परिचालन गर्न सके अनुसन्धानको क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल गर्न सकिने उनको धारणा छ।
केसीले अनुसन्धानका लागि आवश्यक स्रोतसाधन जुटाउन पनि सम्बन्धित निकायबीच सहकार्य आवश्यक रहेको बताए। सीमित स्रोतसाधनलाई उपलब्धिमूलक बनाउन अनुसन्धानका विषयलाई प्राथमिकताका आधारमा छनोट गरी अघि बढाउनुपर्ने उनले उल्लेख गरे।
उनका अनुसार नेपालको बीमा क्षेत्रले समग्रमा राम्रो काम गरिरहेको भए पनि आकस्मिक रूपमा आउने केही घटनाले पूरै क्षेत्र आलोचनामा पर्ने अवस्था देखिन्छ। यस्तो अवस्थामा तथ्यमा आधारित अनुसन्धान र विश्लेषणले समस्या पहिचान तथा समाधानमा महत्वपूर्ण योगदान पुर्याउने उनको भनाइ छ।
केसीले २०७२ सालको भूकम्पलाई नेपालको बीमा क्षेत्र र सर्भेयरका लागि महत्वपूर्ण परीक्षाका रूपमा स्मरण गरे। त्यसबेला सर्भेयर तथा बीमा कम्पनीहरूको सहयोगमा दाबी भुक्तानी प्रक्रिया अघि बढाउँदा नेपालको बीमा क्षेत्रले आफ्नो क्षमता र विशिष्ट पहिचान स्थापित गर्न सफल भएको उनले बताए।
“भविष्यमा पनि त्यस्ता भवितव्य घटना नपर्लान् भन्न सकिँदैन। त्यसैले अनुसन्धान नियमित रूपमा भइरहनुपर्छ,” उनले भने।
नेपालको बीमा क्षेत्रलाई अनुसन्धानमुखी बनाउन नियामक निकाय, बीमा कम्पनी र स्वतन्त्र अनुसन्धान संस्थाहरू सबैले प्राथमिकता दिनुपर्नेमा केसीले जोड दिए। अहिले नियामक, बीमा कम्पनी तथा स्वतन्त्र अनुसन्धान संस्थासमेत अनुसन्धानको प्राथमिकतामा केही हदसम्म कमजोर रहेको उनको टिप्पणी छ।
अनुसन्धानमा आधारित निर्णय र कार्यान्वयनलाई संस्थागत गर्न सके बीमा क्षेत्रको समग्र कार्यसम्पादनमा सुधार आउने उनले विश्वास व्यक्त गरे। “रिसर्च बेस्ड डिसिजन र रिसर्च बेस्ड एक्सन भयो भने यसले पक्कै पनि सुधार ल्याउँछ,” केसीले भने।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)




 (3) (1).gif)








.jpg)

प्रतिक्रिया