NIMB Header 2
Nepal Life

बीमा अभिकर्तालाई भ्रामक प्रचारप्रसार नगर्न बीमा प्राधिकरणको निर्देशन

Sagarmatha Lumbini
  • BFIS News
  • 2026 Aug 24 14:52
बीमा अभिकर्तालाई भ्रामक प्रचारप्रसार नगर्न बीमा प्राधिकरणको निर्देशन
United Ajod

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनी तथा बीमा अभिकर्ताले अन्य संस्थाको व्यवसायमा प्रतिकूल असर पर्ने गरी गलत, भ्रामक र अतिरञ्जित प्रचारप्रसार गरेको पाइए कारबाही गर्ने चेतावनी दिएको छ।

Nepal Life
NIMB

प्राधिकरणले सोमबार जारी गरेको ध्यानाकर्षण पत्रमार्फत इजाजतपत्र प्राप्त सम्पूर्ण बीमा अभिकर्ता तथा सम्बन्धित बीमा कम्पनीलाई बीमा ऐन, २०७९ र बीमा अभिकर्तासम्बन्धी निर्देशन, २०८३ मा तोकिएको आचारसंहिता पूर्णरूपमा पालना गर्न निर्देशन दिएको हो।

प्राधिकरणका अनुसार विभिन्न संस्थाको व्यवसायमा प्रतिकूल असर पर्ने गरी बीमासम्बन्धी गलत तथा भ्रामक प्रचारप्रसार भइरहेको भन्दै उजुरी तथा गुनासो प्राप्त भएका छन्। त्यस्ता गतिविधिप्रति प्राधिकरणको गम्भीर ध्यानाकर्षण भएको पत्रमा उल्लेख छ।

बीमा अभिकर्तासम्बन्धी निर्देशन, २०८३ को दफा १९ अन्तर्गत रहेको बीमा अभिकर्ताको आचारसंहिताको अनुसूची–१ को बुँदा २(ज) मा भ्रामक प्रचारप्रसार गर्न नहुने व्यवस्था छ। उक्त व्यवस्थाअनुसार आफू बीमा अभिकर्ता नभएको कुनै पनि बीमक वा आफूले प्रतिनिधित्व गर्ने बीमकको क्षमताबारे गलत वा अतिरञ्जित प्रचारप्रसार गर्न पाइँदैन।

प्राधिकरणले उक्त कानुनी व्यवस्था विपरीत हुने कुनै पनि किसिमका भ्रामक, अतिरञ्जित तथा अनधिकृत प्रचारप्रसार तत्काल बन्द गर्न निर्देशन दिएको छ। निर्देशनको पालना गर्न इजाजतपत्र प्राप्त बीमा कम्पनी तथा सम्बन्धित बीमा मध्यस्थकर्तालाई समेत प्राधिकरणले सचेत गराएको छ।

त्यसैगरी, भविष्यमा यस्ता गतिविधि भएको पाइएमा प्रचलित कानूनबमोजिम कारबाही गरिने प्राधिकरणले स्पष्ट पारेको छ। प्राधिकरणको मध्यस्थकर्ता व्यवस्थापन शाखाले २०८३ भदौ ८ गते जारी गरेको उक्त पत्रको बोधार्थ इजाजतपत्र प्राप्त सबै बीमकलाई समेत पठाइएको छ।

 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया