रसुवामा चिनियाँ क्षेत्रबाट आएको अकास्मात् बाढीले ठूलो क्षति, सेनाको हेलिकप्टर खटियो उद्दारमा
- BFIS News
- 2026 Aug 26 11:02
काठमाडौं । रसुवाको टिमुरे र स्याफ्रुबेसी क्षेत्रमा चीनको तिब्बततर्फबाट भोटेकोशी नदीमा अकास्मात् ठूलो बाढी आएपछि व्यापक क्षति भएको छ। बाढीका कारण टिमुरेस्थित भन्सार कार्यालयसहित आसपासका क्षेत्रमा क्षति पुगेको छ भने तल्लो तटीय क्षेत्रमा समेत जोखिम बढेको छ।
रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीका अनुसार गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरे र वडा नम्बर ५ स्याफ्रुबेसी क्षेत्रमा बाढीले ठूलो क्षति पुर्याएको छ। उनले चिनियाँ क्षेत्रबाट भोटेकोशीमा अकल्पनीय रूपमा ठूलो बाढी आएको जानकारी दिए।
भन्सार विभागका महानिर्देशक खेमलाल भुसालका अनुसार टिमुरे क्षेत्रमा बाढी आएको जानकारी त्यहाँ कार्यरत कर्मचारीले बुधबार बिहान ८ बजे दिएका थिए। बाढीपछि कार्यालयमा रहेका कर्मचारीमध्ये केही सम्पर्कमा आए पनि सबैसँग सम्पर्क हुन नसकेको उनले बताए। हालसम्म ६/७ जना कर्मचारी सम्पर्कमा रहेको जानकारी प्राप्त भएको छ।
बाढीको जोखिमलाई मध्यनजर गर्दै रसुवा प्रशासनले तल्लो तटीय क्षेत्रका जिल्लालाई समेत सतर्क गराएको छ। सहायक प्रमुख जिल्ला अधिकारी अधिकारीले नुवाकोट र धादिङ प्रशासनलाई समेत जानकारी गराइएको बताए। उनले बाढीको अवस्था अत्यन्त ठूलो र अकल्पनीय रहेको जनाउँदै तल्लो तटीय क्षेत्रमा थप जोखिम हुन सक्ने संकेत गरेका छन्।
यसैबीच, बाढीबाट प्रभावित क्षेत्रमा तत्काल उद्धार तथा राहत कार्य अघि बढाउन सरकारले सुरक्षा निकाय परिचालन गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको बाढीको अवस्थाबारे छलफल गर्न विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बोलाएका छन्। बैठक बुधबार बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने प्रधानमन्त्रीका प्रेस विज्ञ दीपा दाहालले जानकारी दिइन्।
त्यसअघि सिंहदरबारस्थित गृह मन्त्रालयमा गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक बसेको छ। बैठकले प्रभावित क्षेत्रको अवस्था, उद्धार तथा राहत व्यवस्थापन र सम्भावित जोखिमबारे आवश्यक निर्णय गर्नेछ।
प्रधानमन्त्री शाहको निर्देशनमा नेपाली सेनाका दुईवटा हेलिकप्टर मेडिकल टिमसहित प्रभावित क्षेत्रमा पठाइएको छ। साथै, निजी कम्पनीका हेलिकप्टरलाई समेत उद्धार तथा खोजी कार्यका लागि तयारी अवस्थामा राखिएको छ।
नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतका अनुसार उद्धारका लागि दुईवटा सैनिक हेलिकप्टर टिमुरेतर्फ प्रस्थान गरिसकेका छन्। त्रिशूली र धुन्चेमा रहेका सेनाका बेसबाट थप जनशक्ति तथा आवश्यक स्रोतसाधन प्रभावित क्षेत्रतर्फ पठाउने काम भइरहेको छ।
बाढी प्रभावित तथा जोखिममा रहेका व्यक्तिको उपचारका लागि नेपाली सेनाको मेडिकल टिमसमेत परिचालन गरिएको छ। मेडिकल टिम आवश्यक उपचारका लागि त्रिशूली अस्पतालमा रहने गरी प्रभावित क्षेत्रतर्फ जाने क्रममा रहेको सेनाले जनाएको छ।
बाढीबाट भएको क्षतिको पूर्ण विवरण भने तत्काल प्राप्त हुन सकेको छैन। उद्धार तथा खोजी कार्य अघि बढ्दै जाँदा मानवीय तथा भौतिक क्षतिको विस्तृत विवरण आउने अपेक्षा गरिएको छ।
यसैबीच, प्रशासनले भोटेकोशीको तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन र सम्भावित जोखिमबाट जोगिन सुरक्षित स्थानतर्फ जान आग्रह गरेको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)




 (3) (1).gif)









प्रतिक्रिया