बाढीपीडित बीमितलाई दाबी प्रक्रियामा सहजीकरण गर्न सन नेपाल अभिकर्ता संघको आह्वान
- BFIS News
- 2026 Aug 30 11:31
काठमाडौं। पेशागत बीमा अभिकर्ता संघ नेपाल, वीमक समिति सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको केन्द्रीय समितिले रसुवा, नुवाकोट र धादिङलगायत क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित बीमित तथा उनीहरूका परिवारलाई बीमा दाबी प्रक्रियामा आवश्यक सहजीकरण गर्न देशभरका अभिकर्तालाई आग्रह गरेको छ।
संघले २०८३ भदौ १० गते जारी गरेको आग्रहमा प्राकृतिक विपद्का कारण तीव्र बहावमा आएको भीषण बाढीबाट स्थानीय बासिन्दासँगै व्यापार, व्यवसाय, रोजगारी, पर्यटन, धार्मिक तथा अन्य प्रयोजनका लागि ती क्षेत्रमा पुगेका देशका विभिन्न जिल्लाका व्यक्तिसमेत प्रभावित भएको जनाएको छ।
बाढीका कारण धेरै परिवारले घरबार, सम्पत्ति तथा आफन्त गुमाउनुपरेको उल्लेख गर्दै संघले प्रभावित परिवारप्रति गहिरो दुःख व्यक्त गरेको छ। विपद्का क्रममा बीमा पोलिसी, नागरिकता लगायतका महत्वपूर्ण कागजात बगाएको वा नष्ट भएको तथा कतिपय घटनामा शवसमेत फेला पार्न कठिनाइ भएको संघले जनाएको छ।
संघका अनुसार प्राकृतिक विपद्, मृत्यु, बेपत्ता, घरबारविहीन तथा महत्वपूर्ण कागजात नष्ट भएको जस्ता संवेदनशील अवस्थामा बीमा अभिकर्ताको भूमिका सामान्य बीमा बिक्रीभन्दा बढी महत्वपूर्ण हुन्छ। यद्यपि, अभिकर्ताले कम्पनीको तर्फबाट दाबीसम्बन्धी निर्णय गर्न वा नियमविपरीत कुनै आश्वासन दिन नहुने पनि स्पष्ट पारिएको छ।
यस्तो अवस्थामा अभिकर्ताले प्रभावित बीमितको प्रारम्भिक विवरण संकलन गरी कम्पनीलाई उपलब्ध गराउने, मृत्यु भएका बीमितका परिवारलाई आवश्यक दाबी प्रक्रियाबारे जानकारी दिने तथा सम्भव भएसम्म आवश्यक कागजात संकलनमा सहयोग गर्नुपर्ने संघले जनाएको छ।
त्यस्तै, बीमा पोलिसी वा अन्य महत्वपूर्ण कागजात बाढीले बगाएको अथवा नष्ट भएको अवस्थामा वैकल्पिक कागजात स्वीकार गर्न मिल्ने वा नमिल्ने विषयमा कम्पनीको निर्देशनअनुसार सहजीकरण गर्न अभिकर्तालाई आग्रह गरिएको छ।
शव फेला नपरेका घटनामा पनि प्रभावित परिवारप्रति संवेदनशील व्यवहार गर्दै उपलब्ध सरकारी तथा प्रहरी प्रमाण, घटनासम्बन्धी आधिकारिक विवरण र कम्पनीले स्वीकार गर्ने अन्य आवश्यक प्रमाण संकलनमा सहयोग गर्नुपर्ने संघको भनाइ छ।
संघले देशभरका सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका अभिकर्तालाई आफ्ना बीमित तथा उनीहरूका परिवारको अवस्था बुझ्न विशेष पहल गर्न अनुरोध गरेको छ। अभिकर्ताले फोन, प्रत्यक्ष भेटघाट, परिवारका सदस्य, स्थानीय प्रतिनिधि वा उपलब्ध अन्य माध्यमबाट बीमितसँग सम्पर्क गरी आवश्यक सहयोग तथा दाबी प्रक्रियामा तत्काल सहजीकरण गर्नुपर्ने उल्लेख गरिएको छ।
विपद्को अत्यन्त संवेदनशील परिस्थितिलाई मध्यनजर गर्दै दाबीसम्बन्धी प्रक्रिया यथासम्भव सरल र शीघ्र रूपमा अघि बढाउन आवश्यक भूमिका निर्वाह गर्न पनि अभिकर्तालाई आग्रह गरिएको छ।
संघले विपद्को समयमा प्रभावित बीमित तथा उनीहरूका परिवारले कम्पनीबाट प्राप्त गर्ने आर्थिक सहयोगले ठूलो राहत पुग्ने विश्वास व्यक्त गरेको छ। साथै, कम्पनी र अभिकर्ताले बीमित तथा परिवारको साथमा उभिएर गर्ने सहयोगले बीमा क्षेत्रप्रतिको विश्वास थप बलियो बन्ने अपेक्षा गरिएको छ।
संघले भनेको छ, “बीमा केवल आर्थिक सुरक्षा मात्र नभई विपद्को समयमा भरोसाको आधार पनि हो।” आग्रहपत्रमा संघका अध्यक्ष हरि प्रसाद निरौला र सचिव राजु श्रेष्ठले हस्ताक्षर गरेका छन्। साथै, बेपत्ता व्यक्तिहरूको सकुशल खोजी तथा उद्धार कार्य सफल होस् भन्ने कामना पनि संघले गरेको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)




 (3) (1).gif)










प्रतिक्रिया