प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रभु महालक्ष्मी लाइफको ५१ लाख सहयोग
- BFIS News
- 2026 Sep 02 15:41
काठमाडौं, भदौ १७ गते। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। कम्पनीले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरेको हो।
कम्पनीका सञ्चालक समिति अध्यक्ष संझना अर्याल, सञ्चालक समिति सदस्यहरू वीरेन्द्रजंग पाण्डे र शम्सेर पराजुली तथा प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले मंगलबार अर्थ मन्त्रालयमा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई ५१ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्।
भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा तथा चितवनलगायत नदी तटीय क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ। बाढी र डुबानका कारण नागरिकको मृत्यु हुनुका साथै कैयौँ बेपत्ता भएका छन् भने बस्ती तथा पूर्वाधारमा क्षति पुगेपछि सयौँ परिवार विस्थापित भएका छन्।
विपद्बाट प्रभावित नागरिकको तत्कालीन उद्धार तथा राहतसँगै दीर्घकालीन पुनर्स्थापनाका लागि सरकारले अघि बढाएको अभियानमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कम्पनीले सहयोग गरेको हो। कम्पनीले विपद्को समयमा सरकार, सुरक्षा निकाय तथा स्थानीय संघसंस्थाबाट भइरहेको उद्धार तथा राहत प्रयासप्रति ऐक्यबद्धता जनाएको छ।
प्रभु महालक्ष्मी लाइफले स्थापनाकालदेखि नै प्राकृतिक विपद्, महामारी तथा अन्य राष्ट्रिय संकटका समयमा सहयोग गर्दै आएको जनाएको छ। कम्पनीका अनुसार ‘ढुकढुक हैन, ढुक्क होऔँ’ भन्ने मूल भावनाअनुरूप प्रदान गरिएको सहयोगले बाढी प्रभावितको खोज तथा उद्धार, खाद्यान्न, स्वास्थ्य उपचार र पुनर्स्थापनाका कार्यमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।
कम्पनीले बाढीमा परी ज्यान गुमाउने नागरिकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ। साथै, बेपत्ताको शीघ्र खोजी, घाइतेको स्वास्थ्य लाभ तथा उद्धार र राहत कार्यमा खटिएका सुरक्षाकर्मी, स्वयंसेवक तथा सम्बन्धित निकायप्रति आभार व्यक्त गरेको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)




 (3) (1).gif)









प्रतिक्रिया