भोटेकोशी बाढीपीडितका लागि सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ६२ लाख सहयोग
- BFIS News
- 2026 Sep 02 17:59
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको उद्धार, राहत तथा पुनःस्थापनाका लागि ६२ लाख रुपैयाँ सहयोग गरेको छ।
कम्पनीको सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत ५१ लाख रुपैयाँ र कर्मचारीहरूको एक दिनको तलबबाट संकलित ११ लाख रुपैयाँ गरी कुल ६२ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो।
कम्पनीको भदौ १६ गते अपराह्न ४ बजे बसेको सञ्चालक समितिको बैठकले सीएसआरअन्तर्गत ५१ लाख रुपैयाँ कोषमा जम्मा गर्ने निर्णय गरेको हो। उक्त रकमको चेक कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री र सञ्चालक समितिका अध्यक्ष मनोहरदास मुलले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका छन्।
त्यसैगरी, कम्पनीमा कार्यरत कर्मचारीहरूले आफ्नो एक दिनको तलब बराबरको ११ लाख रुपैयाँ सामूहिक रूपमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्ने निर्णय गरेका छन्।
भदौ १० गते रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा तथा चितवनलगायत नदी तटीय क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ। बाढीबाट प्रभावित परिवारको उद्धार, राहत र पुनःस्थापनाका लागि विभिन्न क्षेत्रबाट सहयोग जुटिरहेको छ।
कम्पनीले विपद्को यस कठिन परिस्थितिमा प्रभावित परिवारप्रति साथ र सहानुभूति व्यक्त गर्दै सहयोगलाई मानवीय दायित्वका रूपमा अघि बढाएको जनाएको छ। कम्पनीले स्थापनाकालदेखि नै प्राकृतिक विपद्, महामारी तथा अन्य राष्ट्रिय संकटका समयमा सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गर्दै आएको जनाएको छ।
बाढी प्रभावित परिवारको सुरक्षित उद्धार तथा घरबारविहीन परिवारको शीघ्र पुनःस्थापना अहिलेको प्राथमिक आवश्यकता रहेको कम्पनीले जनाएको छ। साथै, बाढीमा ज्यान गुमाउने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति कम्पनीले समवेदना प्रकट गरेको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)




 (3) (1).gif)









प्रतिक्रिया