निरन्तरको ठुला दाबी पछि निर्जीवन बीमा कम्पनीहरु विचमा मर्जरको बहस, अस्वस्थ प्रतिस्पर्धा घटाउन एकमत
- BFIS News
- 2026 Sep 03 13:19
काठमाडौं । एक पछि अर्को ठुला दाबी पछि निर्जीवन बीमा कम्पनीहरु विचमा मर्जरको बहस सुरु भएको छ। हरेक वर्ष अर्बौको दाबी व्यवस्थापन गर्नु पर्दा निर्जीवन बीमा कम्पनीहरु सबैभन्दा ठुलो दवावमा छन्। यस पटकको मध्य भोटेकोशीमा आएको बाढीका कारण खर्बौ रुपैयाँको दायित्व आकलन गरिएको छ। केहि कर्पोरेट बीमाका आधारमा मात्रै २५ अर्ब भन्दा माथिको दाबी आकलन गरिएकोमा व्यक्तिगत तवरका बीमाको दाबी आउन थाले सँगै खर्ब पुग्ने बीमकहरुको दाबी छ।
एकातिर दाबीको दवाव अर्बो तर्फ विश्वकै सस्तो बीमा शुल्कमा बीमा गर्नु पर्ने बाध्यताले बीमा कम्पनीहरु पछिल्ला दिनमा पुनर्बीमा कम्पनीबाटै उपेक्षामा पर्न थालेका छन्। यसले गर्दा बीमकहरु विचमा भित्र भित्रै मर्जरको बहस सुरु भएको एक जानकारीले बताए।
नेपालमा निर्जीवन बीमा कम्पनीहरूको संख्या, सीमित बजार र तीव्र प्रतिस्पर्धाका कारण कम्पनीहरूबीच पुनः मर्जरको बहस सुरु भएको स्रोतको दाबी छ। व्यवसाय विस्तारका क्रममा अत्यधिक छुट, क्यासब्याक तथा सस्तो दरमा बीमा व्यवसाय तान्ने प्रवृत्तिले कम्पनीहरूको जोखिम वहन क्षमता कमजोर बन्न सक्ने भन्दै मर्जरलाई विकल्पका रूपमा अघि सार्न थालिएको एक बीमकले बताए।
बीमा क्षेत्रमा पछिल्लो समय कम्पनीहरूबीचको प्रतिस्पर्धा अस्वस्थ बन्दै गएको देखिन्छ। व्यवसाय हासिल गर्न प्रिमियम दरमा छुट दिने, क्यासब्याक उपलब्ध गराउनेलगायतका अभ्यास बढ्दा बीमा व्यवसायको वास्तविक मूल्य निर्धारणमा समेत दबाब परेको छ। यसले कम्पनीको पुँजी तथा रिजर्भमा भार बढाउनुका साथै जोखिमअनुसार पुनर्बीमा गर्नसमेत कठिनाइ उत्पन्न हुने अवस्था देखिएको हो।
विशेषगरी हाइड्रोपावरलगायत उच्च जोखिमयुक्त व्यवसायमा पुनर्बीमा शुल्क निकै न्यून हुँदा पुनर्बीमा कम्पनीहरूले जोखिम लिन अनिच्छा देखाउने अवस्था रहेको बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको भनाइ छ। शुल्क बढाउँदा बीमा कम्पनी र व्यवसायीबाट विरोध हुने तथा घटाउँदा पुनर्बीमा प्लेसमेन्टमै समस्या आउने दोहोरो दबाब देखिएको छ।
यही कारण धेरै कम्पनीभन्दा केही ठूला र बलिया कम्पनी निर्माण गरी प्रतिस्पर्धालाई व्यवस्थित गर्ने विकल्पका रूपमा मर्जरलाई हेरिएको छ। कम्पनीको संख्या घटेपछि व्यवसायका लागि हुने अस्वस्थ प्रतिस्पर्धा कम हुने, जोखिम वहन क्षमता बढ्ने तथा आवश्यकताअनुसार प्रिमियम निर्धारण गर्न सहज हुने अपेक्षा गरिएको छ।
हाल नेपालमा १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनी सञ्चालनमा छन्। पछिल्लो समय सञ्चालनमा आएका कतिपय कम्पनीले मर्जरपछि पनि ठूला जोखिम पर्याप्त रूपमा बहन गर्न सक्ने क्षमता विकास गर्न नसकेको अवस्था रहेको क्षेत्रका सरोकारवालाहरूको बुझाइ छ।
सस्तो दरमा बीमा व्यवसाय हासिल गर्ने प्रतिस्पर्धा र त्यसलाई पुनर्बीमा गर्नुपर्ने बाध्यताबीच कम्पनीहरूको वित्तीय क्षमतामा दबाब बढ्न सक्ने जोखिम छ। त्यसैगरी ठूलो दाबी भुक्तानी गर्नुपर्ने अवस्थामा पुँजी तथा रिजर्भ पर्याप्त नहुन सक्ने चिन्ता पनि बढेको छ। यसले बीमा व्यवसायको दीर्घकालीन स्थायित्वका लागि कम्पनीको संख्या, पुँजी र जोखिम व्यवस्थापन क्षमताबीच सन्तुलन आवश्यक रहेको देखाउँछ।
नेपालमा बीमालाई आर्थिक सुरक्षाको माध्यमभन्दा पनि बाध्यात्मक खर्चका रूपमा हेर्ने प्रवृत्ति अझै कायम छ। बैंक तथा वित्तीय संस्था, सरकार वा अन्य निकायले अनिवार्य गरेपछि मात्रै बीमा गर्ने प्रवृत्ति हुँदा स्वेच्छिक बीमा बजार विस्तारमा चुनौती छ। यस्तो अवस्थामा सीमित बजारका लागि धेरै कम्पनीबीच हुने प्रतिस्पर्धाले व्यवसायको गुणस्तरभन्दा बजार हिस्सा हासिल गर्ने होडबाजीले कम्पनीहरु भित्र भित्रै खोक्रो भइरहेका छन्।
नेपाल बीमा प्राधिकरणले यसअघि सारेको मर्जरको नीतिपछि निर्जीवन बीमा क्षेत्रमा ६ वटा मर्जर सम्पन्न भइसकेका छन्। मर्जरपछि सगरमाथा लुम्बिनी, सिद्धार्थ प्रिमियर, हिमालयन एभरेष्ट, युनाइटेड अजोड, आईजीआई प्रुडेन्सियल र सानिमा जीआईसी जस्ता कम्पनी बनेका हुन्।
यसअघि सम्पन्न मर्जरपछि पनि कम्पनीहरूको संख्या र बजार प्रतिस्पर्धाको विषय पुनः बहसमा आएको हो। पछिल्लो दबाब कायम रहेमा थप कम्पनीहरू मर्जरमा जानुपर्ने अवस्था आउन सक्ने चर्चा बीमा क्षेत्रमा सुरु भएको छ। प्रारम्भिक अनौपचारिक छलफलमा कमजोर अवस्थामा रहेका करिब चार कम्पनीलाई मर्जरमा लैजानुपर्ने र सरकारी स्वामित्वको बीमा कम्पनीलाई समेत प्रक्रियामा समेट्नुपर्ने भन्दै बीमा प्राधिकरण भित्रै छलफल भइरहेको एक जानकारले बताए।
यद्यपि, यस विषयमा हालसम्म कुनै ठोस औपचारिक निर्णय वा प्रक्रिया सार्वजनिक भएको छैन। अहिलेको बहस मुख्यतः बीमा कम्पनीहरूको वित्तीय क्षमता, पुनर्बीमा व्यवस्थापन, जोखिम वहन क्षमता र बजारमा बढ्दो अस्वस्थ प्रतिस्पर्धालाई कसरी व्यवस्थित गर्ने भन्ने विषयमा केन्द्रित छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)




 (3) (1).gif)







प्रतिक्रिया