नास आईटीको चौथो साधारणसभा सम्पन्न, अध्यक्षमा दीपेन चापागाईं निर्वाचित
- BFIS News
- 2026 Sep 04 11:27
ललितपुर । नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनीज (नास–आईटी) को चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट उत्पन्न विपद्को अवस्थालाई ध्यानमा राख्दै संस्थाले साधारणसभा सीमित रूपमा सम्पन्न गरेको हो।
साधारणसभाको सुरुवातमा बाढी तथा विपद्का कारण ज्यान गुमाउनेहरूको सम्झनामा एक मिनेट मौनधारण गरिएको थियो। नास–आईटीले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवार तथा प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाएको छ।
विपद्को अवस्थालाई मध्यनजर गर्दै नास–आईटीले यसअघि तय गरेका अन्य कार्यक्रमहरू रद्द गरी साधारणसभाका औपचारिक तथा वैधानिक कार्यसूची मात्रै अघि बढाएको जनाएको छ।
साधारणसभाले आगामी तीन वर्ष अर्थात् सन् २०२६–२०२९ का लागि नौ सदस्यीय नयाँ बोर्ड निर्वाचित गरेको छ। नवनिर्वाचित बोर्डमा गार्डसिक्स नेपालका कन्ट्री डाइरेक्टर दीपेन चापागाईं, योङ इन्नोभेसन्सका कार्यकारी अध्यक्ष विभूषण बिष्ट, लिपफ्रग टेक्नोलोजीका प्रमुख सञ्चालन अधिकृत कैलाश राज विजयानन्द, एमिनेन्स वेजका प्रबन्ध निर्देशक नारायण कोइराला, क्विकफक्स कन्सल्टिङका सीईओ पल्लव पराजुली रहेका छन्।
त्यस्तै, बीआईसी टेक्नोलोजीकी सह–संस्थापक प्रार्थना साखः, जेस्पर आईटीका सीईओ सागर केसी, अलाया नेपालकी जेनेरल म्यानेजर श्रेया श्रेष्ठ र रिप्पलबाइट्स सोलुसन्सका सह–संस्थापक सुब्रत ज्ञवाली पनि बोर्ड सदस्यमा निर्वाचित भएका छन्।
नवनिर्वाचित नौ सदस्यीय बोर्डबाट सन् २०२६–२०२७ का लागि दीपेन चापागाईं अध्यक्षमा निर्वाचित भएका छन्। त्यस्तै, विभूषण बिष्ट उपाध्यक्ष, श्रेया श्रेष्ठ महासचिव र सागर केसी कोषाध्यक्ष चयन भएका छन्। बाँकी पाँच जना बोर्ड सदस्यले कार्यसमिति सदस्यका रूपमा जिम्मेवारी सम्हाल्नेछन्।
नवनिर्वाचित पदाधिकारी तथा बोर्डले नेपालको प्रविधि उद्योगको विकास र विस्तारका लागि नास–आईटीको दीर्घकालीन दृष्टिकोणलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ। नयाँ कार्यसमितिले सदस्य कम्पनी, सरकार, शैक्षिक क्षेत्र, विकास साझेदार तथा अन्तर्राष्ट्रिय सरोकारवालासँगको सहकार्यलाई थप मजबुत बनाउने जनाएको छ।
नेपालको प्रविधि उद्योगको विस्तारसँगै नेपाली प्रविधि कम्पनीहरूको अन्तर्राष्ट्रिय बजारमा उपस्थिति बढाउने विषयलाई पनि नयाँ कार्यसमितिले प्राथमिकतामा राख्ने जनाएको छ।
नास–आईटी नेपालका सफ्टवेयर तथा आईटी सेवा कम्पनीहरूको प्रतिनिधित्व गर्ने गैरनाफामूलक उद्योग संगठन हो। संस्थाले नीति पैरवी, उद्योग विकास, प्रतिभा तथा जनशक्ति विकास, अन्तर्राष्ट्रिय बजार पहुँच र सहकार्यका क्षेत्रमा काम गर्दै नेपालको प्रविधि इकोसिस्टमलाई सुदृढ बनाउने लक्ष्य राखेको छ। साथै, नेपाललाई विश्वसनीय विश्वव्यापी प्रविधि हबका रूपमा स्थापित गर्ने दिशामा समेत संस्थाले पहल गर्दै आएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)




 (3) (1).gif)









प्रतिक्रिया