विजय लघुवित्तले माग्यो प्रमुख कार्यकारी अधिकृत, १५ दिनभित्र आवेदन दिनुपर्ने
- BFIS News
- 2026 Sep 04 11:46
काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि दरखास्त आह्वान गरेको छ। राष्ट्रियस्तरको ‘घ’ वर्गको लघुवित्त वित्तीय संस्थाका रूपमा नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त संस्थाले शुक्रबार, २०८३ भदौ १९ गते पदपूर्तिसम्बन्धी सूचना प्रकाशित गर्दै योग्य नेपाली नागरिकबाट आवेदन माग गरेको हो।
संस्थाले कार्यकारी तहअन्तर्गत एक जना सीईओ नियुक्त गर्न लागेको हो। विज्ञापन नम्बर ०५/०८३/८४ अन्तर्गत खुलाइएको उक्त पदमा आवेदन सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र पेश गर्नुपर्नेछ। छनोट हुने सीईओले संस्थाको केन्द्रीय कार्यालय धुलिखेल–३, कार्यापलाङ्कोबाट जिम्मेवारी सम्हाल्नेछन्।
सीईओ पदका लागि मान्यता प्राप्त शैक्षिक संस्थाबाट तोकिएका विषयमध्ये कुनै एकमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्नेछ। चार्टर्ड एकाउन्टेन्सी, तथ्यांकशास्त्र, व्यवस्थापन, बैंकिङ, वित्तीय अर्थशास्त्र, मौद्रिक अर्थशास्त्र, वाणिज्य, लेखाशास्त्र, व्यवसाय प्रशासन, सार्वजनिक प्रशासन, कानून वा सोसरहका विषयमा स्नातकोत्तर उपाधि हासिल गरेका उम्मेदवारले आवेदन दिन सक्नेछन्।
त्यसैगरी, बैंक तथा वित्तीय संस्थामा अधिकृत वा सोभन्दा माथिल्लो तहमा कम्तीमा १० वर्षको कार्यानुभव अनिवार्य गरिएको छ। लघुवित्त वित्तीय संस्थामा प्रमुख कार्यकारी अधिकृतका रूपमा काम गरिसकेका उम्मेदवारलाई विशेष प्राथमिकता दिइने संस्थाले जनाएको छ।
आवेदन दिने उम्मेदवारको उमेर दरखास्त बुझाउने अन्तिम मितिसम्म ५५ वर्ष ननाघेको हुनुपर्नेछ। छनोट प्रक्रियाका क्रममा कम्प्युटर तथा सूचना प्रविधिसम्बन्धी ज्ञानसमेत मूल्यांकन गरिनेछ।
सीईओ पदका लागि आवेदन दिने उम्मेदवारले शैक्षिक तथा व्यावसायिक विवरणसँगै संस्थाको भावी दिशासम्बन्धी प्रस्तावसमेत पेश गर्नुपर्नेछ। उक्त प्रस्तावमा नेपालको लघुवित्त क्षेत्रको वर्तमान अवस्था, विद्यमान चुनौती तथा समस्याको समाधानका उपाय समेट्नुपर्नेछ। प्रस्ताव २ हजार ५०० शब्दभन्दा बढीको हुन नहुने व्यवस्था गरिएको छ।
आवेदकले हस्ताक्षर गरिएको निवेदन, हालसालै खिचिएको पासपोर्ट साइजको फोटो, उच्चतम शैक्षिक योग्यताको प्रमाणपत्र, नेपाली नागरिकताको प्रतिलिपि, कार्यानुभव प्रमाणित हुने कागजात र एक प्रति व्यक्तिगत विवरण (सीभी) पेश गर्नुपर्नेछ। विदेशी शैक्षिक संस्थाबाट हासिल गरिएको शैक्षिक योग्यताको हकमा समकक्षता प्रमाणपत्रसमेत पेश गर्नुपर्नेछ। आवेदन [email protected] इमेलमार्फत सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र पठाउनुपर्नेछ।
सीईओ छनोट प्रक्रिया विभिन्न चरणमा अघि बढाइने भएको छ। पहिलो चरणमा शैक्षिक योग्यता, कार्यानुभव र पेश गरिएको प्रस्तावका आधारमा उम्मेदवारको संक्षिप्त सूची तयार गरिनेछ।
संक्षिप्त सूचीमा परेका उम्मेदवारले आफूले पेश गरेको प्रस्तावमाथि प्रस्तुति दिनुपर्नेछ। त्यसपछि प्रस्तुति र अन्तर्वार्तामा गरेको प्रदर्शनका आधारमा अन्तिम छनोट गरिने संस्थाले जनाएको छ। प्रस्तुतीकरणको मिति तथा समय संस्थाको वेबसाइट र उम्मेदवारको इमेलमार्फत जानकारी गराइनेछ।
सीईओको मासिक पारिश्रमिक तथा अन्य सुविधा सञ्चालक समितिसँगको आपसी सहमतिमा निर्धारण गरिनेछ। त्यसका लागि नेपाल राष्ट्र बैंकको ‘सीईओको पारिश्रमिक, भत्ता तथा अन्य सुविधा सम्बन्धी मार्गदर्शन, २०८३’ बमोजिम व्यवस्था लागू हुने संस्थाले जनाएको छ। प्राप्त आवेदनलाई पूर्ण वा आंशिक रूपमा, कारण खुलाएर वा नखुलाई, रद्द गर्ने अधिकार संस्थामा सुरक्षित रहने सूचनामा उल्लेख छ।
‘Banking with Happiness’ नाराका साथ सञ्चालनमा रहेको विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको केन्द्रीय कार्यालय धुलिखेल–३, कार्यापलाङ्कोमा रहेको छ। संस्थाले सीईओ पदका लागि योग्य तथा अनुभवी व्यावसायिक व्यक्तिहरूलाई आवेदन दिन आह्वान गरेको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)




 (3) (1).gif)









प्रतिक्रिया