नियुक्तिलगत्तै उद्योगमन्त्रीको सक्रियता, महँगोमा ग्यास बेच्ने पसललाई ३ लाख जरिबाना
- BFIS News
- 2026 Sep 11 13:48
काठमाडौं । सरकारले तोकेको मूल्यभन्दा बढी रकम लिएर खाना पकाउने एलपी ग्यास बिक्री गर्ने काठमाडौँको एक किराना पसललाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ३ लाख रुपैयाँ जरिबाना गरेको छ।
नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार शाहको नियुक्तिपछि विभागले बजार अनुगमनलाई तीव्र बनाएको हो।
विभागका अनुसार कागेश्वरी मनोहरा नगरपालिका–६, चखडोलस्थित अनिल किराना पसलले निर्धारित मूल्यभन्दा बढीमा ग्यास बिक्री गरेको अनुगमनका क्रममा भेटिएको थियो।
सूचना अधिकारी अनिल किरातीका अनुसार सरकारले प्रतिसिलिन्डर एलपी ग्यासको मूल्य २ हजार ६० रुपैयाँ तोकेको अवस्थामा उक्त पसलले सुगम ग्यास २ हजार ६ सय रुपैयाँमा बिक्री गरिरहेको थियो। यसअनुसार उपभोक्ताबाट प्रतिसिलिन्डर ५ सय ४० रुपैयाँ अतिरिक्त असुल गरिएको पाइएको विभागले जनाएको छ।
तोकिएको मूल्यभन्दा बढी रकम असुल गरी ग्यास बिक्री गरेको पुष्टि भएपछि विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ र उपभोक्ता संरक्षण नियमावली, २०७६ अनुसार पसललाई ३ लाख रुपैयाँ जरिबाना गरेको हो।
एलपी ग्यासको कृत्रिम अभाव र कालोबजारीसम्बन्धी गुनासो बढिरहेका बेला विभागले बजार अनुगमनलाई निरन्तरता दिएको जनाएको छ। सरकारले निर्धारण गरेको मूल्यभन्दा बढी रकम असुल गर्ने व्यवसायीमाथि तत्काल कारबाही गरिने विभागको भनाइ छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1794925158_1200x100.gif)




 (3) (1).gif)


.gif)
.gif)










प्रतिक्रिया