NIMB Header 2
Nepal Life

भोटेकोशी बाढी : ३४ देशका ६०७ विदेशी पर्यटक सम्पर्कविहीन

Prabhu Mahalaxmi
  • BFIS News
  • 2026 Sep 15 13:16
भोटेकोशी बाढी : ३४ देशका ६०७ विदेशी पर्यटक सम्पर्कविहीन
United Ajod

काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण कैलाश मानसरोवर र गोसाइँकुण्ड भ्रमणमा रहेका ३४ देशका ६०७ विदेशी पर्यटक सम्पर्कविहीन भएका छन्।

Nepal Life
NIMB

पर्यटन विभागका अनुसार विभिन्न ट्राभल तथा टुर कम्पनीमार्फत ती क्षेत्रमा पुगेका पर्यटक बाढीपछि सम्पर्कमा नआएका हुन्।

विभागका सूचना अधिकारी सुरज घिमिरेका अनुसार सम्पर्कविहीन विदेशी पर्यटकमध्ये २६९ पुरुष, ३२९ महिला र नौ जनाको लिङ्ग विवरण खुल्न सकेको छैन। प्रभावितमध्ये सबैभन्दा ठूलो संख्या भारतीय नागरिकको रहेको छ। भारतका १८९ जना पर्यटक सम्पर्कविहीन छन्।

त्यसैगरी मलेसियाका ५५, युक्रेनका ५४, चीनका ३७, लाटभियाका ३३, अष्ट्रेलियाका ३३, बेलायतका ३२, क्यानडाका ३० र अमेरिकाका ६५ जना पर्यटक सम्पर्कविहीन भएको विभागको विवरण छ। अन्य देशका पनि विभिन्न संख्यामा पर्यटक प्रभावित भएका छन्।

बाढीपछि कैलाश मानसरोवर र गोसाइँकुण्ड क्षेत्रको भ्रमणमा रहेका नेपाली नागरिकसमेत प्रभावित भएका छन्। विभागका अनुसार १६१ पुरुष र २७ महिलासहित १८८ नेपाली पर्यटक सम्पर्कविहीन छन्। उनीहरूमा विदेशी पर्यटकका सहयोगी तथा ती क्षेत्रमा भ्रमणका लागि पुगेका नेपाली नागरिक रहेका छन्।

यसैबीच सरकारले बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएको छ। विभागका अनुसार हालसम्म ३१० विदेशी पर्यटकको उद्धार भइसकेको छ। उद्धार गरिएकामा २५८ पुरुष र ५२ महिला छन्।

बाढीपछि सम्पर्कविहीन भएका व्यक्तिमध्ये १३ जना भने पुनः सम्पर्कमा आएका छन्। उनीहरूमा तीन पुरुष, नौ महिला र एक जना अन्य समूहका रहेका छन्।

बेपत्ता तथा सम्पर्कविहीन पर्यटकको खोजी र उद्धारका लागि स्थानीय प्रशासन तथा सुरक्षा निकाय परिचालन भएका छन्। प्रभावित क्षेत्रमा उद्धार, खोजी तथा राहतसम्बन्धी कार्य जारी रहेको विभागले जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया