दूरसञ्चार सेवाको गुणस्तर सुधार्न प्राधिकरणलाई सञ्चारमन्त्रीको निर्देशन
- BFIS News
- 2026 Oct 01 13:03
काठमाडौं। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले टेलिफोन तथा इन्टरनेट सेवाको गुणस्तर सुधार गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएका छन्।
उपभोक्ताबाट सेवा कमजोर भएको गुनासो निरन्तर आइरहेको भन्दै उनले गुणस्तर परीक्षण, अनुगमन र नियमनलाई प्रभावकारी बनाउन प्राधिकरणका पदाधिकारीलाई निर्देशन दिएका हुन्।
सञ्चारसचिव राजेन्द्रकुमार पौडेल, प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेलगायत पदाधिकारीसँग भएको छलफलमा मन्त्री तिमिल्सिनाले दूरसञ्चार सेवाको अवस्था र गुणस्तर परीक्षणबारे जानकारी लिएका थिए। उनले प्राधिकरणलाई गुणस्तर अनुगमनसम्बन्धी नियमित प्रतिवेदन मन्त्रालयमा पेश गर्न पनि निर्देशन दिए।
मन्त्री तिमिल्सिनाले काठमाडौं उपत्यकाजस्तो क्षेत्रमा समेत टेलिफोन र इन्टरनेट सेवा कमजोर हुनु गम्भीर विषय भएको बताए। सेवा प्रदायकले तोकिएको गुणस्तर कायम गर्नुपर्ने र नियामक निकायले त्यसको प्रभावकारी अनुगमन गर्नुपर्ने उनको भनाइ थियो।
गुणस्तरसम्बन्धी मापदण्ड पालना नगर्ने सेवा प्रदायकमाथि कानुनअनुसार कारबाही गर्न निर्देशन दिँदै उनले गुणस्तर परीक्षणका लागि आवश्यक उपकरण र संयन्त्रको व्यवस्था गर्न पनि भने। समस्या आएपछि मात्र प्रतिक्रिया दिनेभन्दा प्राधिकरणले नियमित रूपमा सेवा परीक्षण गरी कमजोरी पहिचान गर्नुपर्ने उनको भनाइ थियो।
त्यस्तै, मन्त्री तिमिल्सिनाले फोरजी सेवाको पहुँच विस्तार र फाइभजी सेवा सञ्चालनका लागि स्पष्ट कार्ययोजना बनाउन प्राधिकरणलाई निर्देशन दिएका छन्। फोरजीको विस्तार, विद्यमान नेटवर्कको गुणस्तर सुधार तथा फाइभजी कार्यान्वयनका लागि आवश्यक तयारी र नियामकीय प्रक्रिया अघि बढाउन उनले भनेका छन्।
छलफलका क्रममा प्राधिकरणका पदाधिकारीले गुणस्तर परीक्षण तथा अनुगमनमा देखिएका प्राविधिक र व्यवस्थापकीय समस्याबारे जानकारी गराएका थिए। प्राधिकरणका अनुसार गुणस्तर परीक्षणका लागि आवश्यक सवारीसाधन तथा ड्राइभ टेस्ट उपकरण पर्याप्त छैनन्। विगतमा उपकरण खरिदका केही प्रक्रिया कानुनी विवादमा परेकाले पनि परीक्षण तथा अनुगमन प्रभावित भएको प्राधिकरणको भनाइ छ।
प्राधिकरणले दूरसञ्चार सेवाको गुणस्तरसम्बन्धी मापदण्ड जारी गरे पनि त्यसको प्रभावकारी कार्यान्वयनमा चुनौती रहेको जनाएको छ। हालको व्यवस्थाअनुसार सेवा प्रदायकले आफैँ ड्राइभ टेस्ट गरी प्रत्येक तीन महिनामा गुणस्तरसम्बन्धी प्रतिवेदन प्राधिकरणमा बुझाउनुपर्ने व्यवस्था छ। परीक्षणबाट गुणस्तर न्यून देखिएमा सम्बन्धित सेवा प्रदायकलाई सचेत गराउने गरिएको प्राधिकरणले जनाएको छ।
सेवा गुणस्तर कायम गर्न आवश्यक पूर्वाधारमा सेवा प्रदायकबाट पर्याप्त लगानी हुन नसकेको पनि प्राधिकरणले जनाएको छ। दूरसञ्चार सेवाको माग बढ्दै गए पनि नेटवर्क क्षमता तथा पूर्वाधार विस्तारमा सोहीअनुसार लगानी नहुँदा केही क्षेत्रमा गुणस्तरसम्बन्धी समस्या देखिएको प्राधिकरणको भनाइ छ। पर्याप्त फ्रिक्वेन्सी उपलब्ध भएमा सेवा गुणस्तर सुधारमा सहयोग पुग्ने जानकारीसमेत पदाधिकारीले दिएका थिए।
प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले देशभर दूरसञ्चार सेवाको नियमित अनुगमन तथा निरीक्षण भइरहेको बताए। न्यूनतम गुणस्तर मापदण्ड पूरा नगर्ने सेवा प्रदायकमाथि कानुनअनुसार कारबाही गरिने उनले जानकारी दिए।
उनका अनुसार टेलिफोन सेवाको गुणस्तरसम्बन्धी गुनासोका आधारमा सेवा प्रदायकलाई यसअघि सचेत गराउँदै आएको र अब कानुनी व्यवस्थाअनुसार आवश्यक कारबाही तथा जरिवाना प्रक्रिया अघि बढाइनेछ। प्राधिकरणले टेलिफोन तथा इन्टरनेट सेवाको गुणस्तर अनुगमनलाई थप व्यवस्थित बनाउने जनाएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)



 (3) (1).gif)










प्रतिक्रिया