आइएमईको २६ वर्षे यात्रा: रेमिट्यान्सदेखि डिजिटल रूपान्तरणसम्म
- BFIS News
- 2026 Oct 02 14:47
काठमाडौं । आइएमई लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले आइएमईको २६ वर्षे यात्रा नेपाली श्रमिकको वैदेशिक कमाइलाई औपचारिक, सुरक्षित र सहज माध्यमबाट नेपाल भित्र्याउने उद्देश्यबाट सुरु भएको बताएका छन्।
ढकालले २६ वर्षअघिको अवस्थालाई स्मरण गर्दै विदेशमा रहेका नेपालीले कमाएको रकम सुरक्षित रूपमा स्वदेशमा रहेका परिवारसम्म पुर्याउन भरपर्दो औपचारिक संयन्त्र निर्माण गर्नु राष्ट्रिय आवश्यकता रहेको बताए। उनका अनुसार यही आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले आइएमईले संस्थागत र वैधानिक रूपमा रेमिट्यान्स भित्र्याउने काम अघि बढाएको थियो।
“परदेशमा बगेको पसिनाको एक–एक थोपाको मूल्य सुरक्षित, मर्यादित र पूर्ण सम्मानका साथ नेपालमा प्रतीक्षारत आमा, बुबा, जीवनसाथी र सन्तानको हातसम्म पुगोस्, अनि त्यो राष्ट्रको समृद्धिसँग सिधै जोडियोस् भन्ने हाम्रो एकमात्र ध्येय थियो,” ढकालले भने।
उनका अनुसार निजी क्षेत्रको अगुवाइमा ठूलो र संवेदनशील वित्तीय सेवा सञ्चालन गर्ने क्रममा नीतिगत तथा व्यावसायिक चुनौतीहरू भए पनि संस्थाको उद्देश्य स्पष्ट थियो। रेमिट्यान्सलाई औपचारिक माध्यमबाट नेपाल भित्र्याउँदै त्यसलाई राष्ट्रिय अर्थतन्त्रसँग जोड्नु आइएमईको प्राथमिकता रहेको उनले बताए।
रेमिट्यान्समा संस्थागत भूमिका
ढकालले २६ वर्षको अवधिमा आइएमई नेपाली समाजमा रेमिट्यान्ससँग जोडिएको परिचित नामका रूपमा स्थापित भएको दाबी गरे। उनले आइएमई लिमिटेड र यससँग आबद्ध संस्थाहरूले नेपाल भित्रिने कुल रेमिट्यान्सको ५० प्रतिशतभन्दा बढी हिस्सा औपचारिक माध्यमबाट भित्र्याइरहेको बताएका छन्।
“यो केवल कुनै व्यावसायिक आँकडा मात्र होइन,” ढकालले भने, “यो त देश–विदेशमा रहनुहुने लाखौं आदरणीय नेपालीहरूको हामीप्रतिको अटूट विश्वास, आत्मीयता र भरोसाको जीवन्त प्रमाण हो।”
उनले आइएमईको विस्तारलाई केवल कम्पनीको व्यावसायिक उपलब्धिका रूपमा नभई वैदेशिक रोजगारीमा रहेका नेपाली र उनीहरूका परिवारसँग जोडिएको विश्वासको परिणामका रूपमा प्रस्तुत गरे।
प्रविधि र एआईतर्फ जोड
समयसँगै वित्तीय सेवाको स्वरूप परिवर्तन भइरहेको उल्लेख गर्दै ढकालले आइएमई पनि प्रविधिगत रूपान्तरणको अग्रपंक्तिमा रहेको बताए। आधुनिक डिजिटल प्रविधि र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को विकासलाई आत्मसात् गर्दै सेवा थप सहज, सुरक्षित, पारदर्शी र प्रविधिमैत्री बनाउने प्रतिबद्धता उनले व्यक्त गरे।
यस क्रममा उनले ‘खल्ती’ (Khalti by IME) जस्ता डिजिटल प्लेटफर्ममार्फत सेवाको पहुँच र प्रयोगलाई थप सरल बनाउने प्रयास भइरहेको बताए। आगामी दिनमा पनि डिजिटल माध्यममार्फत नयाँ सेवाहरू र नवप्रवर्तन ल्याउने उनको भनाइ छ।
सामूहिक योगदानको स्मरण
ढकालले आइएमईको २६ वर्षे उपलब्धिमा वैदेशिक रोजगारीमा रहेका नेपाली, नेपाल सरकार, नेपाल राष्ट्र बैंक तथा अन्य नियमनकारी निकाय, गैरआवासीय नेपाली, कर्मचारी र व्यावसायिक साझेदारहरूको योगदान रहेको बताए।
उनले भने, “यो ऐतिहासिक उपलब्धि हामी सबैको सामूहिक सहकार्यको प्रतिफल हो।”
विशेषगरी विदेशमा काम गरेर स्वदेशमा रकम पठाउने नेपालीको निरन्तर श्रमले अर्थतन्त्रमा योगदान पुर्याइरहेको उल्लेख गर्दै उनले उनीहरूप्रति कृतज्ञता व्यक्त गरे। साथै, नियामकीय मार्गदर्शन, कर्मचारीको निरन्तर मेहनत र विश्वभरका व्यावसायिक साझेदारको सहकार्यले संस्थाको यात्रालाई अघि बढाएको बताए।
वित्तीय समावेशितामा जोड
ढकालले आगामी दिनमा नेपालको अर्थतन्त्रलाई थप सबल बनाउने, वित्तीय सेवाको पहुँच देशका कुनाकाप्चासम्म विस्तार गर्ने र ‘डिजिटल नेपाल’ निर्माणको राष्ट्रिय अभियानमा योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरे।
“सपना देख्नु सृजनाको थालनी हो र त्यसलाई संस्थागत गरेर राष्ट्रको सेवामा समर्पित गर्नु निरन्तर समर्पण र निष्ठाको सुन्दर यात्रा हो,” उनले भने।
उनले आइएमईप्रति सेवाग्राही र सरोकारवालाको विश्वासलाई संस्थाको प्रमुख शक्ति भएको उल्लेख गर्दै उक्त विश्वासप्रति सदैव उत्तरदायी रहने प्रतिबद्धता पनि व्यक्त गरे।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)



 (3) (1).gif)










प्रतिक्रिया