५ प्रतिशतभन्दा बढी शेयर बिक्रीको १५ दिने पूर्वसूचना व्यवस्था संशोधन गर्न सेयरधनी संघको माग
- BFIS News
- 2026 Oct 05 13:23
काठमाडौं । नेपाल सेयरधनी संघले सूचीकृत कम्पनीका आधारभूत शेयरधनीले ५ प्रतिशत वा सोभन्दा बढी शेयर बिक्री गर्नुपूर्व १५ दिन अगाडि सार्वजनिक सूचना दिनुपर्ने व्यवस्थालाई संशोधन गर्न माग गरेको छ।
नेपाल धितोपत्र बोर्डले २०८३ भदौ ९ गते जारी गरेको पत्रको बुँदा नम्बर १ मा सूचीकृत कम्पनीका आधारभूत शेयरधनीले ५ प्रतिशत वा सोभन्दा बढी शेयर बिक्री गर्नुभन्दा १५ दिन अगाडि सार्वजनिक सूचना जारी गर्नुपर्ने व्यवस्था गरेको थियो।
संघले उक्त व्यवस्थाको मूल सिद्धान्तप्रति सहमति जनाए पनि यसको कार्यान्वयनको तरिकाप्रति आपत्ति जनाएको छ। संघका अनुसार यस्तो व्यवस्था दोस्रो बजारबाट शेयर खरिद गरी आधारभूत शेयरधनी बनेका लगानीकर्ताको हकमा समेत लागू हुँदा साना लगानीकर्ता प्रभावित हुने र बजारमा अनावश्यक अस्थिरता बढ्न सक्ने जोखिम छ।
संघले १५ दिने पूर्वसूचनाका कारण बजारमा हल्ला र मनोवैज्ञानिक दबाब बढ्न सक्ने जनाएको छ। विशेषगरी कुनै ठूलो शेयरधनीले शेयर बिक्री गर्ने सूचना सार्वजनिक हुँदा ‘ठूला लगानीकर्ता बजारबाट बाहिरिँदैछन्’ भन्ने मनोविज्ञान विकास हुनसक्ने र त्यसको असर राम्रो वित्तीय अवस्था भएका कम्पनीको शेयर मूल्यमा समेत पर्न सक्ने संघको भनाइ छ।
यस्तो अवस्थामा बजारमा उत्पन्न हुने हल्ला र अस्थिरताको प्रत्यक्ष असर साना तथा खुद्रा लगानीकर्तामा पर्ने संघले जनाएको छ।
संघले बजारमा पारदर्शिता आवश्यक रहेको स्वीकार गर्दै बजारलाई अस्थिर बनाउन सक्ने ठूलो परिमाणको संस्थागत तथा प्रवर्द्धक शेयर बिक्रीलाई पारदर्शिताको दायरामा राख्नुपर्नेमा जोड दिएको छ। संघका अनुसार संस्थागत तथा प्रवर्द्धक लगानीकर्ताबाट हुने ५ प्रतिशतभन्दा बढीको ठूलो परिमाणको शेयर बिक्रीबाट पारदर्शिताको व्यवस्था सुरु गरिनुपर्छ।
यसै आधारमा संघले नेपाल धितोपत्र बोर्डसँग २०८३ भदौ ९ गतेको पत्रको बुँदा नम्बर १ संशोधन गर्न माग गरेको छ।
संघले दोस्रो बजारबाट शेयर खरिद गरी आधारभूत शेयरधनी बनेका शेयरधनीको हकमा १५ दिन अगाडि सार्वजनिक सूचना दिनुपर्ने व्यवस्था लागू नहुने गरी निर्देशिका तत्काल संशोधन गर्न बोर्डसँग आग्रह गरेको छ। साथै, संशोधित व्यवस्थाबारे लगानीकर्तामाझ स्पष्ट धारणा सार्वजनिक गर्न पनि संघले माग गरेको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)



 (3) (1).gif)










प्रतिक्रिया