NIMB Header 2
Prabhu Mahalaxmi

बैंकिङ प्रणालीबाट थप ७० अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक, ६० दिनका लागि बोलकबोल आह्वान

United Ajod
  • BFIS News
  • 2026 Oct 09 11:26
बैंकिङ प्रणालीबाट थप ७० अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक, ६० दिनका लागि बोलकबोल आह्वान
IME LIFE

काठमाडौं। वित्तीय प्रणालीमा अधिक तरलताको अवस्था कायमै रहेपछि नेपाल राष्ट्र बैंकले बजारबाट थप ७० अर्ब रुपैयाँ प्रशोचन गर्ने भएको छ। केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत ६० दिनका लागि उक्त रकम उठाउन बैंक तथा वित्तीय संस्थासँग बोलकबोल प्रस्ताव माग गरेको हो।

Nepal Life
NIMB

राष्ट्र बैंकका अनुसार इच्छुक इजाजतपत्रप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले आज शुक्रबार अपराह्न ३ बजेसम्म अनलाइन प्रणालीमार्फत बोलकबोलमा सहभागी हुन सक्नेछन्। बोलकबोलबाट संकलन गरिने रकमको साँवा तथा आर्जित ब्याज आगामी मंसिर २३ गते भुक्तानी गरिनेछ। यस उपकरणको ब्याजदर भने सहभागी बैंक तथा वित्तीय संस्थाले प्रस्ताव गरेको दरका आधारमा निर्धारण हुनेछ।

पछिल्लो समय बैंकिङ प्रणालीमा निक्षेप संकलन उल्लेख्य रूपमा बढे पनि कर्जाको माग र विस्तार सोही अनुपातमा बढ्न सकेको छैन। फलस्वरूप बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम थुप्रिएको छ। यस्तो अवस्थामा अल्पकालीन ब्याजदरमा थप गिरावट आउन सक्ने भएकाले राष्ट्र बैंकले खुला बजार कारोबारमार्फत तरलता व्यवस्थापन गर्दै आएको छ।

विशेषगरी अन्तरबैंक ब्याजदरलाई ब्याजदर करिडोरको सीमाभित्र राख्न र मौद्रिक स्थिरता कायम गर्न केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ। यसअघि पनि विभिन्न चरणमा उक्त उपकरणमार्फत बजारबाट ठूलो परिमाणमा तरलता प्रशोचन गरिएको थियो।

राष्ट्र बैंकका अनुसार यसअघि निक्षेप संकलन उपकरणमार्फत बजारबाट खिचिएको करिब ७ खर्ब रुपैयाँ अझै परिपक्व हुन बाँकी छ। यसरी ठूलो रकम परिपक्व हुन बाँकी रहँदासमेत वित्तीय प्रणालीमा अधिक तरलताको दबाब कायम रहेपछि केन्द्रीय बैंकले थप ७० अर्ब रुपैयाँ उठाउन लागेको हो।

बजारमा रहेको अतिरिक्त तरलता अल्पकालीन रूपमा व्यवस्थापन गर्नुका साथै ब्याजदरमा सन्तुलन कायम राख्न यो कदमले सहयोग पुग्ने अपेक्षा गरिएको छ। यद्यपि, कर्जा विस्तारले अपेक्षित गति लिन नसक्नु र रेमिट्यान्स आप्रवाह बढ्नुजस्ता कारणले बैंकिङ प्रणालीमा अधिक तरलताको अवस्था अझै केही समय कायम रहन सक्ने देखिन्छ।

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया