स्टक एक्सचेञ्ज सुधार प्रक्रिया अघि बढाउन बोर्ड र नेप्सेबीच छलफल
- BFIS News
- 2026 Oct 16 11:05
काठमाडौं, असोज २९ । नेपालको धितोपत्र बजारलाई थप प्रभावकारी, पारदर्शी र आधुनिक बनाउने उद्देश्यले नेपाल धितोपत्र बोर्ड (सेबोन) र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का पदाधिकारीबीच छलफल भएको छ। छलफलमा नेप्सेको पुनर्संरचना, संस्थागत सुशासन, प्रविधि तथा कारोबार प्रणालीको सुधार र दोस्रो बजारमा लगानीका उपकरण तथा सेवाको विविधीकरणलाई प्राथमिकताका साथ अघि बढाउने विषयमा केन्द्रित रहेर विचारविमर्श भएको छ।
नेपाल सरकारले गठन गरेको नेप्सेको पुनर्संरचनासम्बन्धी सुझाव समिति, २०८२ ले पेस गरेको प्रतिवेदन कार्यान्वयन गर्ने तथा दोस्रो बजारको सञ्चालन र व्यवस्थापनलाई प्रभावकारी बनाउने विषयमा असोज २९ गते बोर्डको कार्यालयमा छलफल भएको हो। कार्यक्रममा बोर्डको अध्यक्षसहित उच्च व्यवस्थापन तथा नेप्सेको सञ्चालक समिति र उच्च व्यवस्थापनका पदाधिकारी सहभागी थिए।
छलफलमा नेप्सेको संस्थागत संरचना, स्वामित्व, सुशासन, जनशक्ति व्यवस्थापन, सूचना प्रविधि पूर्वाधार, कार्यप्रक्रिया र कारोबार प्रणालीमा सुधार गर्नुपर्ने विषयमा जोड दिइएको थियो। आधुनिक स्टक एक्सचेञ्ज सञ्चालनका लागि पर्याप्त पुँजी, दक्ष जनशक्ति र प्रविधिमा आधारित पूर्वाधार आवश्यक रहेको निष्कर्षसहित सुधारका विभिन्न पक्षमा छलफल गरिएको थियो।
बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्टले स्टक एक्सचेञ्ज सुधार प्रक्रियाको सुरुवातका रूपमा बोर्ड र नेप्सेका पदाधिकारीबीच पहिलोपटक यस्तो छलफल आयोजना गरिएको जानकारी दिए। उनले नेप्सेको पुँजी तथा स्वामित्वको पुनर्संरचना र दोस्रो बजारको सञ्चालन, व्यवस्थापन तथा उपकरण र सेवाको विविधीकरणसँग सम्बन्धित ३० भन्दा बढी विषयमा नियामकीय अधिकार प्रयोग गर्दै सुधारका काम अघि बढाउने बोर्डको कार्यदिशा रहेको उल्लेख गरे।
यसैगरी, नेप्सेका सञ्चालक समिति अध्यक्ष तथा अर्थ मन्त्रालयका सहसचिव नारायणप्रसाद रिसालले उक्त छलफललाई धितोपत्र बजार सुधारको नयाँ सुरुवातका रूपमा व्याख्या गरे। उनले पुनर्संरचनासम्बन्धी प्रतिवेदनमा उल्लेख गरिएका तत्काल कार्यान्वयन गर्न सकिने सुझावमा नेप्से केन्द्रित रहेको जानकारी दिए। नेप्सेको प्रविधि तथा प्रणाली, संस्थागत सुशासन, लगानीका उपकरण र सेवामा सुधार गर्ने प्रतिबद्धतासमेत उनले व्यक्त गरे।
छलफलका क्रममा बोर्डका उपकार्यकारी निर्देशक अम्बिका ओझा गुप्ताले नेप्से पुनर्संरचनासम्बन्धी प्रतिवेदनका सुझाव कार्यान्वयन, दोस्रो बजारको सञ्चालन तथा व्यवस्थापन प्रभावकारी बनाउने र धितोपत्र बजारका उपकरण तथा सेवाको विविधीकरणसम्बन्धी नियामकीय विषयमा प्रस्तुतीकरण गरे। प्रस्तुतीकरणमा बजार सुधारका लागि आवश्यक नियामकीय व्यवस्था र कार्यान्वयनका पक्षलाई प्राथमिकता दिइएको थियो।
नेप्सेको पुनर्संरचना र दोस्रो बजारको प्रभावकारी सञ्चालनले नेपालको पुँजी बजारमा लगानीका विकल्प विस्तार गर्न, कारोबार प्रणालीको विश्वसनीयता बढाउन र बजारको पारदर्शिता सुदृढ गर्न सहयोग पुग्ने बोर्डको अपेक्षा छ। प्रस्तावित सुधार प्रभावकारी रूपमा कार्यान्वयन भएमा बजारको संस्थागत क्षमता अभिवृद्धि हुनुका साथै लगानीकर्ताको विश्वास बढाउन र धितोपत्र बजारलाई आधुनिक तथा प्रतिस्पर्धी बनाउन योगदान पुग्ने अपेक्षा गरिएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)



 (3) (1).gif)

.gif)










प्रतिक्रिया