बिनोद चौधरी आईक्यापको स्थायी समितिमा निर्वाचित, आर्थिक विकासमा निजी क्षेत्रको भूमिका बढाउनुपर्नेमा जोड
- BFIS News
- 2026 Nov 05 18:05
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति बिनोद चौधरी एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलन (आईक्याप) को १३औँ महासभाबाट स्थायी समिति सदस्यमा निर्वाचित भएका छन्।
दक्षिण कोरियाको सियोलमा आयोजित महासभामा नेपाली कांग्रेसको प्रतिनिधित्व गर्दै सहभागी भएका चौधरीले नेपालको आर्थिक विकासलाई तीव्रता दिन निजी क्षेत्रलाई सशक्त बनाउनुपर्ने, लगानी आकर्षित गर्नुपर्ने, स्वदेशी उद्योगको विकास गर्नुपर्ने र नेपाली व्यवसायलाई विश्व बजारसँग जोड्नुपर्नेमा जोड दिएका छन्।
महासभालाई सम्बोधन गर्दै चौधरीले दक्षिण कोरियाको आर्थिक विकास मोडलबाट नेपालले महत्त्वपूर्ण पाठ सिक्न सक्ने बताए। विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने ब्रान्डको विकास, निजी क्षेत्रको सशक्तीकरण तथा सरकार र निजी क्षेत्रबीचको प्रभावकारी सहकार्य कोरियाको आर्थिक रूपान्तरणका महत्त्वपूर्ण आधार रहेको उनको भनाइ थियो।
उनले उद्यमशीलताका लागि अनुकूल वातावरण निर्माण गर्नु राज्यको प्रमुख दायित्व भएको उल्लेख गर्दै आर्थिक विकासमा सरकारले रणनीतिक तथा मार्गदर्शक भूमिका निर्वाह गर्नुपर्ने बताए।
त्यस्तै, उनले खुला बजार, आर्थिक उदारीकरण र भूमण्डलीकरणको महत्त्व औँल्याए। नेपालका युवाले उठाउँदै आएका भ्रष्टाचार नियन्त्रण, जवाफदेहिता, सुशासन र सीमित अवसरका विषयलाई सम्बोधन गर्न अर्थपूर्ण सुधार आवश्यक रहेको उनको भनाइ थियो।
युवाका लागि स्वदेशमै रोजगारी, उद्यमशीलताका अवसर र आधुनिक सीप विकासका कार्यक्रम विस्तार गर्नुपर्नेमा जोड दिँदै उनले पारदर्शिता र सुशासनलाई आर्थिक रूपान्तरणको आधार बनाउनुपर्ने बताए।
चौधरीले एसियाली मुलुकहरूबीच सुशासन, युवा सहभागिता, उद्यमशीलता, प्रविधिको जिम्मेवार प्रयोग र जलवायु परिवर्तनका विषयमा सहकार्य थप बलियो बनाउनुपर्ने धारणा पनि राखे।
हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण जोखिम बढ्दै गएको उल्लेख गर्दै उनले नेपालमा हालै आएको भोटेकोशी बाढीलाई गम्भीर चेतावनीका रूपमा लिनुपर्ने बताए। जलवायुजन्य चुनौतीको सामना गर्न कुनै एक देशको प्रयास पर्याप्त नहुने भन्दै उनले सामूहिक अन्तर्राष्ट्रिय पहल आवश्यक रहेकोमा जोड दिए।
यसैबीच, सियोलमा सम्पन्न आईक्यापको १३औँ महासभाबाट चौधरी स्थायी समिति सदस्यमा निर्वाचित भएका हुन्। स्थायी समितिले संस्थाका गतिविधि समन्वय गर्ने, नीतिगत विषयमा भूमिका निर्वाह गर्ने तथा आगामी कार्यदिशा तय गर्न महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्छ।
चौधरीको निर्वाचितले क्षेत्रीय राजनीतिक संवादमा नेपालको सहभागिता थप प्रभावकारी हुने अपेक्षा गरिएको छ। यसबाट नेपालको आर्थिक रूपान्तरण, समावेशी विकास, उद्यमशीलता र अन्तर्राष्ट्रिय सहकार्यका विषयलाई क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मञ्चमा उठाउने अवसरसमेत प्राप्त हुनेछ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1789623352_nimb_ezgif.com_video_to_gif_converter.gif)




 (3) (1).gif)


.gif)
.gif)








प्रतिक्रिया