Siddartha Bank
Prabhu Mahalaxmi

मुक्तिनाथ विकास बैंकमा डिजिटल सेवा विस्तार, अब घरबाटै कर्जा आवेदनको अवस्था हेर्न सकिने

Sanima Reliance
  • BFIS News
  • 2026 Nov 17 15:19
मुक्तिनाथ विकास बैंकमा डिजिटल सेवा विस्तार, अब घरबाटै कर्जा आवेदनको अवस्था हेर्न सकिने
United Ajod

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले ग्राहकलाई घरमै बसेर कर्जा आवेदनको अवस्था तथा प्रगति हेर्न सकिने सुविधा सञ्चालनमा ल्याएको छ। बैंकले डिजिटल बैंकिङ सेवालाई थप सहज, पारदर्शी र प्रविधिमैत्री बनाउने उद्देश्यले ‘लोन एप्लिकेसन ट्र्याकिङ’ (Loan Application Tracking) सेवा सुरु गरेको हो।

Siddartha Bank
EBL
Nepal Life

नयाँ सेवामार्फत ग्राहकले बैंकमा पेस गरेको कर्जा आवेदन कुन चरणमा पुगेको छ, कर्जा मूल्याङ्कन तथा स्वीकृति प्रक्रिया कहाँसम्म पुगेको छ र आवेदनसम्बन्धी पछिल्ला अपडेट के छन् भन्ने जानकारी अनलाइनबाटै प्राप्त गर्न सक्नेछन्।

यसका लागि ग्राहकले बैंकको आधिकारिक वेबसाइटमा गएर आफ्नो मोबाइल नम्बर र Loan Application Tracking ID प्रयोग गर्नुपर्नेछ। त्यसपछि जुनसुकै समय र स्थानबाट आफ्नो कर्जा आवेदनको अवस्था हेर्न सकिने बैंकले जनाएको छ।

यसअघि कर्जा आवेदनको प्रगति बुझ्न ग्राहक बैंकको शाखा कार्यालयमा पुग्नुपर्ने वा फोनमार्फत जानकारी लिनुपर्ने अवस्था थियो। नयाँ सेवाको सुरुवातसँगै ग्राहकले आफैँ डिजिटल माध्यमबाट आवेदनको अनुगमन गर्न सक्नेछन्। यसले ग्राहकको समय बचत गर्नुका साथै कर्जा प्रक्रियामा पारदर्शिता र सूचनामा सहज पहुँच बढाउने अपेक्षा गरिएको छ।

त्यसैगरी, कर्जा आवेदन स्वीकृत भएपछि सम्बन्धित ग्राहकलाई एसएमएस (SMS) नोटिफिकेसनमार्फत तत्काल जानकारी उपलब्ध गराउने व्यवस्था पनि बैंकले गरेको छ।

बैंकले पछिल्ला केही वर्षदेखि डिजिटल रूपान्तरण र निरन्तर नवप्रवर्तनलाई प्राथमिकतामा राख्दै सेवा तथा प्रक्रियालाई प्रविधिमैत्री बनाउँदै आएको छ। ग्राहकको बदलिँदो आवश्यकता र वित्तीय प्रविधिको विकासलाई आत्मसात् गर्दै बैंकले आफ्ना सेवाहरूलाई क्रमशः डिजिटल, छिटो, प्रभावकारी र ग्राहकमैत्री बनाउने रणनीति अवलम्बन गरेको जनाएको छ।

बैंकको मूल मन्त्र ‘जनता बैंकमा होइन, बैंक जनतामा जानु पर्छ’ लाई व्यवहारमा उतार्ने उद्देश्यअनुरूप डिजिटल माध्यमको अधिकतम उपयोग गरी ग्राहकलाई सहज, सुरक्षित र आधुनिक बैंकिङ सुविधा उपलब्ध गराउने प्रयास भइरहेको बैंकको भनाइ छ।

बैंकका अनुसार Loan Application Tracking सेवा ग्राहकलाई ‘Right Information at the Right Time’ अर्थात् सही समयमा सही सूचना उपलब्ध गराउने प्रतिबद्धताको निरन्तरता हो।

आगामी दिनमा पनि अत्याधुनिक प्रविधिको उपयोग गर्दै बैंकिङ सेवा तथा प्रक्रियालाई थप सशक्त, सहज, पारदर्शी र ग्राहकमैत्री बनाउने तथा नयाँ डिजिटल सेवा र सुविधाहरू विकास एवं विस्तार गर्ने बैंकले जनाएको छ।

शेयर गर्नुहोस

Sanima Reliance Life Insurance Company

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया