हिम पर्वत हाइड्रोपावरको आईपीओ मंसिर १८ देखि खुल्ने, सर्वसाधारणका लागि ३४ लाख ६४ हजार कित्ता निष्कासन गर्दै
- BFIS News
- 2026 Nov 25 10:50
काठमाडौं । हिम पर्वत हाइड्रोपावर लिमिटेडले मंसिर १८ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कुल ३४ लाख ६४ हजार ५०० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो।
कम्पनीको आईपीओमा मंसिर २३ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त अवधिमा मागअनुसार आवेदन नपरेमा निष्कासन अवधि पुस ३ गतेसम्म थप हुनेछ।
कम्पनीको जारी पुँजी १ अर्ब ६९ करोड रुपैयाँ रहेको छ। यसको ३५ प्रतिशत अर्थात् ५९ लाख १५ हजार कित्ता सेयर सर्वसाधारण समूहका लागि छुट्याइएको छ। यसमध्ये १० प्रतिशत अर्थात् १६ लाख ९० हजार कित्ता सेयर आयोजना प्रभावित दोलखा जिल्लाका स्थानीय बासिन्दालाई निष्कासन गरिएको थियो।
बाँकी २५ प्रतिशत अर्थात् ४२ लाख २५ हजार कित्ता सेयर सर्वसाधारणका लागि छुट्याइएको छ। यसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि १० प्रतिशत अर्थात् ४ लाख २२ हजार ५०० कित्ता सेयर निष्कासन गरिएको छ।
त्यस्तै, कम्पनीका कर्मचारीका लागि ३ प्रतिशत अर्थात् १ लाख २६ हजार ७५० कित्ता र सामूहिक लगानी कोषका लागि ५ प्रतिशत अर्थात् २ लाख ११ हजार २५० कित्ता सेयर छुट्याइएको छ। यी सबै समूहमा छुट्याइएको सेयर कटाएर बाँकी रहेको ३४ लाख ६४ हजार ५०० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागिएको हो।
आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ।
क्रेडिट रेटिङ अपग्रेड
यसैबीच, हिम पर्वत हाइड्रोपावरको इश्युअर रेटिङमा सुधार भएको छ। इक्रा नेपालले कम्पनीको क्रेडिट रेटिङलाई [ICRANP-IR] BB बाट बढाएर [ICRANP-IR] BB+ कायम गरेको छ।
रेटिङ अपग्रेडले कम्पनीको वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमतासम्बन्धी जोखिम प्रोफाइलमा तुलनात्मक सुधार भएको संकेत गर्छ। BB+ रेटिङले वित्तीय दायित्व समयमै पूरा गर्न नसक्ने अर्थात् डिफल्ट हुने जोखिम मध्यम स्तरमा रहेको जनाउँछ।
२५.५ मेगावाटका दुई आयोजना सञ्चालनमा
सन् २०१४ मा स्थापना भएको हिम पर्वत हाइड्रोपावर सन् २०२१ मा पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण भएको थियो। कम्पनीले दोलखा जिल्लामा ५.५ मेगावाट क्षमताको सागु खोला–१ र २० मेगावाट क्षमताको सागु खोला जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ। यी दुई आयोजनाको कुल जडित क्षमता २५.५ मेगावाट रहेको छ।
सन् २०२५ देखि सञ्चालनमा आएका दुवै आयोजनाले समग्रमा करिब ८४ प्रतिशत विद्युत् उत्पादन रेकर्ड गरेका छन्। करिब ४ अर्ब ९४ करोड रुपैयाँको एकीकृत लागतमा निर्माण भएका यी आयोजनामा ऋण र स्वपुँजीको अनुपात ६६:३४ रहेको छ। आयोजनाबाट वार्षिक करिब १५० गिगावाट आवर विद्युत् उत्पादन हुने अपेक्षा गरिएको छ।
२०८३ असार मसान्तसम्म कम्पनीको चुक्ता पुँजी १ अर्ब ९ करोड ९० लाख रुपैयाँ रहेको छ। कम्पनीले करिब ५९ करोड २० लाख रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने योजना अघि बढाएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1794925158_1200x100.gif)




 (3) (1).gif)


.gif)
.gif)



.jpeg)





प्रतिक्रिया