नुवाकोट त्रिशूली डायरीः २०८३ भदौ १० गते....!!
- लक्ष्मी पण्डित
- 2026 Nov 26 18:47
काठमाडौं। भागवत गीतामा भनिएको छ, "चिन्ता नगर जे हुन्छ राम्रैका लागि हुन्छ ।" मात्र हामीमा थाहा पाउने सामर्थ हुनुपर्छ । म २०८३ भदौ ९ गते नै अफिसपछि काठमाडौं आएँ। सीधै बसपार्क गएर ४ वटा टिकट धुन्चेका लागि लिने सोचले बसपार्क नजिकै ओर्लिएँ। पौने आठ हुन लाग्दा काउन्टर बन्द भइसकेको थियो । सँगै जानुभएकी मेरी साथी अनीताले चालकलाई भनिदिन्छु भनेर त्यहीँबाट फोन गर्नुभयो। उहाँले म पनि जाने हो मेरामै जाऊँ भनेपछि टिकट फिक्स भयो। चालक देवीघाटका रहेछन् । पछि मेरो पनि कुरा भयो र मिति २०८३ भदौ १० गते बिहान छ बजे हामी धुन्चेको इभी माइकोमा जाने भयौं। हाम्रो अन्तिम गन्तव्य भने गोसाईकुण्डको थियो। मेरा श्रीमान् र मेरा अफिसका २ जना बहिनीहरू जाने भएका थियौं । विहानै ५ बजेर २ मिनेट जाँदा त्यस भाइको फोन आयो र भन्यो दिदी ! समयमै आउनुस् है, यहाँ भीड भइसक्यो, हतारिदै ४ वटा टिकट चाहिँ राखिदिनू भनेपछि हुन्छ दिदी तर समयमै आउनुस् है भन्यो। गाडीभरि मान्छेको हल्ला राम्ररी सुनिइरहेको थियो । हुन्छ भन्दै हतार हतार तयार हुन थालें। विहानको ५:४५ बजेतिर याङ्ङ्गोमा ट्याक्सीको व्यवस्था गर्न खोज्दा मोटरसाइकल परेछ, ३ पटकसम्म रद्द गर्नुपर्यो । यसै ढिला त भइगयो । ढिला भइसक्यो भनेर एक्ला एक्लै वसपार्क पुग्ने निर्णय गर्यो र हामीले आआफ्ना मोवाइलबाट याङ्गो बुक गर्यो । श्रीमान् मभन्दा अगाडि निस्कनुभयो । म भने पर्खाइमै थिएँ । याङ्गोवालाले भन्यो, "म आइसकें कता हुनुहुन्छ" भन्ने जवाफमा कुरा हुँदा भनेको स्थान फरक परेछ । फेरि रद्द गरें, अब चाहिँ मेरो मन आत्तिन थाल्यो, लोकेसन मिलाउनतिर नलागेर गुडिरहेको ट्याक्सीमा आँखा गयो अनि रोकें, ३ जना आमाहरू बसपार्क जाँदै हुनु हुँदो रहेछ । म वसिहालें अगाडिको सिटमा र भनें दाइ अलि छिटो, मेरो गाडी छुट्न लाग्यो, त्यसै समयका वीचमा चालकले ४,५ पटक कल गरिसकेको थियो। भनेको समयभन्दा आधा घण्टा ढिला भइसकेको थियो। अन्ततः बसपार्क पुगें । गाडीभरि मान्छे थिए, सबै मेरै पर्खाइमा थिए। कहिलेकाहीँ ढिला पनि राम्रै हुन्छ, मैले सबैलाई कुराएँ, सरी है भन्दै मुस्कानसहित गाडीभित्र पसें । कसैकसैले केही छैन भने, कसैकसैले चाहिँ बोल्न पनि मन नगरेजस्तो बुझै, साँच्चै रिसाएका रहेछन्, नरिसाउन् पनि किन ? सबै समय अड्कलेर हिँडेका हुन्छन् । मैले भने मेरै पेवा जसरी मनमानी गरिदिएकी थिएँ, तर त्यस्तो हुन गएको हो, चाहेर भएको थिएन । जे होस् अब धुन्चे पुगिने भइयो भनेर ढुक्क हुँदै अगाडिको सिटमा हामी दुईजना बस्यौं। चालक पनि साहै मिजासिला रहेछन्। गाडी पनि राम्ररी चलाउने अनि कुरा गर्ने तरिका सबै मिजासिलो । त्यसैले म भन्छु जातका आधारमा, पेसाका आधारमा अनि वस्ती एवम् ठेगानाका आधारमा कसैलाई पनि निर्णय गरिहाल्नु हुन्न । हरेक व्यक्तिमा विशेष खालका गुणहरू हुन्छन् । चालक हुँदैमा सवै चालकहरू उस्तै हुँदैनन्, चालकहरू पनि नितान्त विशेष वा फरक फरक हुन सक्छन्, मलाई लागेको कुरा ।
सायद शिव बावाले हामीलाई नआउनलाई सङ्केत दिइरहनुभएको थियो। बहिनीहरुले टिकट त्रिशूलीवाट धुन्चेका लागि बुक गरिसकेका थिए तर म भने जाने वा नजाने भन्ने दोधारमै थिएँ । टिकट नपाउने सम्भावना भएकाले उनीहरूले जोहो गरिसकेका थिए तर मेरो जाने निधो नभएकाले टिकट निश्चित गरिएन । ९ गते बिहान निधो भएपछि म बेलुकै काठमाडौँ आएकी थिएँ, आफ्ना श्रीमान्लाई लिन । मेरा कारण बहिनीहरूले पनि टिकट रद्द गरेर मलाई पर्खनुपरेको थियो । गाडीका अगाडिकै सिटमा थिएँ म। आफैँ गाडी चलाउँदा केही नहुने तर अरूले चलाएको गाडीमा बस्नै नहुने मेरो श्रीमान् लाई, गाडी लागेर गाह्रो भइसकेको थियो उहाँलाई । मलाई भने बोल्न पाएन र खान पाएन भने गाह्रो हुने । म बोल्न थालें चालक भाइसँग । खानाको कुरा निकालें किनभने एक त शुद्ध र सफा हुनुपर्यो, अर्को बासी हुनुभएन। यही खानाका भरमा धुन्चेवाट हिँडेर चन्दनवारी पुग्नुछ वास वस्नुछ । मैले सोध्ने क्रममा अधिपछि मैले जिम्बुमा रोक्थें, खाना खान र गाडी रिचार्ज गर्नका लागि। आज त सम्भव हुन्न लाइनमा कुर्नुपर्छ, आज त २०० भन्दा वढी गाडी निस्किसकेका छन् दिदी, तपाईहरूलाई धुन्चे पनि त अलि छिटो पऱ्याउनुपर्यो। आज चाहिं कि त ढुड्गे, कि कालिका स्थानमा रोक्नुपर्ला भने चालक भाइले । चिनेको होटल हो र भाइ भन्ने मेरो सवालमा होइन दिदी भने । कुरा गर्दै जाँदा गुर्जे चेकपोस्ट आइपुग्यो, त्यहाँको प्रक्रिया सकेर हामी ओरालो लाग्दै गर्दा खानाका बारेमा मेरा मनमा कुरा खेलिरहेको थियो र यसै बीच मैले सोधे, खाना म अर्डर गरूँ भाइ, चिन्नुएको छ भने हुन्छ तर सबैलाई गरिदिनुस् भने । हो चिनेकै ठाउँमा, यतै विदुरमै हो गाडी पनि त्यतै रिचार्ज गर भाइ, खाना खाइसक्दा सकिन्छ पनि होला भनें । त्यसो भए हामी दुईजना चाहिं इभी गाडी चार्ज गर्ने व्यवस्था भएको वसपार्कमा खान्छौं भनें। मैले तुरुन्तै फोन गरेर मेरै अफिस अगाडिको डाउन टाउन होटलमा १०-११ जनाका लागि भनें। हामी नौदेखि सवा नौका वीचमा आइपुग्छौं तयारी हुनुपर्छ भन्दै पछि साग र आलु अनि मोलेको अचार है भनेर पनि भन्न भ्याएँ। रूपा म्याडमले हुन्छ नि, भेजलाई स्पेसल भन्दै जिस्काउँदै जवाफ पनि दिनुभयो। हामी होटल आइपुग्दा ९.१० भएको थियो। १५ तिर खाना खान सुरु गर्यो । सुरुमा टिमुरे स्यापुर्वेसी सबै लग्यो भन्ने खवर आयो, होटेलका साहु भानु सरलाई। कसैले पत्याएनन्, पत्याउनु पनि कसरी ! पानी परेको छैन, हजारौं भक्तजनहरू लागेका छन् । झलमल घाम लागिरहेको बेलामा । पछि वेत्रावती र सोले गयो भनेर फोन आएपछि होटेलकी साहुनी रूपा म्याडमको माइती उतै भएकाले फोन गर्दा उहाँको माइती केही छैन, मान्छे माथि गाउँ भाग्न सफल भएको भन्ने खबरले सवैलाई सिरिडै बनायो । खाना खाइसकेको थिएन, कति मिठो है भन्दै सबै मस्तले खाँदै हुनुहुन्थ्यो, सब छाडेर बाहिर निस्क्यौं, मिनेटमै जमिनको थरथराहटसँगै ठूलो आवाज गर्दै आइपुगिगयो त त्रिशूली ढुङ्गे बजारमा । अलर्ट म्यासेज त छाडेको रैछ, नेटवर्कको समस्याले होला सवैकामा ९.१० तिर मात्र देखिएको थियो । त्यसपछि हामी सब तितरवितर भयौँ, भागभाग मच्चियो । अफिस बन्द गरेर बैंकका साथीहरू पनि बाहिर निस्किए अनि सबै जना आआफ्ना आफन्तहरूको खोजी गर्न थाल्नुभयो ।
गाडी चार्ज गर्न त्रिशूली बजार गएका चालक भाइलाई तुरुन्तै फोन गरें, चालक भाइ पनि स्टेसन नपुग्दै बाढीले भेटाउन खोजेकाले पछि पछि बाढी, आफू अघि अधि हुँदै सेकेन्डले भाग्न सफल भएछन् । त्यतिवेलासम्म फोन लाग्दै थियो नुवाकोटमा । हाम्रो टोलीकी अर्की वहिनी वेत्रावती आएर वस्ने कुरा थियो । उसको फोन नलाग्दा हामी तनावमा भयौं । क्षणभरमै सवै लाग्यो, सबै सकियो। अब हामी त्यही कहालीलाग्दो वातावरणमै सोध्ने र खोज्ने कार्य हुन थाल्यो । त्यही बीचमा चालक भाइले भने, दिदी! मेरो देवीघाटको सवै लग्यो। मान्छेलाई चाहिँ केही भएन। फोन काटियो, त्यसपछि सम्पर्क हुन सकेन । बेलुकापख बल्ल थाहा हुन आयो अफिसकी वहिनीका सबैलाई लगे पनि उनी भने बाँच्न सफल भइछिन् ।
हेर्दा हेर्दै क्षणभरमै धर्तीको थर्काहट अनि कालो पानीको लेदो गोमन सर्पको जस्तो गति अनि गडगडाहट आवाजमा आएर सबै स्वाहा बनाइदियो । आँखाले एकोहोरो हेरिरहन पनि सकेनौं। बीच बीचमा आँखा चिम्लनुपर्ने अवस्था थियो । ठाउँ ठाउँमा भएका क्षतिका विवरण आउन थाले। कहीं मान्छेले थाहा नै पाएनन्, थाहा पाएकाले पनि भाग्न भ्याएनन्, घरमा भएका वृद्ध तथा स्कुलमा भएका बालकहरू निस्कन सकेनन्, सक्नेहरूले आफ्ना सामानहरू चोरीबाट जोगाउनका लागि ताल्वा-चाबी लगाउन थाले जसले गर्दा उनीहरूलाई केही समय लाग्यो, कतै केही बहुमूल्य सामान लिएर जान समय लाग्यो, कतै पत्याउन नै समय लाग्यो, कतै आफ्नालाई जोगाउन खोज्दा समय लाग्यो, कतै भिडियो बनाएर भाइरल हुने रहरले समय लाग्यो, खोला त उडेको थियो, खोलाले बाँकटे मारेको थियो, नक्सा कोरी कोरी झम्टेको जस्तो लाग्दथ्यो, भ्याउनु पनि कसरी, पत्याउनु पनि कसरी? अविश्वासनीय र अकल्पनीय थियो । जे जे कारण होस् ठूलो क्षति भयो । ठूलो धनजनको क्षति भयो। धेरै शारीरिक रूपमा घाइते भए अनि धेरै मानसिक रूपमा पीडित भए । कैयौं वर्षमा उठ्न लागेको मेरो जन्मथलो अनि कर्मथलोको भूगोल मात्र होइन, ऐतिहासिक सभ्यता, भग्नावशेष, ऐतिहासिक स्थल अनि कहलिएका इतिहाससहितका धार्मिक स्थलहरू सबै सबै क्षणभरमै स्वाहा भए, क्षणभरमै कैयौं पुल, कैयौं स्कुल, कैयौं सार्वजनिक संरचना र सम्पत्ति, हजारौं घर र मानिसहरू माटामा विलीन भएको देख्यौं । गोसाइँकुण्ड र मानसरोवर तीर्थको महिना परेकाले त्यस दिन धेरै तीर्थालुहरू पनि परेको अनुमान गरिएको थियो। जाने त गए तर बाँच्नेलाई कति सकस ! भनिन्छ नि जसको भोग सकियो गए, जाने त गए, तर यस्तो परेर, देखेर अनि भोगेर बाँच्नु पनि बाँच्नेहरूको अभाग जस्तो लाग्यो मलाई। स्वार्थमा टिकेको यो संसार, लाग्छ सवै मौकाकै पर्खाइमा हुन्छन् । मौका पाउनुपर्छ तातो दिने त्यही अग्निले खरानी बनाइदिन्छ अनि तिर्खा मेट्ने त्यही पानीले वगाइदिन्छ। यस्तै भयो २०८३ भदौ १० गते । तिर्खामा प्यास मेटाउने त्यही पानी, मन्दिरमा चढ्ने त्यही जल, उसले मौका पाउँदा सेकेन्डमै सहरलाई वगर बनाइदियो, प्रसिद्ध पौराणिक महत्त्व बोकेका बजारका बस्तीहरूलाई हजारौं वर्ष पछाडि धकेलिदियो ।
भन्नलाई त मान्छेको जीवनका इच्छा एवम् आकाङ्क्षाहरू धेरै छन्, अनन्त छन् भनिन्छ तर वास्तवमा भन्ने हो भने इच्छा एवम् आकाङ्क्षा धेरै सीमित हुने रहेछन् । मान्छेका लागि आवश्यकता के हो, इच्छा के हो अनि चाहना के हो भन्ने कुरा उसको अपना वशको कुरा होइन रहेछ अनि औकात र सामर्थ्यले पनि निर्धारण नगर्नेरहेछ, त्यो त उससँग भएको समय, समयले निम्त्याएको परिस्थिति अनि बाँच्न सक्ने इच्छाशक्तिले मापन गर्ने रहेछन् । अन्ततः बाँच्नका लागि मृत्युसँग सङ्घर्ष गर्न लाग्ने समयले जीवनका धेरै महत्त्वपूर्ण कुराको निर्धारण गरिदिने रहेछ भन्ने कुरा पनि यस घटनाले राम्ररी सिकाइदियो । विदुरवासीहरूलाई पनि अलि पर जानुपर्छ भन्न्ने अलर्ट भएपछि म त्यस दिन केही महत्त्वपूर्ण सामान निकाल्न अफिसभित्र छिरें । सायद मेरा लागि केही महत्त्वपूर्ण सामान त्यसभित्र थिए । एउटा, अर्को, अकर्को गर्दा गर्दै सामानको त लकों नै लाग्यो। फेरि अफिसका लागि महत्त्वपूर्ण सामानतिर पनि आँखा गए। कुन चाहिँ मात्र रोज्ने अनि बोक्ने, भएका सवै महत्त्वपूर्ण, अफिसको घर झनै महत्त्वपूर्ण, हनुमानजीले जडीवुटीको पहाड उचालेर लगे झै भवन नै लगू जस्तो भाव मनमा आयो तर मसँग न समय थियो न त हनुमानजीको जस्तो पहाड बोक्ने सामर्थ्य नै । अन्ततः त्यहीँ छाडेर हिडें सबै चीज, केही पनि बोकिनँ । मर्दै छु भन्ने थाहा भएको मान्छेले त्यो अन्तिमको दुई सेकेन्डमा कुन कुरा महत्त्वपूर्ण छ भनी सोचेर भन्न सक्छ र ! त्यतिवेला लाग्यो, मर्न लागेको मान्छेलाई के इच्छा छ भनेर सोध्नु मूर्खता रहेछ, त्यो सेकेन्ड मिनेटले इच्छालाई कदापि उजागर गर्न नसक्ने रहेछ ।
मान्छेमा हुने इच्छा र आकाङ्क्षा कतिसम्म खुम्चिन्छ र तन्किन्छ भन्ने कुरा मैले प्रत्यक्ष महसुस गरें। साँच्चै ! एक मिनेट अघिसम्म सुन पैसा जोगाउन खोज्दा खोज्दै, भाग्दा भाग्दै सेकेन्डले वाँचेकाहरू, सेकेन्डमै आफन्त मात्र बाँचिदिए हुन्थ्यो भन्नेमा पुगे, केही घण्टामै लास मात्र भेटिदिए हुन्थ्यो भन्नेमा पनि पुगे, केही दिनमा लास पहिचान मात्र भएदिए हुन्थ्यो भन्नेमा पुगे र महिना दिनमा डिएनए मात्र पनि मिले हुन्थ्यो भन्नेमा पनि पुगे । मन नै त रहेछ, नत्र करोडौंको सम्पत्ति अनि मुटुका टुकाका रूपमा रहेको परिवार सबै गुमाउँदा पनि एक बोरा चामल राहतका रूपमा थापेर बाँच्न कोसिस गर्नुपर्ने नै रहेछ, योभन्दा सजिलो र त्योभन्दा राम्रो भन्दै वॉचिरहेकाहरू ढुङ्गामाटामा एउटा पालमुनि जीवन गुजार्दै बाँच्न कोसिस गर्नुपर्ने नै रहेछ, सकिने त रहेछ त, फेरि किन यो भएन, त्यो भएन, यस्तै हुनुपर्छ भन्दै तँछाडमछाड, लुटपाट अनि अहम्ता । बाँच्नका लागि साथीभाइ, आफन्त अनि दाजुभाइहरूमा तँछाडछाड गर्दै एकले अर्कालाई सिध्याउन खोज्नेहरूका आफन्तहरू हेर्दा हेर्दै बगेका, फोन गर्दा गर्दै सम्पर्कविहीन भएका, एक कल आइदिए हुन्थ्यो अनि एक पटक फर्केर आइदिए हुन्थ्यो, अँगालो हाल्थें, माफी माग्थें, जे छ बाँडेर खान्थें भन्ने कल्पना गरेर पर्खाइमा बसे जस्तो बहानामा पनि त बाँच्ने कोसिस गर्न सकिने रहेछ त। लानेले के लगे ?
आफूले गरेका कर्म लगे होलान् । बाँच्नेले के गर्न सके ? आफ्ना प्राणहरू, मुटुहरू बग्दा त्यही बाढीमा हामफाल्नुपर्ने होइन र! तर बाँच्नका लागि सङ्घर्ष गर्न थाले, जे पर्छ बेहोर्न थाले । आज जे भयो त्यो सधैं नरहने पनि रहेछ, विस्तारै सहजताका साथ स्वीकार्दै जानुपर्ने रहेछ, भविष्य अनिश्चित रहेछ भन्ने थाहा पाउँदै गए। मान्छेलाई सत्कर्म गर्न कुनै तामझाम, तँछाडमछाड र अहम्ताको आवश्यकता नपर्ने रहेछ, अनगिन्ती इच्छा एवम् आकाङ्क्षाको आवश्यकता नपर्ने रहेछ, हिजो जे थियो आज नहुने रहेछ, आज जे छ त्यो भोलि त नरहने रहेछ, सत्य त यही नै हो नि, सबै मनकै खेल त रहेछ, सबै भावकै खेल त रहेछ, होइन र !
मोबाइलमा कैद हुनुपर्ने त्यो क्षण, मेरा भावहरूले नै कैद गरिदिए, मेरा आँखाहरू प्रत्यक्ष साक्षी भइदिए कसरी सुनाऊँ, के देखाएर मन बुझाऊँ म, मेरा भावी सन्ततिलाई । हेर्दा हेर्दै खरानी बनाइदियो, खरानीको रूप पनि यसरी परिवर्तन भयो हाम्रो पुस्ताका लागि । इतिहास मेटाइदियो अनि हाम्रा भावी सन्तानका लागि नयाँ इतिहास सृजना गरिदियो !
हामी आएको गाडीमा एकै परिवारका ठूलै ग्रुप हुनुहुन्थ्यो, बेलुका पख जाने बेलामा अँगालो हाल्दै भन्नुभयो, हजुरको खानाले हामीलाई बचायो, धन्यवाद वहिनी भन्दै विदा हुनुभयो । तर जस एउटाले पाउँछ, अपजस अर्काले। सब उहाँकै खेल हो, उहाँकै इच्छा हो, अरू त सब माध्यम मात्र हुन् । बाँच्ने पनि विभिन्न बहानाले बाँचेका छन्, अनि मर्ने पनि विभिन्न बहानाले मेरका छन् । वास्तवमा भगवान्लाई बचाउनुभयो भनेर धन्यवाद दिन पनि मन लागिरहेको थिएन, वाँचेर यस्तो विकराल विनाशको रूप देख्नु अनि महसुस गर्नु पनि अभाग नै लाग्यो मलाई । राम्रो कुरा सुन्न पाउनु, देख्न पाउनु र महसुस गर्न पाउनु पनि जीवनको भाग्य हो जस्तो लाग्छ मलाई। सयौं सक्षम चालकहरू बगे, सयौँ इजिनियरहरू धरतीका काखमा विलीन भए। भौतिक क्षतिको पीडा सम्बन्धित ठाउँहरूले भोगे तर अन्य क्षतिको पीडा स्वदेशीलाई मात्र नभएर विदेशीलाई पनि दियो । क्षति नवेहोर्ने कुनै जिल्ला थिएन, नपरेको कुनै पेसा थिएन, नपरेको कुनै जाति थिएन, नपरेको कुनै उमेर थिएन । पीडा सबैलाई नै दियो। पीडा सिङ्गो देशलाई नै दियो । हेर्दा हेर्दै सडकभरि सबै अचेत जस्ता देखिन्थे, ज्यान बचाएर भाग्नेहरू, आफ्नो सम्पत्ति पुरिएको वगाएको हेर्नेहरू अनि लामो यात्रा तय गरी हिँडेका यात्रीहरू र विशेष गरी तीर्थथात्रीहरू । वास्तवमा त्यतिवेला सबै अचेत जस्ता भएका थियौं। एक जना आमा सकी नसकी सडकमा कुदिरहँदा पनि हामीले केही गर्न सकेनौं। उहाँको त्यसवेलाको स्थितिलाई सम्हाल्न सकेनौं, अझ भनौँ होसै भएन। वेलुका पख सडकमै बसिरहेको देखेर मैले उहाँलाई भेटेर कुरा गरेपछि महसुस गरें मैले सह्मालिदिनुर्थ्यो। उहाँले भन्नुभयो म भर्खर घाँस काटेर घरमा छिरेकी थिएँ, वाडी त छिरिसकेछ बहिनी, जस्ती थिएँ भागिहालें, मलाई त होस पनि थिएन, बाँच्न लेखेको रैछ मलाई । वास्तवमा त्यहाँको माहोल हेरेर लाग्थ्यो, कसैलाई होस थिएन, होस थियो त केवल आर्मी र पुलिसहरूमा जो आफूलाई जोखिममा राखेर उद्धारकार्यमा खटिरहेका थिए, उहाँहरूको त्यो कुशलता, ऑट र साहसलाई पनि सहृदय नमन !!
लेन्दे भोटेकोशीबाट अकल्पनीय र अविस्मरणीय रूपमा आएको त्यो विनाशकारीको रूप बाढी होइन, खोला बगेको होइन, त्यो त रौद्ररूप थियो शिव भगवान्को जस्तो, काली रूप थियो महाकालीको जस्तो ! जसले रसुवा जिल्लादेखि नुवाकोटको नाम चलेका, ऐतिहासिक एवम् पौराणिक गौरव बोकेका पुराना बजार वेत्रावती बजार, त्रिशूली बजार, ढुङ्गे बजार अनि ऐतिहासिक थलो देवीघाट जस्ता महत्त्वपूर्ण ठाउँहरूलाई आफैंमा मिलाउँदै लगेर वारपारका सबै वस्ती बगर बनाइदियो ।
केही दिनमा विस्तारै हामी क्षति पुगेका ग्राहकहरूको डाटा लिएर बीमा दावीका लागि प्रक्रिया अघि बढाउन थाल्यौं । आंशिक क्षति भएका र परिवार सकुशल रहेका केही ग्राहकहरू सम्पर्कमा आई बीमा तथा अन्य वैकिङ कार्यको प्रक्रिया अघि बढाइएको भए तापनि कैयौं ग्राहकहरू जसको जनधन पूर्णतः क्षति भयो उहाँहरू त्यस परिस्थितिको असरबाट निस्कन सक्नुभएकै थिएन, जसका लागि हामी माध्यम भएर काम गरिरहेका थियौं । हामीले गर्नुपर्ने पहिलो कर्तव्य र गर्न सक्ने काम पनि यही नै थियो। अहिलेसम्म ग्राहक, बीमा र बैंकले बीमा गर्नका लागि मात्र बीमा गर्यो, वैकिडं नियम पूरा गर्नका लागि मात्र बीमा गर्यो तर अवका दिनमा हामीले पूर्ण सम्पत्ति र वैधानिक बीमा दाबीका लागि बीमा गर्नुपर्छ । यसका लागि बीमा साक्षरता अभियान सञ्चालन गर्नु पनि अत्यन्त आवश्यक रहेको देखियो। यसै बीचमा हामीले बीमा कम्पनीहरूसँग छलफल गर्ने र गराउने काम पनि गर्यो । सहज अवस्थामा साथ लिन्छौँ र अप्ठ्यारो समयमा साथ दिन्छौं। नेपाल बैंकले सदा गर्ने नै छ ।
भन्नलाई त सजिलो छ, मरेपछि के चाहिन्छ र ! तर मरेपछि मान्छेलाई झन् धेरै कुरा चाहिन्छ, धेरै आफन्तहरूको साथ र सहयोग पनि चाहिन्छ। तर त्यतिबेला परिवार रहेनन्, छिमेकी रहेनन्, आफन्त रहेनन्, वाँच्नेलाई साथ दिने कोही भएनन् अनि मरेकालाई मलामी जाने मान्छे समेत रहेनन् ।
हाम्रो अमूल्य ऐतिहासिक, धार्मिक सम्पत्ति अनि आफन्त र चिनेका मान्छे मात्र परेनन्, नेपाल बैंक लिमिटेडका जो हाम्रा आदरणीय ग्राहक हुनुहुन्छ, उहाँहरूको ठूलो मात्रामा जनधन, संरचना, सम्पत्ति र व्यापार सबैमा अपूरणीय क्षति भयो । एक जना कर्मचारी बहिनीको घरबार लग्यो, कर्मचारीहरूका आफन्तहरू वगेर वेपत्ता भए, अफिस आएका साथीभाइहरू पुल जस्ता संरचना भत्किएर बारिको वारि हुन जाँदा महिनौंसम्म परिवारविहीन भए । यस्तो विषम परिस्थितिमा सरकार र ग्राहकलाई साथ दिनुपर्छ भनेर जेनेरेटर चलाएर तनमन शरीर तन्दुरुस्त भएजस्तो गरी निरन्तर बैंकवाट सेवाहरू प्रवाह गरिरह्यौं। सार्वजनिक विदाहरूमा पनि हामी विदामा बसेनौँ । यसमा म मेरो शाखाको टिमसँग आभारी रहें। कैयौं दिन बत्ती नआउँदा पानी र मोबाइलको समस्या बढ्दै गएको थियो । हामीले जेनेरेटर चलाएर सर्वसाधारण, प्रहरी, सेना र सशस्त्रका मोवाइल चार्ज गरिदिएर अनि पिउने पानीको व्यवस्था गरिदिएर हामीले सकेको सहयोग निरन्तर गरिरह्यौँ । नेपाल बैंक सुखमा मात्र होइन दुःखमा पनि हजुरहरूकै साथमा हुन्छ भन्ने आभास दिन हाम्रा तर्फवाट निरन्तर सहयोगको प्रयास गरिरह्यौँ ।
यस्तो समयमा सवैले जहाँ छौं त्यहींबाट आआफ्नो दक्षता र क्षमताले सकेको सहयोग गर्नु नै ठूलो कुरा हुँदो रहेछ । आर्मीहरूको भूमिका, सरकारको भूमिका अनि स्थानीय सरकार तथा स्थानीय निकायको भूमिका फरक फरक थिए ती सबै भूमिका उनीहरूले निभाइरहेका थिए। हामीले पनि आफ्ना तर्फबाट सक्दो कोसिस गरिरह्यौँ । साथीभाइहरू एक एक गरेर बिरामी हुन थाले तैपनि हामीले आलोपालो गरेर अफिस चलायौं, बन्द हुन दिएनौं। तर यस्तो महोलमा निरन्तर अफिस आए पनि काममा फोकस हुन नसकेको हामी सबैले महसुस गर्न थालेका थियौं। हामी कर्मचारी सबैलाई केही समयका लागि ब्रेकको आवश्यकता महसुस हुन थालेको थियो । यति नराम्रो र गहिरो प्रत्यक्ष प्रभाव पर्यो कि साथीभाइहरू अव यस शाखामा वसेर काम गर्न सकिन्न होला म्याम पनि भन्न थाल्नुभएको थियो। यसै बीच मिति २०८।०५।२३ गते तालिम तथा विकास डिभिजनको टिम मनोपरामर्शदाता डा. केदार रायमाझी सरलाई साथमा लिएर नुवाकोट आइपुग्यो । यस परामर्श कार्यक्रमले वास्तवमा हामी कर्मचारीहरूले ठूलो राहत मिलेको महसुस गर्यो। जजसले जे सक्छ, जोसँग जे छ, त्यही तरिकाले सहयोगको भाव राख्ने वेला थियो त्यो। उहाँहरूप्रति हामी आभारी रह्यौं। त्यस बीचमा हरेक विभाग अनि प्रदेशबाट भएको चासो र सहयोगप्रति हामी आभारी रह्यौं । यसका साथै मिति २०८३३०६/१६ गते भएको बैंकको उच्च व्यवस्थापनका तर्फवाट सिइओ सर र प्रमुख कर्जा अधिकृत तथा नेपाल इन्सुरेन्सका सञ्चालकको टिमका साथमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा क्षति पुगेका ग्राहकहरूका बीच भएको महत्त्वपूर्ण छलफलले हामी र हाम्रा ग्राहकहरूलाई पनि राहत मिलेको महसुस गर्यो ।
कल, मिसकल अनि म्यासेजको लगातारको प्रवाहले साँच्चै त्यतिवेला थाहा भयो मलाई, मेरो सम्बन्धहरू देखावटी र नाजुक रहेनछन् । कतिलाई फोन गर्न नि डर लाग्यो रे, सम्पर्क हुन सकेन भन्छ कि भनेर । त्यसै कारण मैले फेसबुकमा त्यसवारे जानकारी गराएकी थिएँ, एउटा जानकारीका रूपमा कि हाम्रो शाखा र हामी सबै ठिक छौं भनेर। लगतै भएको शाखा प्रबन्धकहरूको बजेटसम्बन्धी छलफलमा साथीहरूसँग भेट्दा, उनीहरूले अँगालो हालेर आँखाभरि आँसु पारेको देख्दा वल्ल मलाई पनि महसुस भयो म पनि बाँचेर आएकी रहिछु ।
अधुरो रह्यो त्यो मेरो गोसाइँकुण्ड घुम्न जाने इच्छा अनि अपुरो रह्यो मेरो पहिलो गोसाइँकुण्डको यात्रा । धन्न जीवन छ, इच्छाशक्ति छ, फेरि भगवान्को इच्छाले कुनै दिन पुर्मूला, मेरो अधुरो यात्रा पूरा गरूँला ।
घरहरू बन्लान्, बाटो र अन्य संरचनाहरू विस्तारै बन्लान्, वस्ती बस्लान र विस्तारै फेरि उठ्लान् तर ती लास नभेटाएर कुशको दाहसंस्कार गरेकाहरूले कसरी चित्त बुझाउलान् मेरो मान्छे छैन भनेर, अब कहिल्यै फर्केर आउँदैनन् भनेर। तर त्यो दिन फेरि दोहिरिएर कहिल्यै नआओस्, सबै पीडितहरूको आशा र विश्वाससँगै संरचनाहरू फेरि निर्माण होउन्, भरोसाहरू भविष्यप्रति उभिउन्, फेरि उठुन्, गुमाएका आफन्तहरू फर्केर नआए पनि उहाँहरूप्रति श्रद्धाञ्जली भाव छोड्दै, बाँच्ने शक्ति र अघि बढ्न सक्ने ऊर्जा भाव मिलोस्, यही छ मेरो प्रार्थना । बस्, यतिवेला संस्थागत, व्यक्तिगत, पारिवारिक र भाइचारामा एकअर्काको साथ, माया, प्रेम र सभानुभूतिको आवश्यक छ, उठ्नु छ अनि उठाउनु छ, सबैले यो मनन गरौं । यस्तो समयमा पनि सम्भावनाहरू खोज्ने र देख्नेहरू धेरै हुनुहुन्छ । बाँच्नेहरू भन्नुहुन्छ, "हामीलाई बचाएको नै योभन्दा धेरै कर्म गर्न हो, त्यसैले अझ धेरै गर्नुपर्छ, सडकमा पुऱ्यायो, सडकवाटै उठ्नुपर्छ" सलाम त्यो आँट, साहस अनि विश्वासलाई ।
हामी विर्सन खोज्छौं तर हाम्रा ग्राहकहरू दिन प्रतिदिन ताजा भएर आइदिनुहुन्छ । आफ्नो त्यस दिनको फरक परिवेश तर एउटै दर्द पीडाको कहानी सुनाउँदै रुन थाल्नुहुन्छ, भक्कानिन थाल्नुहुन्छ, लाग्छ यो कम वर्षों चलिरहनेछ । सायद त्यो २०८३ भदौको १० गते, त्यो कालो दिन हामी र हाम्रो त्रिशूली शाखाले कहिल्यै बिर्सने छैन। तीज मनाउन सकेनौं, यसको लगतै महान् पर्वहरू पनि नजिकिंदै छन् तर खल्लो, सुनसान र नरमाइलो छ । केही छैन, यस साल समवेदना बाँडौं, सहानुभूति राखौं, अर्को साल खुसी साट्दै रमाउँला । किनभने सधैं हाम्रा आदरणीय ग्राहकहरूको भीडभाडले भरिने नेपाल बैंक लिमिटेड, चाडपर्वका माहोलमा पनि सुनसान र खाली देख्दा शून्यताभित्र भीड खोजिरहेका छौ। अब बगेर गएका ती फर्किएर आउने आशा सायद गरिंदैन तर वारि र पारि छुटेको सम्बन्ध, विश्वास र आस्थाको डोरी छिट्टै जोडियोस्, फेरि नेपाल बैंक उहाँहरूको भीडभाड र साथले भरियोस्, यही कामना !
(लेखक लक्ष्मी पण्डित नेपाल बैंक लिमिटेडकी त्रिशूली शाखाकको शाखा प्रवन्धक हुन्। प्रस्तुत लेख नेपाल बैंकको वार्षिकोत्सव विशेषाङ्क २०८३ बाट लिइएको हो।)
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1794925158_1200x100.gif)




 (3) (1).gif)


.gif)
.gif)









प्रतिक्रिया