Siddartha Bank
Prabhu Mahalaxmi

बीमा ऐन संशोधन हुँदै, क्याटबन्डमार्फत जोखिम हस्तान्तरणको बाटो खुल्ने

Sanima Reliance
  • BFIS News
  • 2026 Nov 26 19:20
बीमा ऐन संशोधन हुँदै, क्याटबन्डमार्फत जोखिम हस्तान्तरणको बाटो खुल्ने
United Ajod

काठमाडौं, १० मंसिर । भूकम्प, बाढीपहिरोजस्ता ठूला प्राकृतिक विपद्बाट उत्पन्न हुने जोखिम व्यवस्थापन गर्न परम्परागत पुनर्बीमाबाहेकका वैकल्पिक उपाय अपनाउने बाटो खोल्न बीमा ऐन, २०७९ संशोधन गर्न लागिएको छ । संशोधनको मस्यौदामा ऐनको दफा १६८ को उपदफा (२) मा नयाँ खण्ड (ङ) थपेर वैकल्पिक जोखिम हस्तान्तरणसम्बन्धी कानुनी व्यवस्था गर्न प्रस्ताव गरिएको हो ।

 

Siddartha Bank
EBL
Nepal Life

हालको ऐनको दफा १६८ ले नेपाल बीमा प्राधिकरणलाई नियम बनाउने अधिकार दिएको भए पनि पुनर्बीमाबाहेकका अन्य वैकल्पिक जोखिम हस्तान्तरणका उपकरणबारे स्पष्ट व्यवस्था गरेको छैन ।

प्रस्तावित संशोधनमा उक्त दफाको उपदफा (२) मा खण्ड (ङ) थप्दै पुनर्बीमाबाहेकका अन्य वैकल्पिक जोखिम हस्तान्तरणसम्बन्धी व्यवस्था समेट्न खोजिएको छ । मस्यौदामा उल्लेख भएअनुसार क्याटबन्ड (महाविपत्ति ऋणपत्र) लगायतका जोखिम हस्तान्तरण गर्ने उपकरण प्रयोग गर्न आवश्यक कानुनी व्यवस्था गर्न लागिएको हो ।

ठूलो भूकम्प, बाढी वा महामारीजस्ता विपद् आउँदा परम्परागत पुनर्बीमा कम्पनीहरूले मात्रै सबै दाबी भुक्तानीको जोखिम धान्न नसक्ने अवस्था आउन सक्छ । यस्तो अवस्थामा पुनर्बीमा शुल्कसमेत महँगो हुन सक्छ । त्यसको विकल्पका रूपमा बीमा कम्पनीहरूले पुँजी बजारमार्फत विशेष ऋणपत्र जारी गरी ठूला लगानीकर्तासँग जोखिम बाँड्न सक्छन् । यस्तो ऋणपत्रलाई क्याटबन्ड भनिन्छ ।

क्याटबन्डमार्फत लगानीकर्ताले निश्चित अवधिसम्म ब्याज आम्दानी प्राप्त गर्छन् । तर, ऋणपत्रमा तोकिएको जोखिम घटना घटेमा लगानीकर्ताको लगानीको केही वा सम्पूर्ण रकम विपद्बाट उत्पन्न बीमा दाबी भुक्तानीमा प्रयोग हुन सक्छ । यसले बीमा कम्पनीलाई ठूलो विपद्का बेला थप वित्तीय स्रोत उपलब्ध गराउन मद्दत गर्छ ।

नेपाल भूकम्प तथा बाढीपहिरोजस्ता प्राकृतिक विपद्को उच्च जोखिममा रहेको मुलुक हो । यस्तो अवस्थामा ठूलो विपद् आएपछि बीमा दाबी भुक्तानीका लागि आवश्यक रकम जुटाउन क्याटबन्डजस्ता उपकरण उपयोगी हुन सक्छन् । यसले बीमा कम्पनीहरूको जोखिम बहन क्षमता विस्तार गर्नुका साथै परम्परागत पुनर्बीमा कम्पनीमा मात्रै निर्भर रहनुपर्ने अवस्थालाई कम गर्न सक्नेछ ।

अन्तर्राष्ट्रिय पुनर्बीमा बजारमा शुल्क वृद्धि वा उतारचढाव हुँदा वैकल्पिक जोखिम हस्तान्तरणका उपकरणले अर्को विकल्प उपलब्ध गराउन सक्छन् । यसबाट नेपाली बीमा कम्पनीहरूले विश्व पुँजीबजारबाट समेत जोखिम व्यवस्थापनका लागि स्रोत परिचालन गर्ने अवसर पाउन सक्छन् ।

नेपालको पुँजीबजारका लागि क्याटबन्ड नयाँ वित्तीय उपकरण हो । त्यसैले ऐन संशोधनपछि नेपाल बीमा प्राधिकरण र नेपाल धितोपत्र बोर्डबीच समन्वय गरी यससम्बन्धी स्पष्ट नियमावली, मापदण्ड तथा भरपर्दो तथ्यांक प्रणाली विकास गर्नुपर्ने देखिन्छ ।

शेयर गर्नुहोस

Sanima Reliance Life Insurance Company

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया