आधारभूत स्वास्थ्य सेवा र स्वास्थ्य बीमाको कार्यक्षेत्र छुट्ट्याउने सरकारको तयारी
- BFIS News
- 2026 Nov 26 19:25
काठमाडौं, १० मंसिर । सरकारले निःशुल्क आधारभूत स्वास्थ्य सेवा र स्वास्थ्य बीमा कार्यक्रमको कार्यक्षेत्र स्पष्ट रूपमा छुट्ट्याउने तयारी गरेको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आधारभूत स्वास्थ्य सेवा सरकारी बजेटबाट सञ्चालन गर्ने र आधारभूत तहभन्दा माथिका प्रेषण तथा विशेषज्ञ उपचारमा स्वास्थ्य बीमालाई केन्द्रित गर्ने प्रस्ताव अघि सारेको हो ।
मन्त्रालयले प्रकाशन गरेको ‘नेपाल्स बेसिक हेल्थ प्याकेजः क्लियर प्रायोरिटिज, राइजिङ फाइनान्सियल निड्स’ प्रतिवेदनमा यस्तो प्रस्ताव गरिएको छ । प्रतिवेदनअनुसार आधारभूत स्वास्थ्य सेवा सरकारी बजेटबाट सञ्चालन हुनेछ । अस्पताल वा स्वास्थ्य संस्थामा पुग्ने सबै नागरिकले तोकिएका आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्नेछन् । त्यसभन्दा माथिका प्रेषण तथा विशेषज्ञ उपचारको खर्च भने स्वास्थ्य बीमामार्फत व्यवस्थापन गर्ने मन्त्रालयको प्रस्ताव छ ।
परिमार्जित आधारभूत स्वास्थ्य सेवा प्याकेज कार्यान्वयन भएपछि हाल निःशुल्क उपलब्ध गराइँदै आएका सेवाहरूको सूचीका आधारमा स्वास्थ्य बीमाको प्याकेजसमेत पुनरावलोकन गर्ने मन्त्रालयको योजना छ । यसबाट एउटै सेवामा दोहोरो खर्च हुने र सरकारी बजेट छरिने समस्या कम हुने मन्त्रालयको बुझाइ छ ।
निःशुल्क आधारभूत स्वास्थ्य सेवा उपचार प्रणालीको महत्वपूर्ण आधार भए पनि यसले मात्रै परिवारलाई आवश्यक पर्ने सबै प्रकारका उपचार समेट्न सक्दैन । मन्त्रालयको विश्लेषणअनुसार प्रस्तावित आधारभूत स्वास्थ्य प्याकेजका कतिपय सेवाका लागि बिरामीलाई अन्य स्वास्थ्य संस्थामा प्रेषण गर्नुपर्ने हुन्छ ।
यसमा प्रारम्भिक ट्रमा केयर, पाठेघरको मुख, मुख तथा आन्द्राको क्यान्सरको परीक्षण र पक्षघात तथा मुटुरोगको आकस्मिक उपचारजस्ता सेवा समावेश छन् । यस्ता उपचारमा बिरामीले समयमै सेवा पाउने वा नपाउने कुरा प्रेषण प्रणालीको प्रभावकारिता र बिरामी प्रेषण गरिने अस्पतालको उपचार क्षमतामा निर्भर रहने प्रतिवेदनले औँल्याएको छ ।
सर्वसाधारणलाई उपचारमा लाग्ने उच्च खर्चबाट जोगाउन आधारभूत स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध हुनु र त्यसभन्दा माथिल्लो तहको उपचार खर्च स्वास्थ्य बीमाले व्यहोर्नु आवश्यक देखिएको छ । त्यसैले स्वास्थ्य बीमाको प्याकेज पुनरावलोकन गर्दा कुन सेवा सरकारी बजेटबाट र कुन सेवा बीमामार्फत उपलब्ध हुने भन्ने स्पष्ट हुने अपेक्षा गरिएको छ ।
यद्यपि, प्रतिवेदनमा सर्वसाधारणले आफ्नै खल्तीबाट उपचारमा कति खर्च गरिरहेका छन् भन्ने तथ्यांक समावेश गरिएको छैन । सरकारले प्रस्ताव गरेको नयाँ व्यवस्थाले परिवारलाई महँगो उपचार खर्चबाट कति राहत दिन्छ भन्ने मूल्यांकन गर्न नागरिकको व्यक्तिगत उपचार खर्चसम्बन्धी तथ्यांक आवश्यक पर्ने देखिन्छ ।
परिमार्जित आधारभूत स्वास्थ्य सेवा प्याकेज औपचारिक रूपमा कार्यान्वयनमा नआएसम्म हाल सञ्चालनमा रहेका निःशुल्क स्वास्थ्य सेवाहरू यथावत् रहने र बिरामीबाट कुनै शुल्क नलिइने पनि प्रतिवेदनमा स्पष्ट पारिएको छ ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1794925158_1200x100.gif)




 (3) (1).gif)


.gif)
.gif)










प्रतिक्रिया