दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ कायम गर्न किसानको माग, मंसिर १६ देखि आन्दोलनको चेतावनी
- BFIS News
- 2026 Nov 28 10:55
काठमाडौं, मंसिर १२ गते । उत्पादन लागत निरन्तर बढ्दै गए पनि दूधको मूल्य समायोजन हुन नसकेको भन्दै कास्कीका दुग्ध उत्पादक किसानले प्रतिलिटर दूधको मूल्य कम्तीमा ८० रुपैयाँ कायम गर्न सरकारसँग माग गरेका छन्।
सप्तगण्डकी दुग्ध उत्पादक सहकारी संघ लिमिटेडले पोखरामा पत्रकार सम्मेलन गरी हाल किसानले प्रतिलिटर ६५ देखि ७१ रुपैयाँसम्म प्राप्त गर्दै आएको दूधको मूल्य बढाउन माग गरेको हो। संघले उत्पादन लागत, पशु आहार, श्रम, औषधोपचार र ढुवानी खर्चलाई आधार मानेर दूधको मूल्य निर्धारण गर्नुपर्ने जनाएको छ।
संघका अध्यक्ष नवराज बरालले किसानको वास्तविक उत्पादन लागतलाई हेर्दा प्रतिलिटर ९० रुपैयाँसम्म दूधको मूल्य कायम गर्नुपर्ने अवस्था रहेको बताए। तर, नेपालमा दूधको मूल्य अत्यधिक बढाउँदा खुला सीमाका कारण भारतबाट सस्तो मूल्यमा दूध आयात हुन सक्ने र नेपाली किसानको उत्पादनले बजार नपाउने जोखिमसमेत रहेको उनले औँल्याए।
उनले दूधको मूल्य ९० रुपैयाँ कायम गर्दा किसानले बढ्दो उत्पादन लागतअनुसार उचित मूल्य पाउन सक्ने बताए। तर, भारतीय दूधको आयात बढेमा नेपाली दूध बिक्री नहुने र मिल्क होलिडेको अवस्था आउन सक्ने भएकाले किसान र उपभोक्ता दुवैलाई असर नपर्ने गरी वैज्ञानिक मूल्य निर्धारण गर्नुपर्ने उनको भनाइ छ।
उत्पादन लागत बढे पनि लामो समयदेखि दूधको मूल्य समायोजन हुन नसक्दा किसान पशुपालन पेसाबाट पलायन हुने अवस्था बढेको अध्यक्ष बरालले बताए। दूध बिक्रीबाट प्राप्त रकमले उत्पादन लागतसमेत धान्न कठिन भएपछि किसानलाई यस पेसामा टिकाइराख्न सरकारले समयमै मूल्य समायोजन गर्नुपर्ने उनले बताए।
संघका सचिव पदमप्रसाद अधिकारीले किसानका समस्या समयमै सम्बोधन नभए आन्दोलन गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिए। किसान आफ्ना माग लिएर सडकमा उत्रिनुपर्ने अवस्था आए त्यसले सरकारलाई दबाब पर्ने उनको भनाइ थियो।
संघका अनुसार कास्कीमा मात्रै ४२ वटा दुग्ध उत्पादक सहकारी संस्थामा आबद्ध करिब पाँच हजार ५०० किसान परिवार र निजी फार्ममार्फत दूध बिक्री गर्ने करिब छ हजार किसान परिवार गरी ११ हजार ५०० घरपरिवार दुग्ध उत्पादनमा संलग्न छन्। दूधको उचित मूल्य नपाउँदा यी परिवारको जीविकोपार्जनमा समेत असर परेको संघले जनाएको छ।
संघले दूध बिक्री गरेबापतको रकम समयमै भुक्तानी हुने व्यवस्था गर्न, पशु स्वास्थ्य सेवा, नियमित खोप तथा उपचार, पशु आहारमा सहुलियत, पशु बीमा र निःशुल्क कृत्रिम गर्भाधानको व्यवस्था गर्नसमेत सरकारसँग माग गरेको छ।
उत्पादन लागत र भौगोलिक विविधतालाई आधार मानेर दूधको मूल्य निर्धारण गर्नुपर्ने मागप्रति केन्द्रीय दुग्ध सहकारी संघले अघि सारेको अभियानमा ऐक्यबद्धता जनाउँदै माग सम्बोधन नभए थप दबाबमूलक कार्यक्रम सञ्चालन गर्ने संघले जनाएको छ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1794925158_1200x100.gif)




 (3) (1).gif)


.gif)
.gif)









प्रतिक्रिया