भारत भ्रमणका सहमति कार्यान्वयन गर्न सरकारको गृहकार्य, मन्त्रालयलाई जिम्मेवारी तोकिने
- BFIS News
- 2026 Nov 28 11:11
काठमाडौँ, मंसिर १२ गते । प्रधानमन्त्री वालेन्द्र शाहको भारतको राजकीय भ्रमणका क्रममा भएका द्विपक्षीय सहमति तथा सम्झौता प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारले गृहकार्य अघि बढाएको छ । निर्धारित समयमै काम सम्पन्न गर्ने गरी सम्बन्धित मन्त्रालयलाई जिम्मेवारी दिने र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट नियमित अनुगमन तथा समन्वय गर्ने तयारी सरकारले गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता तथा सहसचिव हेमराज अर्यालका अनुसार भ्रमणका क्रममा भएका सहमति तथा सम्झौता कार्यान्वयनको मुख्य जिम्मेवारी सम्बन्धित विषयगत मन्त्रालयको हुनेछ । प्रधानमन्त्री कार्यालयले समन्वय तथा अनुगमन गर्नेछ भने परराष्ट्र मन्त्रालयले आवश्यक समन्वय गर्नेछ ।
शुक्रबार आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता अर्यालले सम्झौता हुनुअघि नै सम्बन्धित मन्त्रालयले आवश्यक तयारी गर्ने र कार्यान्वयनका लागि निश्चित समयभित्र काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएको जानकारी दिए ।
“सम्बन्धित मन्त्रालयले निश्चित समयमा सम्झौताअनुसारका काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ । कार्यान्वयनको मुख्य जिम्मेवारी सम्बन्धित मन्त्रालयलाई नै तोकिएको छ । प्रधानमन्त्री कार्यालयले नियमित समन्वय गर्ने र कार्यान्वयनमा कुनै समस्या आए समाधानका लागि सहजीकरण गर्नेछ,” उनले भने ।
प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा मंसिर ६ र ७ गते भारतको दुईदिने राजकीय भ्रमण गरेका थिए । भ्रमणका क्रममा भएका सहमति तथा सम्झौतालाई व्यवहारमा रूपान्तरण गरी निर्धारित उपलब्धि हासिल गर्ने विषयलाई सरकारले प्राथमिकतामा राखेको छ ।
भ्रमणका क्रममा ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको संयुक्त शिलान्यास हुनु महत्त्वपूर्ण उपलब्धिका रूपमा रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । आयोजनाको करिब ११ अर्ब ४९ करोड २१ लाख भारतीय रुपैयाँ बराबरको एउटा प्याकेजका लागि ठेक्का आह्वान भइसकेको छ । सन् २०३० डिसेम्बर ४ देखि विद्युत् उत्पादन गर्ने लक्ष्यसहित आयोजनाको काम अघि बढाइएको प्रवक्ता अर्यालले जानकारी दिए ।
सुशासन र प्रशासनिक सुधार
प्रधानमन्त्री कार्यालयले पछिल्लो साता सुशासन, प्रशासनिक सुधार, विकास आयोजना, सार्वजनिक सेवा प्रवाह र प्रविधिको प्रयोगलाई प्रभावकारी बनाउने विषयमा विभिन्न काम अघि बढाएको जनाएको छ ।
गत वर्ष सरकार र जेनजी आन्दोलनका प्रतिनिधिबीच भएको सम्झौता तथा आन्दोलनका सहिद परिवार र घाइतेका लागि स्वीकृत एकीकृत पुनःस्थापना, जीविकोपार्जन र सामाजिक संरक्षण प्याकेज कार्यान्वयनको तयारी भइरहेको छ ।
त्यस्तै, नेपाल जेनजी परिषद् गठन तथा सञ्चालन आदेश, २०८३ को मस्यौदामा अर्थ र गृह मन्त्रालयको राय प्राप्त भएपछि परिमार्जन गरी कानुन मन्त्रालयको राय लिने प्रक्रिया अघि बढाइएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र मातहतका निकायको व्यवस्थापन परीक्षणसमेत सुरु गरिएको छ । सरकारी निकायबाट सम्पादन हुने काम कानुनअनुसार भए/नभएको परीक्षण गर्न सम्बन्धित निकायबाटै स्वमूल्याङ्कन सुरु गरिएको जनाइएको छ ।
सङ्घ, प्रदेश र स्थानीय तहबाट सञ्चालन हुने योजना तथा बजेटबीच नीतिगत सामञ्जस्य कायम गर्न पछिल्ला तीन आर्थिक वर्षको तुलनात्मक अध्ययन गर्ने ढाँचा तयार गरिएको छ । यसबाट विभिन्न तह र निकायबाट एउटै प्रकृतिका कार्यक्रम दोहोरिने समस्या न्यूनीकरण हुने सरकारको अपेक्षा छ ।
डिजिटल सेवा र लगानी सहजीकरण
सरकारले सूचना प्रविधि र डिजिटल सेवा विस्तारलाई पनि प्राथमिकता दिएको छ । नेपाललाई सूचना प्रविधि आउटसोर्सिङ तथा सफ्टवेयर विकासको आकर्षक गन्तव्य बनाउन विदेशी प्रविधि कम्पनीलाई द्रुत प्रक्रियाबाट स्वीकृति दिने विशेष लगानी सहजीकरण नीति तयार गर्ने काम भइरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।
त्यसैगरी, राष्ट्रिय साइबर सुरक्षा केन्द्रमार्फत सरकारी निकायका संवेदनशील सूचना पूर्वाधारको पहिचान र संरक्षणसम्बन्धी कार्यशाला सञ्चालन गरिएको छ । हेटौँडाको डाटा सेन्टर सञ्चालनमा रहेको र चालु आर्थिक वर्षदेखि कोहलपुर डाटा सेन्टर पनि सञ्चालनमा ल्याउने तयारी भएको प्रवक्ता अर्यालले बताए ।
२९ फर्म तथा कम्पनी कालोसूचीमा
सार्वजनिक खरिद अनुगमन कार्यालयले सार्वजनिक खरिद प्रक्रियामा अनियमितता गर्ने तथा कानुनविपरीत कार्य गरेका २९ वटा फर्म तथा कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको छ । सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षा सुनिश्चित गर्ने कार्यविधि, २०८३ पनि स्वीकृत भई कार्यान्वयनमा आएको छ ।
यसैबीच, हेलो सरकारमा प्राप्त तीन हजार ५१ गुनासामध्ये दुई हजार ७५४ वटा फर्छ्योट र दुई हजार ३४९ वटा समाधान गरिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा मंसिर ११ गते बिहान ९ बजेसम्म १८ अर्ब ६२ करोड ८९ लाख ११ हजार ७४२ रुपैयाँ जम्मा भएको जानकारीसमेत दिइएको छ ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1794925158_1200x100.gif)




 (3) (1).gif)


.gif)
.gif)









प्रतिक्रिया