Siddartha Bank
Prabhu Mahalaxmi

नेपाल–यूएई दोहोरो कराधान सम्झौताबारे दोस्रो चरणको वार्ता सम्पन्न

Sanima Reliance
  • BFIS News
  • 2026 Nov 28 11:31
नेपाल–यूएई दोहोरो कराधान सम्झौताबारे दोस्रो चरणको वार्ता सम्पन्न
United Ajod

काठमाडौं, मंसिर १२ गते । नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बीच दोहोरो कराधान मुक्ति सम्झौता (डीटीएए) गर्ने उद्देश्यले आयोजित द्विपक्षीय वार्ताको दोस्रो चरण सम्पन्न भएको छ ।

 

Siddartha Bank
EBL
Nepal Life

काठमाडौंमा मंसिर ८ देखि १० गतेसम्म (नोभेम्बर २४ देखि २६) चलेको तीनदिने वार्तामा दुवै देशका प्रतिनिधिले प्रस्तावित कर सम्झौताका विभिन्न प्रावधान, आन्तरिक कर प्रणाली र अन्तर्राष्ट्रिय कर नीतिबारे छलफल गरेका छन् ।

वार्तामा नेपालका तर्फबाट आन्तरिक राजस्व विभागका महानिर्देशक डा. भीष्मकुमार भूसाल र यूएईका तर्फबाट अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय कर विभागका अन्तर्राष्ट्रिय कर नीति विज्ञ चिराग जगदीश टानाले आ–आफ्नो टोलीको नेतृत्व गरेका थिए ।

यसअघि यूएईमा सम्पन्न पहिलो चरणको वार्तालाई निरन्तरता दिँदै भएको छलफलमा नेपालले आफ्नो कर आधार संरक्षण र आय आर्जन हुने मुलुकको कराधिकार अर्थात् स्रोतमा आधारित कराधानको सिद्धान्तलाई प्राथमिकता दिएको छ ।

विदेशी लगानीबाट सिर्जना हुने आम्दानीमा नेपालले पाउनुपर्ने कर अधिकार सुरक्षित रहनुपर्ने विषयलाई नेपालले मुख्य अडानका रूपमा प्रस्तुत गरेको हो । प्रस्तावित सम्झौताका व्यवस्थाले दुवै देशको घरेलु कर प्रणाली, अन्तर्राष्ट्रिय कर नीति र आर्थिक प्राथमिकतामा पार्ने प्रभावबारे पनि छलफल भएको छ ।

नेपालले यूएईबाट जलविद्युत्, नवीकरणीय ऊर्जा, पर्यटन तथा आतिथ्य सत्कार, पूर्वाधार विकास र उत्पादनमूलक क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्ने लक्ष्य राखेको छ । त्यसका लागि लगानीमैत्री कर वातावरण निर्माण, दोहोरो कराधानको अन्त्य र कर प्रणालीमा नीतिगत सुनिश्चितता कायम गर्ने विषयमा दुवै पक्षबीच छलफल भएको जनाइएको छ ।

दोहोरो कराधान सम्झौता कार्यान्वयनमा आएमा नेपाल र यूएईका लगानीकर्ता तथा व्यवसायीले एउटै आम्दानीमा दुवै देशमा दोहोरो करको भार बेहोर्नुपर्ने अवस्था कम हुनेछ । यसले सीमापार लगानी र व्यवसाय सञ्चालनलाई सहज बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

सम्झौताले अन्तिम रूप पाएपछि नेपाल–यूएई आर्थिक साझेदारी थप सुदृढ हुने, द्विपक्षीय व्यापार विस्तार हुने र नेपालका प्राथमिकताप्राप्त क्षेत्रमा यूएईको पुँजी तथा प्रविधि भित्र्याउन सहयोग पुग्ने सरकारको विश्वास छ ।

तर, सम्झौताको महत्त्वपूर्ण पक्ष नेपालमा सिर्जना हुने आम्दानीमा नेपालको कर लगाउने अधिकार कति सुरक्षित रहन्छ भन्ने हुनेछ । लगानी आकर्षित गर्ने वातावरण र नेपालको राजस्व हितबीच सन्तुलन कायम गर्नु प्रस्तावित डीटीएएको मुख्य चुनौती हुनेछ ।

शेयर गर्नुहोस

Sanima Reliance Life Insurance Company

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया