गण्डकीमा विद्युत् चुहावट नियन्त्रण र सेवा सुधारमा जोड, वितरण केन्द्र प्रमुखलाई ऊर्जामन्त्रीको निर्देशन
- BFIS News
- 2026 Nov 28 11:37
काठमाडौं, मंसिर १२ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय सेवा सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूलाई सक्रियतापूर्वक काम गर्न निर्देशन दिनुभएको छ ।
नेपाल विद्युत् प्राधिकरणको गण्डकी प्रादेशिक कार्यालय तथा प्रदेशअन्तर्गतका वितरण केन्द्र प्रमुखहरूसँगको छलफलमा मन्त्री श्रेष्ठले विद्युत् महसुल सङ्कलन र ट्रान्सफर्मर जल्ने घटनामा आएको कमी सकारात्मक भए पनि चुहावट नियन्त्रण, पुराना संरचनाको स्तरोन्नति र सेवा प्रवाहमा थप सुधार आवश्यक रहेको बताउनुभयो ।
उहाँले विद्युत् उत्पादन र आपूर्ति बढाउनु मात्रै पर्याप्त नहुने उल्लेख गर्दै उपभोक्तालाई गुणस्तरीय, सुरक्षित र अविच्छिन्न विद्युत् सेवा उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो । चुहावट नियन्त्रण, पूर्वाधार स्तरोन्नति र विपद् प्रतिरोधी वितरण प्रणाली निर्माणमा प्राधिकरणका सबै तहले जिम्मेवारीपूर्वक काम गर्नुपर्ने उहाँको भनाइ थियो ।
प्राधिकरणले गण्डकी प्रदेशका ११ जिल्लामा पाँच लाख ३५ हजारभन्दा बढी ग्राहकलाई विद्युत् सेवा प्रदान गर्दै आएको छ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा एक अर्ब ५८ करोड ११ लाख रुपैयाँभन्दा बढी विद्युत् महसुल सङ्कलन भएको छ । यो लक्ष्यको ९९.१ प्रतिशत हो ।
त्यस्तै, अघिल्लो आर्थिक वर्षको तुलनामा ट्रान्सफर्मर जल्ने घटनामा ७२.५ प्रतिशतभन्दा बढी कमी आएको छ । गत आर्थिक वर्ष २०८२/८३ मा ३१३ वटा ट्रान्सफर्मर जलेकोमा चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म ८६ वटा मात्र जलेका छन् ।
गण्डकी प्रदेशमा १३ वटा वितरण केन्द्र, चार हजार ७९६ वितरण ट्रान्सफर्मर र २८ वटा ३३/११ केभी सबस्टेसनमार्फत विद्युत् सेवा प्रवाह भइरहेको छ । प्रदेशमा विद्युत् चुहावट ६.७८ प्रतिशत रहेको छ, जुन चालु आर्थिक वर्षको ६.६५ प्रतिशत लक्ष्यभन्दा ०.१३ प्रतिशत बिन्दुले बढी हो । चुहावटलाई निर्धारित सीमाभित्र ल्याउन प्रभावकारी कदम चाल्न मन्त्री श्रेष्ठले निर्देशन दिनुभयो ।
प्राकृतिक विपद्का कारण गण्डकी प्रदेशको विद्युत् वितरण संरचनामा करिब ११ करोड १० लाख रुपैयाँ बराबरको क्षति पुगेको छ । बाढीपहिरोका कारण ६८ किलोमिटर ३३ केभी लाइन, ७९ किलोमिटर ११ केभी लाइन, ६३ किलोमिटर एलटी लाइन, ७३१ वटा पोल र ५७ वटा ट्रान्सफर्मरमा क्षति पुगेको छ ।
क्षतिग्रस्त संरचनाको पुनःस्थापनाका लागि विशेष बजेट व्यवस्था गर्नुपर्ने विषयमा पनि छलफल भएको थियो ।
कार्यक्रममा नेपाल विद्युत् प्राधिकरण गण्डकी प्रादेशिक कार्यालयका प्रमुख सुरज गौतमले कार्यालयको कार्यप्रगति, सेवा प्रवाहको अवस्था र आगामी दिनमा सुधार गर्नुपर्ने विषयबारे जानकारी गराउनुभएको थियो ।
![$adHeader[0]['title']](https://bfisnews.com/images/bigyapan/1794925158_1200x100.gif)




 (3) (1).gif)


.gif)
.gif)









प्रतिक्रिया