नेपालको अर्थतन्त्रलाई उकास्ने हो भने राष्ट्र बैंकले कर्जा र निक्षेपको व्याजदरमा क्याप लगाउनु पर्छ
- पुरूषोत्तम सुवेदी
- 2023 Nov Tue 06:49
काठमाडौं । नेपालमा मौद्रिक नीतिको अभ्यास सुरु भएको करिव २० दशक भयो । सुरुवाती दिनमा मौद्रिक नीति प्रत्यक्षरूपमा आर्थिक स्थायित्व र अप्रत्यक्ष रूपमा आर्थिक वृद्धि तथा गरिबी निवारणतर्फ केन्द्रित थियो । आर्थिक वृद्धि र आर्थिक स्थायित्वजस्ता परस्पर विरोधी नीति एकैसाथ लिएर अगाडी बढेको राष्ट्र बैंकले पछिल्ला दिनमा मूल्यबृद्धिको नियन्त्रण र वित्तीय समावेशीकरणलाई पनि ठुलो मुद्दाको रुपमा अगाडी सार्दै काम गरिरहेको छ ।
मौद्रिक नीति मार्फत यि सबै कुराहरु एक साथ प्राप्त गर्न कठिन छ । आर्थिक वृद्धिका लागि व्यापकरूपमा लगानी बढाउनुपर्छ । यसका लागि पर्याप्त कर्जा सिर्जना गर्नुपर्ने हुन्छ । अर्कातिर व्यापक कर्जा सिर्जनाले मुद्राप्रदाय बढ्ने र मुद्रास्फीतिका कारण मूल्य स्थायित्वमा असर गर्छ । फलस्वरूप, लगानी अनिश्चित बनाई उत्पादन, रोजगारी, आय र बचतमा नकारात्मक असर पर्छ । अर्थतन्त्रमा कर्जाको सिर्जना र ब्याजदर नियन्त्रण गरी मुद्राको आपूर्तिलाई वाञ्छित सीमाभित्र राख्नु मौद्रिक नीतिको लक्ष्य हो । यसमार्फत् मूल्य, विनिमय दर, भुक्तानी सन्तुलन, वित्तीय क्षेत्र स्थायित्व कायम गरी आर्थिक विकासलाई सहयोग पुर्याउनु यसको कर्तव्य हुन्छ ।
यिनै उद्देश्य प्राप्तिका लागि नेपाल राष्ट्र बैंकले समय सापेक्ष नीतिगत व्यवस्थामा परिवर्तन गर्दै आइरहेको छ । कर्जा विस्तार व्यापक रुपमा भयो तर यसले निम्न आय भएका वर्गलाई समेट्न सकेन भन्ने कुरा आए पछि बाणिज्य बैंकले कुल कर्जाको ५ प्रतिशत रकम लघुवित्त वित्तीय संस्था मार्फत प्रवाह गर्दै समावेशीकरणको मुद्दालाई संबोधन गर्दै आइरहेका छन् ।
बैंक वित्तीय संस्थाको कर्जा गैरउत्पादनशिल क्षेत्रमा प्रवाह भयो भन्ने भए पछि निश्चित प्रतिशत उत्पादनशिल क्षेत्रमा प्रवाह गर्नु पर्ने अवधारणाको विकास भयो । मौद्रिक नीतिले कर्जा विस्तारका क्षेत्रमा धेरै नै वित्तीय उपकरण र उपायहरु अपनाएको पाइन्छ । जसले गर्दा कर्जाको पाटोमा धेरै नै सुधारका काम भएका छन् ।
तर व्याजदरमा भने मौद्रिक नीतिले ठ्याक्कै काम गर्न सकेको छैन । नेपालको मौद्रिक नीति कार्यान्वयन गर्ने अप्रत्यक्ष उपकरण बैंकदर, खुलाबजार प्रक्रिया, अनिवार्य नगद अनुपात हुन् । बैंकदर केवल बैंक तथा वित्तीय संस्थाले केन्द्रीय बैंकबाट ऋण लिनुपर्ने अवस्थामा मात्र प्रभावकारी हुन्छ । वित्तीय क्षेत्रमा प्रयाप्त तरलता हुँदा यस्ता उपकरणले केहि हदसम्म काम गर्छ । राष्ट्र बैंकले केहि समय अगाडी आधार व्याजदर, सिसिडी रेसियो, व्याजदर कोरिडोर लगायतका अवधारणा पनि ल्यायो । यति धेरै उपायहरु अपनाउदा अनपाउदै पनि तरलता अभावको समयमा यि उपकरणले प्रभाकारी रुपमा काम गर्न सकेको छैन । राष्ट्र बैंकले किन व्याजदरलाई वान्छित सिमा भित्र राख्न सकेन भनेर प्रश्न यथावत छ ।
मौद्रिक नीतिका यति धेरै उपकरणहरु भरपुर उपयोग गर्दा समेत अझै पनि किन स्प्रेडदरलाई ४ प्रतिशतमा क्याप लगाउनु, साधारण निक्षेप र मुद्दती निक्षेप विचरको अन्तरमा क्याप लगाउनु, निक्षेप र कर्जाको अन्तरमा क्याप लगाउनु परिरहेको छ । एकातिर मौद्रिक नीतिले अपनाएका विभिन्न उपकरण र औजारहरु प्रयोगमा आएको छ भने अर्को तर्फ व्याजदर नियन्त्रण गर्न नसकेर प्रत्यक्ष अप्रत्यक्ष रुपमा विभिन्न च्यानलको प्रयोग गरेर हस्तक्षेप पनि गर्नु परेको छ । राष्ट्र बैंक व्याजदरलाई नियन्त्रण गर्न अनेकौ उपाय लगाइरहेको छ तर पनि सफल हुन सकेको छैन ।
व्याजदरको स्थायित्वमा कुनै पनि मौद्रिक उपकरण प्रभावकारी नदेखिदै गर्दा अव के गर्ने त भन्ने प्रश्न उठिरहेको छ । यो केन्द्रिय बैंक, बैंक वित्तीय संस्था, व्यवसायीदेखि आम सर्वसाधारणसम्मको मुद्दा बनेको छ । अव यो समस्याबाट मुक्ति पाउने एक मात्रै उपाय भनेको निक्षेप र कर्जाको व्याजदरमा क्याप लगाउनु पर्छ ।
खुला अर्थतन्त्रमा यस्तो कुरा गर्नु जायज बहस नहोला तर हामी नेपालीको बाध्यता पनि हो । व्याजदर नियन्त्रण गर्नु र स्थायित्व कायम गर्नु एकदमै गाह्रो काम हो । माग र आपुर्तीको सन्तुलन मिलाउन कहिले पनि सकिदैन । त्यसमा पनि हामी समाजवाद उन्मुख खुला अर्थतन्त्र भन्छौ । बाफिया मार्फत नेपाल राष्ट्र बैंकले व्याजदरलाई सिधै हस्तक्षेप गर्न नमिले पनि विभिन्न उपकरण उपयोग गरेर नियन्त्रण गरिरहेको देखिन्छ ।
राष्ट्र बैंकले जति सुकै हस्तक्षेपकारी भुमिका निर्वाह गर्दा पनि नियन्त्रणमा नआएको हुँदा नेपालले छिमेकी राष्ट्रबाट केहि पाठ सिक्नु पर्छ । चीनमा अझै पनि व्याजदरमा नियन्त्रण छ । भारतमै पनि विभिन्न टुल प्रयोग गरेर व्याजदरमा नियन्त्रण गरिएको छ । विश्वका जुनसुकै देशले व्याजदर नियन्त्रण गरेका छन् । भारतले आजका दिनमा विभिन्न टुल प्रयोग गरेर नियन्त्रण गर्नु भन्दा अगाडी निक्षेप र कर्जाको व्याजदरमा क्याप लगाएरै नियन्त्रण गरेको थियो । बजारमा विस्तारै परिपक्वता आए पछि बल्ल खुला छाडिदिएको हो । चीन जस्तो अर्थतन्त्रमा शक्तिशाली राष्ट्रले अझै पनि व्याजदरमा नियन्त्रण कायमै राखेको देख्न सकिन्छ ।
हाम्रा छिमेकी मुलुकहरुलाई पहिला नै थाहा थियो बजार डिम्याण्ड र सप्लाइले चल्दैन भनेर । बजारमा परिपक्वता नआएसम्म डिम्याण्ड र सप्लाइलाई नियन्त्रणमा राख्नै पर्छ । नेपालमा स्थायित्वको मुख्य उद्देश्य हासिल गर्न मौद्रिकभन्दा गैरमौद्रिक कारण बाधक देखिन्छन् ।
सिद्धान्ततः मौद्रिक नीतिका कारण मुद्रा प्रदाय वाञ्छित सीमाभन्दा बढी भएमा मूल्य बढ्छ । मुद्राप्रदाय केन्द्रीय बैंक, बैंक तथा वित्तीय संस्था, निक्षेपकर्ता र लगानीकर्ताको व्यवहारले निर्धारण गर्छ । मुद्रा आपूर्तिको प्रमुख खेलाडी केन्द्रीय बैंक भएकाले उसले आफ्नो व्यवहार नियन्त्रणमा राखे पनि बाँकी संस्थाको व्यवहारमा नियन्त्रण राख्न सक्तैन ।
मुद्रा प्रदाय खुद वैदेशिक र आन्तरिक सम्पत्तिले निर्धारण गर्छ । खुद वैदेशिक सम्पत्तिमा वृद्धि हुँदा मुद्रा प्रदाय बढ्छ । विदेशी मुद्रा आर्जनका प्रमुख स्रोत अन्तर्राष्ट्रिय व्यापार, वैदेशिक सहायता, लगानी, रेमिट्यान्स र पर्यटन आदिबाट प्राप्त हुने आन्दानीका साथै सरकारी खर्चमा केन्द्रीय बैंकको पूर्ण नियन्त्रण हुदैन ।
यसैगरी खुद आन्तरिक सम्पत्तिमा वृद्धि हुँदा पनि मुद्रा आपूर्ति बढ्छ । यसअन्तर्गत केन्द्रीय बैंकबाट सरकार, सरकारी संस्थान, बैंक तथा वित्तीय संस्था र निजी क्षेत्रमा गएको कर्जा पर्छन् । खुला अर्थतन्त्रमा मुद्राप्रदाय केन्द्रीय बैंकको नियन्त्रणबाहिर रहनुका साथै बाह्य मुलुकको मुद्रास्फीति पनि आयातित हुन्छ भने बन्द अर्थतन्त्रमा आन्तरिक उत्पादन, बिचौलिया प्रवृत्ति, जनसंख्याको आकार, उपभोग प्रवृत्ति तथा मौद्रिक र वित्तीय नीति जिम्मेवार रहन्छन् ।
विकसित उत्पादन प्रणालीको अभाव, समस्याग्रस्त औद्योगिक क्षेत्र, अवैध असुली, कार्टेलिङ र कालोबजारीका कारण आपूर्ति अवरोधजस्ता संरचनात्मक कारणले नेपालको मूल्यबृद्धिदेखि लिएर समग्र आर्थिक गतिविधिमा भुमिका खेलिरहेको हुन्छ । उपर्युक्त लागत प्रेरित कारणहरूको यथोचित व्यवस्थापन नभएसम्म मौद्रिक नीति प्रभावकारी हुनसत्तैन । त्यसैले मौद्रिक नीतिको प्रभावकारी कार्यान्वयन र स्थायित्व चाहने हो भने राष्ट्र बैंकले निक्षेप र कर्जाको व्याजदरमा सिमा तोक्ने बाहेक अन्य विकल्प छैन । नेपालले सुरुवाति दिनदेखिनै निक्षेप र कर्जा लगानीको अधिकतम व्याजदर यति हो भनेर क्याप लगाउनु पर्थ्यो । अझै पनि बजार परिपक्व नभएको हुँदा अवकी केहि वर्षसम्म सरकारले नेपाल राष्ट्र बैंकलाई निक्षेपमा यति प्रतिशत भन्दा बढि दिन नपाउने र कर्जामा पनि यति प्रतिशत भन्दा धेरै प्रवाह गर्न नपाउने भनेर क्याप लगाउनुपर्छ ।
प्रतिक्रिया