Nepal Life

राष्ट्रिय अन्तर्राष्ट्रिय आर्थिक क्रियाकलापबाट बैंकलाई परेको प्रभावः हिमालयन बैंकका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठ विचार

Global Ime detail Page
  • प्रचण्ड बहादुर श्रेष्ठ
  • 2024 Jan Fri 17:01
राष्ट्रिय अन्तर्राष्ट्रिय आर्थिक क्रियाकलापबाट बैंकलाई परेको प्रभावः हिमालयन बैंकका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठ विचार
Sanima Reliance

काठमाडौं । कोरोना महामारीबाट आक्रान्त भएको विश्व युक्रेन र रुस बीचको युद्धबाट अझै प्रभावित भई विश्वव्यापी आर्थिक गतिविधिको उत्थान सुस्त र असमान रहेको छ । यस वर्षको सुरुमा अर्थतन्त्रमा गतिशिलता तथा लचिलोपनको अनुभव भएतापनि, मुद्रास्फीति दर गत वर्षको उच्चतम विन्दुबाट घटाउने प्रयास सार्थक नभई, दैनिक जीवनयापन गर्न लाग्ने लागतको बढ्दै गएको छ ।

NIMB

आर्थिक गतिविधि, विशेष गरी उदयमान बजार र विकासशील अर्थतन्त्रहरूमा अझै पनि महामारी पूर्वको अवस्थामा पुग्न समय लाग्ने र त्यस क्षेत्रहरू बीचको भिन्नताहरू केही समय कायम नै रहनेछन् । आर्थिक गतिविधिहरुमा गतिशिलता प्रदान गर्न विभिन्न शक्तिहरूले वाधा पुर्याईरहेका छन् । कतिपय अवस्थामा महामारी, युक्रेनमा भएको युद्ध र बढ्दो भू—आर्थिक तथा राजनीतिक विखण्डनको दीर्घकालीन परिणाम प्रतिबिम्बित गर्दछन् । मुद्रास्फीति कम गर्न ल्याईएको आवश्यक मौद्रिक नीति, वित्तीय संस्थाहरुद्वारा ऋण लगानीमा गरिएको कडाईका प्रभावहरू तथा विभिन्न मौसमी घटनाहरूको प्रभाव चक्रीय प्रकृतिका रहेका छन् ।

युद्धको कारण ऊर्जा र खाद्य बजारमा भएको अवरोध, र दशकौंको उच्च मुद्रास्फीतिसँग लड्न विश्वव्यापी रुपमा मौद्रिक नीति मार्फत कडाई गरिएता पनि, विश्वव्यापी अर्थतन्त्र सुस्त गतिमा अगाडी बढेको छ, तर रोकिएको छैन । विशेष गरी उदयमान बजार र विकासशील अर्थव्यवस्थाहरूमा आर्थिक गतिविधि पुनःउत्थानको दिशामा अगाडि बढेता पनि महामारी पूर्वको अवस्था अझै टाढा र पहुँच बाहिर नै रहेको देखिन्छ ।

विश्वव्यापी घटनाको प्रभाव र त्यसको परिणाम स्वरुप अत्याधिक मात्रामा बढेको इन्धनको मुल्यका कारण विशेषगरी नेपाल जस्तो निम्न/मध्यआय भएको मुलुक तथा अविकसित र अल्पविकसित मुलुकहरु मात्र नभई विकसित मुलुकहरुमा मुद्रस्फ्रीति अध्याधिक मात्रामा बढी समग्र जनताको क्रयशक्ति क्षीण हुँदै गएको कारण हालका समयमा विश्व अर्थतन्त्र मन्द गतिमा मात्र वृद्धि भएको देखिन्छ । त्यसमा पनि बढेको इन्धनको मुल्यको असर अन्तरदेशिय व्यापारमा परी धेरै मुलुकहरुको व्यापार घाटा चुलिँदो छ । त्यसको प्रभावले मूल्य सूचकाङ्कमा बृद्धि भइ समग्र जीवन लागत बढेको छ ।

तथापी, विश्वव्यापी महामारीमा आएको कमिको कारण, विश्व श्रमबजारको रोजगारदाताहरुबाट श्रमिकहरुको मागमा भएको बृद्धि महामारी पुर्वको अवस्थामा फर्किएको छ । त्यसैले नेपालबाट वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिने श्रमिकहरुको संख्यामा उल्लेख्य मात्रमा बृद्धि भएको छ । विश्वबैंकले प्रकाशित गरेका प्रतिवेदनमा ओ इ सि डी अर्थतन्त्रको बलियो श्रम बजारको अवस्था, मध्यपुर्वका मुलुकहरुमा अर्धदक्ष श्रमिकहरुको मागमा भएको बृद्धि तथा खाद्यवस्तुहरुको मूल्य बृद्धि बाट लाभ लिदै सन् २०२२ मा दक्षिण एसियामा विप्रेषण १२% ले बृद्धि भई अमेरिकी डलर १७६ अर्व पुगेको छ । यसबाट वैदेशिक मुद्राको मुख्य श्रोतको रुपमा विप्रेषणमा निर्भर मुलुक नेपालमा विप्रेषणले कुल गाहर्स्थ उत्पादनक २३% हिस्सा ओगटेको र कुल गाहर्स्थ उत्पादनमा विप्रेषणको प्रमुख योगदान भएको मुलुकमा ९ औ स्थानमा रहेको छ ।

त्यस्तै नेपाल राष्ट्र बैंकद्वारा २०७९/०८० को वार्षिक तथ्याङ्कको आधारमा प्रकाशित ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदनमा विप्रेषण २१.२% ले बृद्धि भई रु. १२२०.५६ अर्ब पुगेको छ । जुन अघिल्लो आ.व मा ४.८% ले मात्र बृद्धि भएको थियो । अमेरिकी डलरमा यो बृद्धि १२.१% भई ९.३३ अर्ब डलर कायम रहेको छ । अघिल्लो आ.व मा यस्तो बृद्धि २.२% को मात्र रहेको थियो ।

साथै मौद्रिक नीति मार्फत गरिएको कडाई, विभिन्न वस्तुको आयातमा गरिएको प्रतिबन्ध, लगानी योग्य तरलताको अभाव जस्ता कारणहरुले गर्दा समग्रमा कर्जा तथा निक्षेपको ब्याजमा उल्लेखनीय बृद्धि भएको छ । कर्जामा बढ्दो ब्याजका कारण लगानीको प्रतिफल सुनिश्चित हुनेमा शंका भई आर्थिक गतिविधिमा ह्रास आएको छ । त्यसैको फलस्वरुप सरकारी आम्दानी खस्किएर सरकारी खर्च (चालु तथा पुँजिगत दुवै) मा समस्या भएको छ । राजनैतिक अस्थिरता तथा अन्य आन्तरिक तथा बाह्य कारणहरुले गर्दा अर्थतन्त्र शिथिल भई आर्थिक बृद्धि दर न्यून रहन पुगेको छ ।

नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति तथा आ.व. ०७९/०८० को आर्थिक तथा वित्तीय स्थितिमा उल्लेख भएको आर्थिक तथा वित्तीय स्थितिअनुसार समीक्षा वर्षमा देशको आर्थिक वृद्धिदर केन्द्रीय तथ्याङ्क विभागको अनुमानमा उत्पादकको मुल्यमा १.८६ प्रतिशत रहने तथा आधार मुल्यमा २.१६ प्रतिशत रहने छ । अघिल्लो वर्ष यसको वृद्धिदर ५.६१ प्रतिशत रहेको थियो ।

विश्व बजारमा बढ्दो तेलको मुल्य, विश्व अर्थतन्त्रमा बढ्दै गएको मुद्रास्फ्रीति र त्यसबाट उत्पन्न भएको मन्दीको त्रास, बढ्दो जीवनको लागत, भु—राजनैतिक तनाव, डलरको तुलनामा नेपाली मुद्रामा भएको अवमुल्यन, लगानी योग्य तरलताको अभाव, बढ्दो व्याजदर तथा बढ्दो व्यापार घाटाको कारणले देश तथा विश्व अर्थतन्त्रमा परेको प्रतिकुल प्रभावले समग्रमा आर्थिक बृद्धिदर न्यून रहने प्रक्षेपण गरिएको छ । देशको उत्पादन तथा आपूर्ति व्यवस्था विथोलिएको छ । तसर्थ वार्षिक औसत मुद्रास्फीति ७ प्रतिशत भित्र राख्ने लक्ष्य राखिएकोमा ७.७४ प्रतिशत कायम भएको छ जुन अघिल्लो आ.व. मा ६.३२ प्रतिशतमा थियो ।

आर्थिक वर्ष २०७९/०८० को कुल वस्तु निर्यात अघिल्लो वर्षको तुलनामा यस वर्ष २१.४ प्रतिशतले घटी रु. १ खर्ब ५७ अर्ब १४ करोडमा सिमित रहन पुगेको छ । अघिल्लो वर्ष वस्तु निर्यात ४१.७ प्रतिशतले बढेको थियो । यसैगरी वस्तु आयात अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा १६.१ प्रतिशतले घटी रु. १६ खर्ब ११ अर्ब ७३ करोड पुगेको छ । वस्तु आयात अघिल्लो वर्ष २४.७ प्रतिशतले वृद्धि भएको थियो । समग्रमा व्यापार घाटा १५.५० प्रतिशतले घटि १४ खर्ब ५४ अर्ब ५९ करोड पुगेको छ ।

अघिल्लो वर्ष रु. ६ खर्ब २३ अर्ब ३८ करोडले घाटामा रहेको चालू खाता र २ खर्ब ५५ अर्ब २६ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा वर्षमा चालु खाता घाटा रु. ७२ अर्ब १६ करोडमा र शोधनान्तर स्थिति रु. २ खर्ब ९० अर्ब ५२ करोडले बचतमा रहेको छ । चालु खाता घाटाले आन्तरिक मागको तुलनामा आन्तरिक उत्पादन घटी रहेको पुष्टि गर्दै वित्तीय स्रोतहरुको माग र पूर्ति बीचको अन्तर बढिरहेको देखिन्छ ।

आ.व. २०७९/०८० असार मसान्त सम्ममा विदेशी मुद्रा सञ्चिति २६.६ प्रतिशतले बढेर रु. १५ खर्ब ३९ अर्ब ३६ करोड रहेको छ । अघिल्लो वर्ष उक्त सञ्चिति १२ खर्ब १५ अर्ब ८० करोड रहेको थियो । उक्त सञ्चितिले २०७९/०८० को सोही अवधि सम्मको आयातलाई आधार मान्दा १० महिनाको लागि वस्तु र सेवाको आयात धान्न पर्याप्त हुने अनुमान गरिएको छ ।

त्यसै गरी समीक्षा वर्षमा आन्तरिक ऋण रु. ११ खर्ब २५ अर्ब १९ करोड र बाह्य ऋण रु. १० खर्ब ९३ अर्ब ३५ करोड गरी संघीय सरकारको सार्वजनिक ऋण दायित्व रु. २२ खर्ब १८ अर्ब ५४ करोड पुगेको छ । यस्तो ऋण देशको कुल गार्हस्थ उत्पादनको ४१.२ प्रतिशत हुन आउँछ । अघिल्लो वर्ष यस्तो ऋण रु. २० खर्ब १० अर्ब १३ करोड रहेको थियो जुन कुल गार्हस्थ उत्पादनको ४०.७ प्रतिशत थियो ।

आर्थिक वर्ष २०७९/०८० मा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप परिचालन १२.३ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जा तथा लगानी ३.८ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष निक्षेप परिचालन ९.० प्रतिशत तथा निजी क्षेत्रमा प्रवाहित कर्जा तथा लगानी १३.१ प्रतिशतले बढेको थियो ।

विकास निर्माणका कामहरुमा ढिलाई भईरहेको छ । त्यसै गरी विश्वमा व्याप्त आर्थिक तथा राजनैतिक अवस्था, मन्दीको त्रास, बढ्दो मुद्रास्फ्रिति, विभिन्न मुलुकहरु बिचको द्वन्द तथा अन्य विविध कारणबाट समग्र विश्व श्रम बजारमा श्रमको मागमा उतारचढाव रहेको छ । नेपाली मुद्राको अवमुल्यन, चुलिँदो व्यापार घाटा तथा अस्थिर शोधनान्तर स्थितिले नकारात्मक अवस्थाको श्रृजना गरी अर्थतन्त्रमा व्यापक असर परेको छ ।

त्यसै गरी देश भित्र राजनैतिक अस्थिरताले गर्दा छोटो समयमा हुने नीति नियम परिवर्तनले समग्र अर्थतन्त्र प्रभावित भई लगानी योग्य वातावरण नभएकोले तथा लगानी योग्य तरलताको अभावका कारण बैंकिङ्ग क्षेत्रमा अस्वस्थ्य प्रतिष्पर्धा हुन गई निक्षेप तथा कर्जाको ब्याजदर बढी निष्कृय कर्जा बढ्दै गएको छ ।

तसर्थ बैंकले विभिन्न सेवाहरुको स्तरोन्नति गरी निक्षेप योजनाहरुमा थप सुविधाहरु प्रदान गर्दै ग्राहकहरुलाई प्रोत्साहन गरिरहेको छ । त्यसैगरि प्रविधिमा भएको विकासले ग्राहकहरुलाई उच्चतम सेवा प्रदान गर्न उक्त परिवर्तनलाई आत्मसाथ गर्नुपर्ने आवश्यकता छ । तसर्थ ग्राहकहरुलाई बैंकिङ्ग सेवामा सन्तुष्ट बनाउन र सेवा प्रवाह निरन्तर प्रदान गर्न बैंकहरुले नयाँ नयाँ प्रविधिहरु ल्याउन मेहनत गरिरहेका छन् ।

बैंकले २०७९/०८० मा आफ्नो दिर्घकालिन लक्ष्य तथा योजनमा रहेर सिभिल बैंकलाई सफलतापूर्वक प्राप्ति गरी मिति २०७९ फाल्गुन १२ बाट एकिकृत कारोबार शुरु गरे पश्चात बैंकले आफ्नो दैनिक कार्यमा स्तरोन्नती गर्ने, अनावश्यक खर्चहरुमा कटौती गर्ने, आफ्नो सेवा तथा सुविधाहरुको पहुँच बढाउने तथा प्रतिस्पर्धामा सक्षम भई बैंक एक सबल र सबैको रोजाईको बैंक बन्ने विश्वास छ । साथै, प्राप्ति पश्चात प्राप्त भएको विशेषज्ञ मानव संसाधनले नवीनता तथा नयाँ प्रविधिलाई आत्मसाथ गरी ग्राहक तथा शेयरधनीहरुलाई विशेष फाइदा पुग्ने छ ।

प्राप्ति पश्चात बैंकले देशभरि रहेका शाखाहरु मध्ये नजिकै रहेका केही शाखा कार्यालयहरुको स्थानान्तरण गर्ने तथा गाभ्ने प्रक्रिया शुरु गरेको छ । यसका साथै बैंकले विशेष गरी आफ्नो सम्पत्तीलाई सुढृढ गरी आफ्ना शेयरधनीहरुलाई समय सापेक्ष प्रतिफल दिने कार्यमा प्रतिवद्ध रहेको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया