Nepal Life

ऋण तिर्नु पर्दैन भन्ने भ्रममा नबस्न अर्थमन्त्री महतको आह्वान, बचतबाट लगेको ऋण कदापी मिनाहा हुँदैन

Global Ime detail Page
  • BFIS News
  • 2024 Feb Sat 16:28
ऋण तिर्नु पर्दैन भन्ने भ्रममा नबस्न  अर्थमन्त्री महतको आह्वान, बचतबाट लगेको ऋण कदापी मिनाहा हुँदैन
Sanima Reliance

काठमाडौँ । चौंथौ राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन काठमाडौँमा सुरु भएको छ । ‘स्वस्थ लघुवित्त,समृद्ध सदस्य’ नारासहित सुरु भएको सम्मेलनको उद्घाटन गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले लघुवित्तकै कारण नेपालका दूरदराजका नागरिक वित्तिय पहुँचमा पुग्न सफल भएको बताए ।

NIMB

नेपालका विपन्न वर्ग, गरिब र महिलामा लघुवित्त क्षेत्रले ठूलो उत्साह भरेको उल्लेख गर्दै डा. महतले जीविकोपार्जनमा समेत महत्वपूर्ण भूमिका खेलेको बताए । ७७ वटै जिल्लामा फैलिएका लघुवित्तले गाउँ गाउँका नागरिकमा बचत र ऋण परिचालनको ज्ञान समेत दिएको उनको भनाई थियो ।

प्रजातन्त्र र लोकतन्त्र आएपछि नेपालमा लघुवित्त र सहकारीमा धेरै विकास भएको स्मरण गर्दै उहाँले गरिबीलाई शून्यमा झार्ने, स्थानीय स्तरमा लघुउद्यम र स्वरोजगार बनाउने तथा स्थानीय अर्थतन्त्रलाई राष्ट्रिय अर्थतन्त्रमा जोड्न धेरै सहयोग पुगेको उल्लेख गरे । ‘अहिले लघुवित्तमा केही समस्या देखिएको छ,  यसलाई कसरी स्वस्थ बनाउने भन्ने सबैको चिन्ताको विषय हो । केही समस्यालाई देखाएर स्वार्थ समूहले खेल्ने प्रयास गरेको देखिएको छ, यस्तो राम्रो क्षेत्रलाई राजनीतिकरण गर्न खोज्नेहरुलाई कदापी सफल हुन दिनेछैनौँ’, महतले भने, ‘ऋण नतिर्न उस्काउने खतरनाक प्रवृत्ति हो । सरकार चुप लाग्दैन, सरकारको साथमा लघुवित्तकै सदस्य र बचतकर्ता मिलेर गलत प्रवृत्तीलाई हराउनुपर्छ ।’

उनले ऋण तिर्नु पर्दैन भन्ने भ्रममा नबस्न पनि आम ऋणीलाई आग्रह गरे । ‘लिएको ऋण तिर्न पर्दैन, हामी माफी गर्दिन्छौँ भन्दै आसा जगाएर स्वार्थ समूह खेल्न खोज्दैछ ।  बचतकर्ताको बचतबाट लगेको ऋण कदापी मिनाहा हुँदैन । बरु सरकारले विभिन्न सहजीकरण गरेको छ । ऋण त तिर्नैपर्छ । तिर्न पर्दैन भन्ने प्रवृति परास्त हुन्छ’ डा महतले भने । ऋण तिर्न पर्दैन भनेर भ्रम फैलाउनेलाई राज्यले सहन नसक्ने महतको चेतावनी थियो ।

लघुवित्तले अब आफ्नै उदेश्य अनुसार मात्रै काम गरेर आफूलाई सुधार गर्नुपन अथमन्त्रीका सुझाव थियो । लघुवित्तलाई नाफा कमाउने औजारको रुपमा नलिएर ग्रामिण विकास, लघु उद्यम र स्वरोजगारलाई केन्द्रमा राखेर काम गर्नुपर्ने पनि उनको आग्रह छ ।

उद्घाटन कार्यक्रममा नेपाल राष्ट्र बैंकका कायम मुकायम गभर्नर डा. निलम ढुंगाना तिम्सिनाले २१ प्रतिशत जनसंख्या औपचारिक वित्तीय पहुँचमा नहेरेको अवस्थामा लघुवित्तले खेलेको भूमिकाको प्रशंसा गरिन् । 

समावेशी विकासको लागि सरकारले विभिन्न कार्यक्रम ल्याउँदा पनि अपेक्षित सफलता हात नपरेको अवस्थामा लघुवित्तको सहायताले मात्रै समावेशी विकास भएको उनको भनाई थियो । ‘आर्थिक असमानता हटाउन, विपन्नलाई सम्पन्न बनाउन, गरिबी निवारण गर्न,  स्थानीय विकास लगायतमा लघुवित्तले खेलेको भूमिका निकै महत्वपूर्ण छ, हामी सबैले यसको प्रशंसा गर्नुपर्छ’, तिम्सिनाले भनिन्, ‘आय आर्जन तथा रोजगारीको सृजनामा लघुवित्तले राज्यलाई ठूलो गुन लगाएको छ ।

धेरै विषय सकारात्मक हुँदा हुँदै पनि लघुवित्तमा समस्या देखिन थालेकाले आफै सुध्रिनुपर्ने उनको सुझाव छ । निस्क्रिय कर्जा बढेर ६ प्रतिशत भन्दा माथि जाँदा जोखिम देखिएको भन्दै कायम मुकायम गभर्नर ढुंगानाले अवस्था थप बिग्रन नदिन सबैले जिम्मेवार भएर काम गर्नुपर्ने सुझाव दिइन् । 

कार्यक्रममा आयोजक समितिका अध्यक्ष शंकरमान श्रेष्ठले गरिब र विपन्न परिवारलाई नै लक्षित गरेर लघुवित्तको सुरुवात भएकोले बाटो बिराएकाहरु सही बाटोमा आउनु अहिलेको आवश्यकता रहेको बताए । नेपालमा तीन दशकअघिदेखि सेवा थालेका लघुवित्तले महिला, गरिब र विपन्नलाई एउटा युगबाट अर्कै युगमा लगेको उनको भनाई थियो ।

लघुवित्तमा पछिल्लो समय समस्या आउनुमा सहकारी संस्थाकै कमजोरी रहेको उनको भनाई थियो । ‘यो बीचमा लघुवित्तमा केही समस्या देखियो । लघुवित्त संस्थालाई कम्पनी ऐन अनुसार चलाउन थालियो, शेयरधनीले बढी नाफामा लैजाने खानका क्रियाकलाप गरे, लाभांस बाँड्ने क्रम बढ्यो, लघुवित्त त धेरै नाफा पाउने थलो रहेछ भनेर लगानी गर्नेहरुको बाढी आयो ।

लघुवित्तका सदस्यलाई हामीले शेयरहोल्डर बनाएनौँ, त्यहाँ ठूलो गल्ती भयो’, शंकरमान श्रेष्ठले भने, ‘ऋण प्रवाह गर्दा पनि लापरबाही भयो, सरकारले नयाँ लाइसेन्स खुलायो झन विकृति र विचलन आयो । अस्वस्थ प्रतिष्पर्धा भयो । बढी लगानी गर्न लगानीकर्तालाई तानातान गर्ने र ब्याजमा मनोमानी गर्ने विकृति देखिए ।‘

विगतका गल्तीबाट अब लघुवित्तहरु सुधारको बाटोमा लागेको भन्दै श्रेष्ठले यो सम्मेलनलाई नवयुगको सुरुवात मानेर अघि बढ्न आग्रह गर्नुभयो । लघुवित्त क्षेत्रमा समस्या देखिनु एउटा पाटो भएको तर अनावश्यक हल्ला र अफवाहले पनि अर्को समस्या थपेको उनको भनाई छ ।

लघुवित्त सदस्य सम्मेलनको उद्घाटन समारोहमा नेपाल लघुवित्त बैकर्स संघका अध्यक्ष रामबहादुर यादवले लघुवित्तको क्षेत्र विषम परिस्थितीबाट गुज्रिएको समयमा भएको यो सम्मेलनको ठूलो महत्व राख्ने बताए । 

विश्वका अरु थुप्रै देशमा लघुवित्त सम्मेलन हुने गरेको तर लघुवित्त सदस्य सम्मेलन भने नेपालमा मात्रै हुने गरेको भन्दै यादवले नेपालमा लघुवित्तहरुले कसरी आफूलाई सुधार गर्दैछन् भन्ने राम्रो प्रमाण यो सम्मेलनलाई पनि लिन सकिने उनले बताए । 

झण्डै ६० लाख जना सदस्यमार्फत गाउँ गाउँमा वित्तीय सचेतनासँगै लगानी र उद्यमलाई बढावा दिएको लघुवित्त क्षेत्रलाई सरकारले उपेक्षा गरेको भन्दै अध्यक्ष यादवले गुनासो गरे । दूरदराजमा आर्थिक गतिविधि फैलाउने र  विपन्नलाई उठाउने  तथा गरिबी अन्त्य र महिला सशक्तिकरण लगायतका क्षेत्रमा ठूलो योगदान दिएपनि सरकारले खासै ध्यान नदिनु पनि अहिलेको समस्याको कारण रहेको उनले उल्लेख गरे । 

यस्तै, लघुवित्त अभियन्ता तथा प्रतिनिधिसभा सदस्य योगेन्द्र मण्डलले आफू सांसद बन्नुमा लघुवित्तकर्मी महिला र गरिबहरुको योगदान रहेको बताए । सरकारले लघुवित्त सुधारको लागि विभिन्न नीति र भाषण गरेपनि व्यवहारमा लागू नभएको भन्दै मण्डलले लघुवित्तलाई देखाएर राजनीति गर्ने क्रम बढेको भन्दै असन्तुष्टि जनाए । 

आइतबारसम्म सञ्चालन हुने सम्मेलनमा लघुवित्त क्षेत्रका नियामक, नीतिगत र सरकारी निकायका प्रतिनिधि, लघुवित्त संस्थाका नेतृत्वकर्ता, सञ्चालक, लघुवित्तकर्मी, लघुवित्त सदस्य, विज्ञ, सरोकारवाला लगायत ८ सय जनाभन्दा धेरै सहभागि छन् ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया