Nepal Life

नयाँ गन्तव्यमा उडानको लक्ष्यसहित श्री एयरलाइन्सले थप्यो ८० सीट क्षमताका दुई विमान

Global Ime detail Page
  • BFIS News
  • 2024 Mar Tue 15:43
नयाँ गन्तव्यमा उडानको लक्ष्यसहित श्री एयरलाइन्सले थप्यो ८० सीट क्षमताका दुई विमान
Sanima Reliance

काठमाडौं। श्री एयरलाइन्सले ८० सीट क्षमताका दुईवटा ‘डास ८’ हवाईजहाज थपेको छ। श्री एयरले क्यानाडाको तत्कालीन बम्बार्डियर तथा हाल डि हेभिल्याण्ड अफ क्यानाडा निर्मित ८० सीट क्षमताका दुई वटा जहाज थपेको हो।

कलसाइन ‘नाइन एन-एओके तथा नाइन एन-एओएल’ रहेका दुई वटा जहाज अमेरिकाको होराइजन एयर तथा अलास्का एयर समेतले सञ्चालन गरिरहेको उल्लेख गर्दै हवाई सेवा प्रदायक श्री एयरलाइन्सले आरामदायी, सुरक्षित तथा यात्रुलाई कम ध्वनी अनुभुति हुने खालका रहेको जनाएको छ।

यी जहाजमा जडित इन्जिन ५४०० साफ्ट हर्षपावर भएको तथा क्यानाडाको प्राट एण्ड व्हिएनी कम्पनीबाट निर्मित भएका कारण अति भरपर्दो रहेको श्री’ले प्रेस नोट मार्फत जानकारी दिएको छ। १०,००० माइलको दुरी पूरा गरेर मंगलबार मात्रै यी जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको श्री एयरलाइन्सका कर्पोरेट प्रबन्धक अनिल मानन्धरले जारी गरेको प्रेस नोटमा उल्लेख छ।

दिवंगत उद्योगपति बनवारी लाल मित्तलले २०५५ सालमा हेलिप्कटरहरुबाट नेपालका अति दुर्गम तथा विकट, हिमाली क्षेत्रमा खाद्यन्न ढुवानी, पर्यटकीय क्षेत्रमा आकस्मिक उद्धार तथा पर्यटकीय सामानहरु ढुवानी, निर्माण सामाग्री, जलविद्युत र सडक आयोजना निर्माण गर्ने विशेष प्रकारका मेशिनरी ढुवानी गर्न एयर अनन्या स्थापना गरेका थिए। पछि नाम परिवर्तन गरेर श्री एयरलाइन्स कायम भएकामा छोटो समयमै नेपाली हवाई सेवा क्षेत्रमा सबैभन्दा ठूलो हेलिकप्टर कम्पनी हुन सफल भयो।

श्री एयरलाइन्स नेपाल तथा दक्षिण एशिया क्षेत्रबाट राष्ट्र संघ अन्तर्गतको विभिन्न शान्ति मिसन तथा डब्ल्युएफपीको हेलिकप्टरहरुबाट अन्तर्राष्ट्रिय चार्टर उडान समेत संचालन गर्ने पहिलो हवाई कम्पनी हो।

हेलिकप्टर बाहेक आफ्ना दश वटा विमानहरुबाट समेत अन्तरराष्ट्रिय यात्रु तथा विशेष समयमा कार्गो ढुवानी चार्टर उडान शुरु गरि छोटो समयमा सफलता प्राप्त गरेको र विदेशबाट विमान ल्याउन नपर्ने गरी आफ्ना विमानहरुबाट विरामीहरुलाई उपचारका लागि विदेश लाने सेवा समेत प्रदान गर्दै आएको जिकिर कम्पनीले गरेको छ।

तुम्लिङ्घटार तथा भरतपुर विमानस्थलमा समेत नियमित उडानहरु संचालन गरिदिन पर्यटन व्यवसायीहरु र यात्रुहरुको मागलाई सम्बोधन गर्न श्री एयरलाईन्सले निकट भविष्यमा थप गन्तव्यसहित हालका गन्तव्यमा थप उडान संचालन गरेर उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिवद्धता गरेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया