Nepal Life

पाँचतारे होटलको सङ्ख्या २२ पुग्यो, वार्षिक ३५ लाख पर्यटक धान्ने पूर्वाधार तयार

Global Ime detail Page
  • BFIS News
  • 2024 Mar Tue 17:05
पाँचतारे होटलको सङ्ख्या २२ पुग्यो, वार्षिक ३५ लाख पर्यटक धान्ने पूर्वाधार तयार
Sanima Reliance

काठमाडौं । नेपालमा सञ्चालित बुटिक लग्जरीसहित पाँचतारे होटलको सङ्ख्या २२ पुगेको छ। पर्यटन विभागका अनुसार यसवर्ष बुटिक लग्जरी पाँच तारेको वर्गीकरणमा एउटा र पाँचतारेको वर्गीकरणमा तीनवटा होटल थप भएका छन्।

भैरहवामा सञ्चालित सिद्धार्थ इन्टरनेश्नल, काठमाडौँको होटल ल्हासा इन्टरनेश्नल (दुसित प्रिन्सेस) र धुम्बाराहीको अकामा होटल पाँचतारे वर्गीकरणमा परेका छन् भने वर्णवास म्युजियम बुटिक होटल बुटिक लग्जरी पाँचतारेमा वर्गीकरणमा परेको विभागको होटल शाखाका अधिकृत चुनबहादुर तामाङले जानकारी दिए।

उनका अनुसार यससँगै पाँचतारे स्तरको बुटिक लग्जरी होटलको सङ्ख्या तीन पुगेको छ। यस वर्गमा यसअघि द्वारिकाज र बसेरा बुटिक होटल थिए। चेन होटल हिल्टन, जगदम्बा हस्पिटालिटी, होटल फरेष्टइन, बुढानिलकण्ठ हेरिटेजलगायत होटल पाँचतारे वर्गीकरणको प्रक्रियामा रहेको विभागले जनाएको छ।

विभागले पर्यटन ऐन–२०३५, होटेल, लज, रेष्टुराँ तथा रिसोर्ट, बार तथा पथ प्रदर्शक नियमावली २०३८ र पर्यटन उद्योग सेवाप्रवाह निर्देशिका, २०७० को व्यवस्था बमोजिम पाँच तारे डिलक्स र पाँच तारे स्तरमा वर्गीकरण भई इजाजतपत्र नियमित रुपमा अद्यावधिक गरेको हो।

विभागले सार्वजनिक गरेको होटलको वर्गीकरण अनुसार झापाको धुलाबारीमा सञ्चालित भेगस सिटी इन्टरटेन्मेन्ट प्रालि अन्तर्गतको होटल मेची क्राउन प्लाजा पाँच तारा डिलक्स होटलको स्तरमा सूचीकृत भएको छ।

झापाको विर्तामोडमा सञ्चालित होटल द किङ्सवरी र काठमाडौँको ताहाचलमा खुलेको सिटी होटल लिमिटेड (हायात प्लेस) ले पाँचतारे स्तरको वर्गीकरण पाएका छन्। पाँचतारे अन्य होटलमा तारागाउँ रिजेन्सी (हायात रिजेन्सी, सोल्टी होटल, होटल मेरियट, हायात प्यालेस, छाँयादेवी कम्प्लेक्सको (होटल अलफ्ट) छन्। होटल डेल अन्नपूर्ण, द मल्ल होटल, साङ्ग्रिला होटल, पोखरा ग्राण्ड, टाइगर वान प्रालि, सोल्टी वेष्टर्न, होटल सेन्ट्रल प्लाजा, होटल द किङ्सवरी र इच्छा होटल पाँचतारे वर्गीकरणमा परेका हुन्। विभागको विवरणमा चारतारे स्तरका होटलको सङ्ख्या ३४ छ।

होटल सङ्घ नेपालका अनुसार नेपालमा वार्षिक ३५ लाख पर्यटक धान्ने होटल पूर्वाधार छन्। सङ्घका अध्यक्ष विनायक शाहले दैनिक देशभर दैनिक १० हजारभन्दा बढी पाहुना धान्ने होटलका शय्या उपलब्ध भएको बताए। होटल सङ्घमा देशभरका पाँच हजारभन्दा बढी होटल आबद्ध छन्। अध्यक्ष शाहले अबको दुई वर्षभित्रमा थप १८ देखि २० वटा स्तरीय तारे होटल सञ्चालनमा आउने बताए।

नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०२३ मा १० लाख १४ हजार ८८२ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन्। सन् २०२४ को फेब्रुअरीमा मात्रै ९७ हजार ४२६ विदेशी पर्यटक नेपाल भित्रिएका छन्। वर्षको पहिलो महिना जनवरीमा ७९ हजार एक सय विदेशी पर्यटक नेपाल भित्रिएका थिए।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया