Nepal Life

युवापुस्तामा देखिएको अविश्वास र उग्र निराशालाई सकारात्मकतामा बदल्न आवश्यक छ : प्रधानमन्त्री

Global Ime detail Page
  • BFIS News
  • 2024 Apr Sat 17:52
युवापुस्तामा देखिएको अविश्वास र उग्र निराशालाई सकारात्मकतामा बदल्न आवश्यक छ : प्रधानमन्त्री
Sanima Reliance

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवा पुस्तामा देखिएको उग्र निराशा र नकारात्मकतालाई सुधार गर्दै नेपालमा केही हुन्छ भन्ने विश्वास जगाउनुपर्ने बताएका छन्।

NIMB

विराट चक्र विज्ञान एवं लुम्बिनी आध्यात्मिक जागरण उत्सवका अवसरमा आज लुम्बिनीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले युवा जनशक्तिको वैदेशिक पलायनलाई रोक्नुपर्नेमा जोड दिए।

“राष्ट्रप्रेम र राज्यप्रति युवापुस्तामा देखिएको अविश्वास, उग्र निराशा तथा नकारात्मकताजस्ता समस्यालाई बेलैमा सुधार गर्दै नेपालमै केही गर्न सकिन्छ र गर्नुपर्छ भन्ने भाव जगाउनु छ”, प्रधानमन्त्री प्रचण्डले भने, “गर्न खोजे नेपालमा सम्भव छ भन्ने आशा र विश्वास जगाएर एक सय वर्षमा एकपटक प्राप्त हुने युवा जनशक्तिको बाहुल्यताको लाभ नेपालको विकासमा लगाउनु छ, यसका लागि नवीनता र सकारात्मकता सोच ल्याउन अपरिहार्य भैसकेको छ ।”

जबसम्म व्यक्तिले आफूभित्रका ऊर्जालाई चिनेर व्यवस्थित प्रयोग गर्न जान्दैन तबसम्म उसले खोजेको स्वस्थ शरीर, शान्त मन, ऊर्जाशील र सकारात्मक भाव, आनन्द र चौतर्फी समृद्धि हासिल गर्न नसकिने प्रधानमन्त्री प्रचण्डले उल्लेख गरे।

उनले आध्यात्मिक जागरण र साधनाबिना बाहिरी रूपमा व्यक्तिले जतिसुकै प्रगति गरेपनि भित्रबाट व्यक्ति अशान्त र अतृप्त नै रहने बताए।

“भित्रबाट अशान्त र अतृप्त व्यक्तिबाट आफ्नो हित र समाज एवं राष्ट्रको हित हुने कर्म गर्न सम्भव हुँदैन,” प्रधानमन्त्री प्रचण्डले भने, “त्यसैले आफूभित्रबाटै प्रसन्न, शान्त, सहृदयी, आत्मविश्वासी, सुखी, ज्ञानी, दृढसङ्कल्पित र आनन्दित जनशक्तिको विकास गर्नु आजको प्रमुख आवश्यकता हो ।”

आनन्दित र दृढ विश्वास भएको व्यक्ति रहनका लागि हरेकमा आध्यात्मिक जागरण ल्याउन आवश्यक रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले विज्ञानसम्मत प्रयोगात्मक साधनालाई हरेक व्यक्तिको जीवनशैली बनाउन प्रतिबद्ध भएर लाग्नुपर्नेमा जोड दिए।

“यो शताब्दीमा मात्रै ८० वर्ष लामो राजनीतिक सङ्क्रमण, जनयुद्ध, भूकम्प, नाकाबन्दी, कोभिड–१९ लगायतका दर्जनौं समस्या बेहोरिसक्यौँ”, प्रधानमन्त्री प्रचण्डले भने। आफ्नो नेतृत्वमा राजनीतिक संरचना र दिशा परिवर्तन गर्ने सशस्त्र क्रान्ति पनि सम्पन्न भएको उल्लेख गर्दै उनले त्यही क्रान्तिको फलस्वरुप लोकतान्त्रिक संविधान जारी गर्न सकिएको बताउनुभयो ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार