Nepal Life

अब कर्मचारी पनि स्वास्थ्य बीमामा आबद्ध हुने

Global Ime detail Page
  • BFIS News
  • 2024 Apr Sun 14:05
अब कर्मचारी पनि स्वास्थ्य बीमामा आबद्ध हुने
Sanima Reliance

काठमाडौँ । अबदेखि स्वास्थ्य बीमा कार्यक्रममा ‘सङ्गठित व्यक्ति’ (कर्मचारी) पनि समेटिने भएका छन् । यसअघि सर्वसाधारणलाई प्राथमिकता राखेको स्वास्थ्य बीमा बोर्डले अबदेखि ‘सङ्गठित व्यक्ति’ लाई पनि अनिवार्य रूपमा स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउने भएको हो । 

NIMB

स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. गुणराज लोहनीले तलब खाने जोकोही व्यक्तिलाई सङ्गठित व्यक्तिका रूपमा लिइएको बताए । उनका अनुसार ‘सङ्गठित व्यक्तिमा शिक्षक, निजामती कर्मचारी, संस्थानका कर्मचारी, नेपाल प्रहरी, नेपाली सेना, उद्योग कलकारखानामा काम गर्ने व्यक्ति पर्छन् । डा. लोहनीले कानुनमा सङ्गठित व्यक्तिलाई अनिवार्य स्वास्थ्य बीमा गराउने भन्ने उल्लेख गरिएको भन्दै यसलाई कार्यान्वयनतर्फ लैजान खोजिएको बताए ।

“स्वास्थ्य बीमा बोर्डको नियमावलीमै सङ्गठित व्यक्तिलाई स्वास्थ्य बीमामा समेट्ने उल्लेख छ । अब बीमा बोर्डले त्यसलाई कार्यान्वयनमा लैजान खोजेको छ,” उनले भने । स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले स्वास्थ्य बीमा बोर्डले यसै वर्षदेखि सङ्गठित क्षेत्रका व्यक्तिलई स्वास्थ्य बीमा अनिवार्य गरिने जानकारी दिए । उनले औपचारिक क्षेत्रलाई समेट्ने नीति अनुसार बोर्ड अगाडि बढेको बताए । स्वास्थ्य बीमा ऐन, २०७४ र स्वास्थ्य बीमा नियमावली, २०७५ मा पनि सङ्गठित व्यक्तिलाई अनिवार्य स्वास्थ्य बीमामा लैजानुपर्ने उल्लेख छ । 

विसं. २०७२ मा तीन वटा जिल्ला बागलुङ, इलाम र उदयपुरबाट परीक्षणका रूपमा कार्यक्रम सुरु गरिएको स्वास्थ्य बीमा कार्यक्रम हाल ७७ वटै जिल्लामा विस्तार भइसकेको छ । डा. बसौलाले यही वर्षदेखि ७५३ स्थानीय तहमा पुर्याउन लागिएको जानकारी दिए । 

स्वास्थ्य बीमा ऐन अनुसार औपचारिक क्षेत्रलाई समेट्ने नीति अनुसार यही वर्षदेखि राष्ट्रसेवकले तोकिएबमोजिम योगदान रकम तिरेर अनिवार्य रूपमा स्वास्थ्य बीमामा आबद्ध हुनुपर्ने छ । डा. बसौलाले निजामती कर्मचारी, शिक्षक, सेना, प्रहरी, स्वास्थ्य सेवामा कर्मचारी, संस्थान र उद्योग क्षेत्रका कर्मचारीलाई स्वास्थ्य बीमामा समेट्न लागिएको बताए । 

उनका अनुसार स्वास्थ्य बीमा नियमावली, २०७५ को अनुसूची १ को खण्ड (ख) मा सङ्गठित क्षेत्रका लागि तिर्नुपर्ने योगदान रकमको व्यवस्था गरिएको छ । सो अनुसार कर्मचारीले आफ्नो सुरुको तलब स्केलबाट एक प्रतिशत व्यक्तिगत योगदान गर्ने छन् । सरकार तथा रोजगारदाताले कर्मचारीको नाममा थप एक प्रतिशत तिरिदिनु पर्छ । 

उनका अनुसार माथिल्लो र तल्लो तहका कर्मचारीमा देखिन सक्ने ठुलो अन्तरलाई कम गर्न नियमावलीमा वार्षिक १० हजारभन्दा बढी तिर्नु पर्दैन । सहायक स्तरको कर्मचारीको मासिक पारिश्रमिकबाट कट्टा गर्दा न्यूनतम योगदान रकम वार्षिक तीन हजार पाँच सय रुपियाँ नपुग भएको अवस्थामा निजले पनि न्यूनतम तीन हजार पाँच सय नै तिर्दा हुन्छ । 

हालसम्म स्वास्थ्य बीमा कार्यक्रममा ७७ लाख ७१ हजार ८८३ जना (२६.५४ प्रतिशत) जनता स्वास्थ्य बीमामा आबद्ध छन् । यीमध्ये नवीकरण गर्नेहरू त झन् ६८ प्रतिशत रहेका छन् । बसौलाले स्वास्थ्य बीमामा सहभुक्तानी लागु भएको, अनलाइनबाट आबद्ध हुने व्यवस्था सुरु गर्न लागिएको, सेवा प्रदायक संस्थालाई प्रत्येक दुई महिनामा भुक्तानीको व्यवस्था गरी सुधारका प्रयास पनि थालिएको बताए । 

स्वास्थ्य बीमा बोर्डका सदस्य डा. मुक्तिराम श्रेष्ठले स्वास्थ्य बीमामा देखिएका कमजोरीलाई हटाएर अगाडि बढ्ने अहिलेको चुनौती रहेको बताए । उनले सामाजिक सुरक्षाका कार्यक्रम एकद्वार प्रणालीमार्फत एकसाथ सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको बताए । (गोरखापत्र)

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया