Nepal Life

वर्ष २०८० : शेयर बजारका लागि न हासो न रोदन, बजारले उधारो कुराहरु पत्याएन

Global Ime detail Page
  • अरुण सापकोटा
  • 2024 Apr Wed 16:34
वर्ष २०८० : शेयर बजारका लागि न हासो न रोदन, बजारले उधारो कुराहरु पत्याएन
Sanima Reliance

काठमाडौं । शेयर बजारका लगानीकर्ताले वर्ष २०८० को कारोबारलाई दुखका साथ विदाइ गरेका छन् । वर्षभरीमा समग्र नेप्से सूचक १८१ अंकले सुधार देखिए पनि लगानीकर्ताले अपेक्षा अनुरुप सुधारको महशुस भने गर्न सकेनन् । त्यसैले यस वर्ष आम लगानीकर्ताका लागि न खुसी, न हासो, न रोदन यथास्थितिमै व्यतित भएको बजार विश्लेषक अम्बिका प्रसाद पौडेलको विश्लेषण छ । उनले भने ‘यो वर्ष शेयर बजारमा कुनै पनि सकारात्मक उत्साह रहेन । भनिएका कुराहरु गरिएनन् । बजारले उधारो कुराहरु पोत्याएन ।’

NIMB

वर्षको अन्तिम दिनमा समेत शेयर बजार १० दशमलब ७१ अंकले घटेर २०२५.३० अंकमा बन्द भएको छ । वर्ष २०८० को पूँजी बजारलाई फर्केर हेर्दा त्यति उत्साहजनक नरहेको नेपाल इन्भेष्टर फोरमका अध्यक्ष तुलसीराम ढकालको विश्लेषण छ । उनले थपे ‘पूँजी बजार जुन किसिमले बढ्नु पर्ने थियो त्यो किसिमले बढेन ।’

यस क्रममा प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वमा पटक पटक सत्तासमिकरण परिवर्तन भयो । यसले गर्दा पनि पूँजी बजारमा ठुलो प्रभाव पारेको अध्यक्ष ढकालको तर्क छ । सत्ता समिकरण परिवर्तनकै शिलशिलामा पछिल्लो समय नियुक्त भएका अर्थमन्त्री वर्षमान पुनले सुरुवाति दिनमा ‘केहि गर्न खोज्छु’ जस्तो गरेता पनि उनको पहलले सार्थकता भने पाउन सकेन । यसबाट पनि लगानीकर्ता निरास भएका छन् ।

पूँजी बजार यो अवस्था आउनुमा नितान्त नीतिगत प्रहारको उपज भएको अध्यक्ष ढकालको भनाइ छ । जवसम्म नीतगत सुधार हुदैन तवसम्म लगानीकर्ताको कन्फिडेन्स नबढ्ने उनको दाबी छ । उनले थपे ‘२०८० सालको पूँजी बजारलाई फर्केर हेर्ने हो भने त्यस्तो नयाँ उत्साहजनक केहि पनि भएन । लगानीकर्ताले दुखदायी रुपमै वर्ष २०८० लाई बेहोर्नु परेको उनले बताए ।

त्यस्तै नेपाल पूँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल पनि वर्ष २०८० साल लगानीकर्ताले सोचे अनुरुप नभएको बताउछिन् । शेयर बजार लगातार तीन वर्षदेखि घटिरहेकाले लगानीकर्ताले धेरै गुमाउनु परेको उनको भनाइ छ । बजार घटेकै कारण लगानीकर्ताले आत्महत्या समेत गरेका घटनाले धेरै दुखदायी बनाएको भन्दै उनले दुख व्यक्त गरिन् ।

यो वर्ष आम लगानीकर्ताले सोचे अनुरुप नीतिगत सुधार हुन नसक्दा बजार पेनिक भएको उनको विश्लेषण छ । उनले थपिन् ‘बजारले लगानीकर्तालाई उचित प्रतिफल दिन नसकेका कारण यस वर्ष सोचे अनुरुप राम्रो हुन सकेन ।’ लगानीकर्ताले वर्ष २०८० को उत्तरार्धमा केहि राम्रो होला कि भन्ने अपेक्षा गरेका थिए । अर्थमन्त्री पुनले लगानीकर्ता सँग पूँजी बजार सुधारका लागि सुझावहरु पनि मागे तर उनले लगानीकर्ताको सुझावलाई तत्कालन संबोधन गर्न भने सकेनन् । यसले गर्दा पनि बजारले उधारो कुरा नपोत्याएको लगानीकर्ताहरु बताउछन् ।   

बजार सुधार हुन नसक्नुमा सबैभन्दा ठुलो जिम्मेवार नेपाल राष्ट्र बैंक त्यस पछि अर्थमन्त्रालय र नेपाल धितोपत्र बोर्ड रहेको पोखरेलको विश्लेषण छ । नेपाल धितोपत्र बोर्डले पनि लगानीकर्ताले सोचे भन्दा उल्टो काम गरिदिदा निरास बनाएको अध्यक्ष पोखरेलले बताइन् ।

नेपाल धितोपत्र बोर्डले प्रिमियममा आइपिओ निष्काशनको अनुमति दिएर सबैभन्दा धेरै समस्यामा पारेको लगानीकर्ताहरुको गुनासो छ । शेयर लगानीकर्ता संघका कार्यबाहक अध्यक्ष तारा फुलेका अनुसार पनि वर्ष २०८० मा शेयर बजार अपेक्षित रुपमा बढ्न सकेन । यसले गर्दा लगानीकर्ताले अपेक्षा गरे अनुसार कमाउन नसकेको उनको भनाइ छ ।

उनले भने ‘हाम्रो निकम्बा राजनीति, निकम्बा राजनीतिक नियुक्तिका कारण नियामक निकायमा बस्ने पदाधिकारीहरुले राम्रो भुमिका खेल्न सकेनन् ।’ नीतिगत भ्रष्टाचारले गर्दा शेयर बजारलाई धेरै नै गाजेको उनको आरोप छ । यसका अतिरिक्त धेरै कुराहरु सकारात्मक हुँदा हुँदै पनि नियामकका कतिपय नीतिगत कदमले लगानीकर्ताको कन्फिडेन्स बढ्न नसकेको उनले विश्लेषण छ ।

वर्ष २०८० मा समग्र लगानीकर्ता बेखुसी रहेको हुँदा लगानीकर्ताहरुले सरकार तथा नियामक निकायलाई धन्यवाद दिन सक्ने स्थितिमा छैनन् । यो नियती २०८१ मा नदोहोरियो भन्ने कार्यबाहाक अध्यक्ष फुलेलको उनको अपेक्षा रहेको छ ।

नेपाल शेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डेका अनुसार पनि गएको वर्ष त्यति सन्तोषजनक भएन । बारम्बार सरकार परिवर्तन हुँदा शेयर बजारमा अपेक्षित सुधार हुन नसकेको उनको तर्क छ । माहोल त्यति सकारात्मक नभए पनि वियरिस साइकल पुरा गर्ने चरणमा रहेकाले वर्ष २०८१ सालमा लगानीकर्ताले राम्रो अपेक्षा गरेको उनले बताए ।  

राष्ट्र बैंकले पनि आगामी वर्षमा नीतिगत सुधार गर्ने अपेक्षा गरिएको पाण्डे बताउछन् । सरकारले अन्तर्राष्ट्रिय लगानी सम्मेलन गर्दैछ । लगानी भित्र्याउन पनि नीतिगत सुधारमा नेपाल राष्ट्र बैंक तथा सरकार लचिलो हुने उनको अपेक्षा रहेको छ ।

लगानीकर्ताको अपेक्षा

आगामी वर्षमा बजार सुधार चाहने हो भने सरकार तथा नियामकले बोलेका कुराहरु पुरा गर्नु पर्ने बजार विश्लेषक अम्बिका प्रसाद पौडेलको सुझाव छ । उनले थपे ‘लगानीकर्ताका माग संबोधन गर्नु पर्यो । शेयरधितो कर्जामा लगाउदै आइएको सिमा हटाउनु पर्यो । रिस्क वेटेज हटाउनु पर्यो र बैंक तथा वित्तीय संस्था लगायतका संस्थागत लगानीकर्तालाई कारोबारका लागि खुला गर्नु पर्यो ।’

नेपाल पूँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले आगामी वर्षमा शेयर बजारमा धेरै नीतिगत सुधारको अपेक्षा गरेकी छिन् । साना साना कुराले बजारलाई हस्तक्षेप गर्न नहुने पोखरेलको तर्क छ । नियामक निकायले साना साना कुरामा हस्तक्षेप गर्दा बजारको गतिलाई रोक्ने काम भएको राधाको भनाइ छ ।

उनले थपिन् ‘जिम्मेवार निकायका पदाधिकारीहरु शेयर बजार यति अंकमा रहनु पर्छ, यो भन्दा माथि जानु हुँदैन, बढ्यो भने कसरी घटाउने भनेर लाग्ने प्रवृत्तीले पनि सबैभन्दा धेरै समस्यामा पारेको छ ।’ अवको वर्षमा पूँजी बजारमा राम्रा राम्रा सुधारका काम हुनु पर्ने पोखरेलको सुझाव छ । लगानीकर्ताले पूँजी बजार सुधारका लागि दिएका सुझावहरु कार्यान्वन हुनु पर्ने उनको भनाइ छ । आगामी दिनमा शेयर बजारलाई सुधार गर्ने क्रममा अर्थमन्त्री आउने जाने खवरले प्रभावित नहुने किसिमको हुनु पर्ने उनको सुझाव छ ।

वर्ष २०८१ मा नियामक निकायका पदाधिकारीहरुको सद बुद्धि आउनु पर्ने कार्य बाहक अध्यक्ष फुलेलको भनाइ छ । सरकारका निकायले जसरी नीतिगत रुपमा कडाइ गर्दै आइरहेका छन् आगामी वर्षमा शेयर बजारको वास्तविकतालाई बुझेर मात्रै अगाडी बढ्नु पर्ने उनको सुझाव छ । उनले थपे ‘बुझेर बुझ पचाउनु भएन । ६४/६५ लाखले प्रत्यक्ष सरोकार राख्ने भएकाले यो क्षेत्रलाई राज्यले प्राथमिकताका साथ हेर्नुप पर्छ ।’ उनले थपे, सबैतिरबाट खुम्चाउने हिसावले सरकार अगाडी बढेको छ । अन्तर्राष्ट्रिय मापदण्ड अनुसार कसरी चल्छ भनेर हेर्दै मापदण्ड बढाउनु पर्छ ।

सरकारले शेयर बजारमा एनआरएन भित्र्याउने कुराहरु गरिरहदा उनिहरुलाई पनि बजार प्रति कन्फिडेन्स बढाउने नीति बनाउनु पर्ने उनको सुझाव छ । उनले थपे, यस्तो हिसावले एनआरएनको लगानी भित्रिदैन । पोलिसीको मातहतमा रहेर काम गर्ने बातावरण बताउनु पर्छ । दुई तीन महिनामा नीतिगत परिवर्तन गरिनु हुँदैन ।    

बैंकिङ तरलता अधिक रहेको हुँदा व्याजदर धेरै नै तल झरिसकेको छ । केवल नीतिगत सुधार नभएका कारण लगानीकर्ताको कन्फिडेन्स बढ्न सकेको अध्यक्ष ढकालको भनाइ छ । यसले गर्दा सरकारले आगामी बजेट मार्फत लगानीकर्ताको कन्फिडेन्स बढाउने नीतिगत व्यवस्था गर्नु पर्ने उनको सुझाव छ । उनले भने ‘अर्थमन्त्री ज्यूले नयाँ बजेट ल्याउदै हुनुहुन्छ । २०६८ सालमा अर्थमन्त्री हुँदा पनि उहाँले पूँजी बजारका लागि केहि न केहि गर्नु भएको हो । यस पटक पनि उहाँले आउने वित्तीकै पूँजी बजार सुधार गर्नका लागि के गर्न सकिन्छ भनेर सुझावहरु लिनु भएको छ । अहिले पनि उहाँ अध्ययनकै क्रममा हुनुहुन्छ होला । आगामी बजेट, आगामी मौद्रिक समिक्षा तथा मौद्रिक नीति मार्फत केहि न केहि सुधारका कुराहरु हुनेछन् भन्ने अपेक्षा गर्न सक्छौ ।’

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया