Nepal Life

इजरायल-इरान तनावले अझै बढ्नसक्छ नेपालमा पेट्रोलियम पदार्थको भाउ

Global Ime detail Page
  • BFIS News
  • 2024 Apr Tue 08:41
इजरायल-इरान तनावले अझै बढ्नसक्छ नेपालमा पेट्रोलियम पदार्थको भाउ
Sanima Reliance

काठमाडौं । सोमबार मध्यरातिबाट नेपालमा पेट्रोलियम पदार्थको भाउ बढ्यो। नेपाल आयल निगमले सोमबार एक विज्ञप्ति जारी गर्दै मंगलबार बिहान १ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलमा लिटरमै तीन रूपैयाँ बढायो।

NIMB

भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोक्दै आएको छ। आइओसीले पठाउने मूल्य उसले अन्तर्राष्ट्रिय बजारबाट किन्ने कच्चा तेलको लागतमा आधारित हुन्छ। लागत मूल्यमा आफ्नो प्रशोधन शुल्क लगायत खन्य खर्चहरू जोडेर आइओसीले नेपालको निम्ति बिक्री मूल्य तय गर्छ।

आइओसीले हरेक महिना पन्ध्र-पन्ध्र दिनमा निगमलाई मूल्य पठाउँछ। त्यसपछि निगमले पेट्रोलियम आयात गरेबापत् सरकारलाई तिर्नुपर्ने भन्सार लगायत महसुलहरू, आफ्नो प्रशासनिक खर्च, ढुवानी लागत र डिलर कमिसनसमेत जोडेर उपभोक्ता मूल्य तय गर्छ। यसरी पेट्रोलियमको मूल्य तय हुने सबभन्दा ठूलो आधार भनेकै आइओसीले अन्तर्राष्ट्रिय बजारबाट किन्ने कच्चा तेलको दाम हो।

तर, पश्चिम एसियामा भूराजनीतिक तनाव फेरि उत्कर्षमा पुगेको छ। रुस र युक्रेन तथा गाजा र इजरायलपछि अब इरान र इजरायल पहिलो पटक आमनेसामने भएका छन्। पश्चिम एसियामा युद्धको सम्भावना बढेको छ। यस तनावको प्रभाव विश्वभर देखिन थालेको छ। नेपालसङ्गै दक्षिण एसियाली मुलुकमा पनि यसको संकट अवश्य देखा पर्नेछ। यसको प्रत्यक्ष असर जनताको खल्तीमा पर्नेछ। अर्थात महङ्गी बढ्ने छ।

पछिल्लो समय इरान र इजरायलबीचको द्वन्द्वको खतराले तेलको भाउ बढ्ने आंकलन गरिएको छ। कच्चा तेलको भाउ बढ्ने संकेत पनि देखिएको छ।

हाल ब्रेन्ट कच्चा तेलको मूल्य प्रति ब्यारेल ९०.७७ डलर पुगेको छ। यस्तै अमेरिकी वेस्ट टेक्सस इन्टरमिडिएट कच्चा तेलको मूल्य ६४ सेन्टले बढेर प्रति ब्यारेल ८६.०७ डलर पुगेको छ । कच्चा तेलको भाउ प्रति डलर १०० रुपैयाँ नाघ्ने खतरा बनेको छ।

इरान र इजरायलबीचको बढ्दो तनावलाई कम गर्न नसके कच्चा तेलको मूल्यमा प्रत्यक्ष असर पर्ने निश्चित प्राय: छ। यदि कच्चा तेलको मूल्य बढ्यो भने भारतले पठाउने मूल्यसूची पनि बढेर आउने छ। जसले नेपालमा महङ्गी बढ्ने खतरा रहने छ।

इरानले इजरायलमाथि प्रत्यक्ष हमला गर्नुभन्दा एक दिनअघि ओमानको खाडीको होर्मुज पासबाट गुज्रिरहेको जहाज कब्जा गरेको थियो। विश्वको २० प्रतिशत तेल यही होर्मुज पासबाट आपूर्ति हुन्छ। इरानका सयौं ब्यालेस्टिक र क्रुज मिसाइलहरू यहाँ तैनाथ छन्।

यदि दुई देशबीचको विवाद चर्कियो भने इजरायलले यस क्षेत्रबाट जहाजको आवतजावतमा रोक लगाउनेछ। इरानले स्वेज नहर बन्द गर्ने धम्की पनि दिएको छ । द इकोनोमिक टाइम्सको रिपोर्ट अनुसार हरेक दिन ५.५ मिलियन ब्यारेलभन्दा बढी कच्चा तेल स्वेज नहरबाट आपूर्ति गरिन्छ।

स्वेज नहर र हर्मुज पासमा कुनै पनि अवरोधले तेल आपूर्तिको ठूलो भागलाई असर गर्नेछ। यी सबै अनुमानका बीच तेल बजारमा यसको प्रभाव देखिन थालेको छ । इरान र इजरायलबीच अप्रिल १ बाट तनाव सुरु भएको थियो ।

अमेरिकी थिंक ट्याङ्क ‘सेन्टर फर स्ट्राटेजिक एन्ड इन्टरनेशनल स्टडीज’का अनुसार तनाव कम नभए तेलको मूल्य प्रति ब्यारेल १०० डलरसम्म पुग्न सक्छ। सबै तेल मध्य पूर्वबाट आउँछ। साउदी अरेबिया, कुवेत, ओमान र युएई जस्ता ठूला तेल उत्पादक देशहरू त्यहाँ छन्।

तर वर्तमान अवस्थामा इरान पूर्ण स्तरको युद्ध लड्ने मनस्थितिमा भने छैन। यता इजरायलले गाजामा युद्ध लडिरहेको छ। यस्तो अवस्थामा दुवै देशले आपसमा लामो युद्ध लड्ने अनुमान छैन। त्यसैले तेलको मूल्यमा थोरै बृद्धि भएपनि धेरै बढ्ने सम्भावना भने अहिलेलाई छैन।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार